प्रदेश | समाज |

खलंगाको घर–घरमा खानेपानी जडानको काम हुँदै

लोकेन्द्र जोशी
दार्चुला, असोज २१ गते । दार्चुला सदरमुकाम खलंगामा खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ । महाकाली नगरपालिका–४ र ५ का प्रत्येक घरधुरीमा खानेपानीको सुविधा पु¥याउनेगरी पाइपलाइन जडानको काम भइरहेको हो । आयोजना अन्तर्गत खलंगामा दुई हजार २८६ खानेपानीका धारा निर्माण हुने बताइएको छ ।

एसियाली विकास बैंकको अनुदान र नगर विकास कोषको ऋण लगानीमा खलंगा खानेपानी तथा सरसफाई आयोजना निर्माणको काम भइरहेको महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले जानकारी दिनुभयो ।

आयोजना अन्तर्गत गल्फै, बीच बजार र बंगाबगड क्षेत्रमा पाइपलाइन जडानको काम भइरहेको छ । एक वर्षभित्रै खलंगाका बासिन्दालाई स्वच्छ खानेपानीको पहुँच पु¥याउने उद्देश्यले पाइप लाइन विस्तारको काम तीव्र गतिमा भइरहेको आयोजना निर्माणमा प्राविधिक सहयोग गरिरहेको इ–टेक नेपालका कन्सट्रक्सन सुपरिभिजनल इन्जिनियर कुबेरबहादुर सिंहले जानकारी दिनुभयो ।

२९ करोड रुपियाँ लागतमा सम्पन्न हुने आयोजना निर्माणका लागि एसियाली विकास बैंकले कुल लागतको ७० प्रतिशत, २५ प्रतिशत नगर विकास कोषको ऋण लगानी र पाँच प्रतिशत स्थानीय जनश्रमदान रहेको छ ।

धौलीगाड मुहान रहेको गल्फै क्षेत्रमा अहिले मुहान इन्टेक, कलेक्सन च्याम्बर, पानी संकलन ट्याङ्की र पालेघर भवन निर्माणाधीन अवस्थामा छ । गाराकु मुहान रहेको खलंगा बीच बजार क्षेत्रमा इन्टेक, कलेक्सन च्याम्बर र पानी थिग्र्याउने ट्याङ्की निर्माणाधीन अवस्थामा छ । यस्तै बंगाबगड क्षेत्रमा धारा जडान र ट्याङ्की मर्मतको कार्य छिट्टै सञ्चालन गर्ने योजना रहेको इन्जिनियर सिंहले बताउनुभयो ।

खानेपानीका संरचनासँगै महाकाली– ५ भौराबगडमा सार्वजनिक शौचालय र आयोजना समितिको कार्यालय समेत निर्माणाधीन अवस्थामा छ । आयोजना निर्माणको जिम्मा आसिस क्याब र ग्वाल्लेक निर्माण सेवा जेभीले पाएको छ । खानेपानीको चरम अभाव झेलिरहेको खलंगामा आयोजना लागु भएपछि स्थानीय खुसी भएका छन् ।