प्रदेश |

बजेट अभावमा एकीकृत नमूना बस्ती निर्माण काम सुस्त

केदार तिमल्सिना
बनेपा, असोज ३० गते । भुकम्पपछिको पुनर्निर्माण अन्तर्गत काभ्रेको दुई स्थानमा ‘एकीकृत नमूना बस्ती’ बनाउने कामको थालनी गरिए पनि काम सुस्त देखिएको छ । भुकम्पपछिको पुनर्निर्माण अन्तर्गत जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनी तीनधारा र चौरीदेउराली गाउँपालिका–२ नाग्रेगगर्चेमा एकीकृत नमूना बस्ती निर्माणको काम सुरु गरिएको थियो ।

मण्डदनेउपुर नगरपालिका–१० चण्डेनी तीनधारामा निर्माणाधिन नमुना तामाङ बस्ती अन्तर्गत हालसम्म १३ वटा घर पूर्णरुपमा निर्माण कार्य सम्पन्न भएको छ । पाँच वटा घरको फिसिनसिङको काम बाँकी रहेको एकीकृत नमूना तामाङ बस्ती निर्माण समितिका सल्लाहकार रामबहादुर तामाङले बताउनुभयो ।

गत वर्षदेखि नमूना बस्ती निर्माणको काम सुरु गरिए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट बजेट निकाशामा ढिलाइ, कोरोना सङ्क्रमणका कारण बस्ती निर्माणको काममा ढिलाई भएको उहाँले बताउनुभयो । एक वर्षसम्म रकम प्राप्त नहुँदा विभिन्न सहकारी संस्था तथा व्यक्तिबाट ऋण लिएर बस्ती निर्माण गर्नुपर्ने अवस्थाका कारण समस्या भएको उहाँको भनाई छ ।

तामाङले एकीकृत नमूना तामाङ बस्तीमा ३० वटा घर निर्माण हुने बताउनुभयो । उहाँले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट प्राप्त रकमबाट सांस्कृतिक भवन र सामुदायिक भवन निर्माण, पर्खाल, नाली बनाउने र सडक बनाउने काम सम्पन्न भएको बताउनुभयो । बाँकी रहेका घर निर्माणका लागि प्राधिकरणबाट रकम निकाशा नभएकोले निर्माणको काम दशैँपछि सुरु हुने बताउनुभयो ।

एकीकृत बस्ती निर्माणको लागि प्राधिकरणले उलब्ध गराउने रकममा ३० लाख रुपियाँ नपुग्ने भएकाले लक्ष्यअनुरुप काम हुन नसकेको उहाँले बताउनुभयो । बस्ती निर्माणका लागि नपुग्ने रकम मण्डनदेउपुर नगरपालिकाले उपलब्ध गराउने प्रतिवद्धता जनाएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी जिल्लाको चौरीदेउराली गाउँपालिका– २ नाग्रेगगर्चेमा शिलान्यास गरिएको ‘तामाखानी एकीकृत नमूना बस्ती’ निर्माणको काम पनि सुचारु हुन सकेको छैन । गत पुस ४ गते तत्कालिन शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शिलान्यास गर्नुभएको उक्त बस्ती निर्माणको लागि समयमा नै रकम निकाशा नहुँदा बस्ती निर्माणमा ढिलाई भएको वडा अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट बस्ती निर्माणका लागि विनियोजन गर्नुपर्ने ८४ लाख रुपियाँ रकम जेठ महिनामा निकाशा नहुँदा लक्ष्यअनुरुप काम हुन नसकेको बताउनुभयो । उहाँले बस्ती निर्माणका लागि आएको रकममध्ये २९ लाख रुपियाँ मात्रै रकम खर्च भएको बताउनुभयो ।

वडा अध्यक्ष लामाले बस्ती निर्माणका लागि आएको रकममध्येबाट हालसम्म बस्ती निर्माणको लागि जग्गा सम्याउने काम मात्रै भएको बताउनुभयो । उक्त बस्तीमा नेवार र तामाङ दुई समुदायको बसोबास रहने भएकोले दुवै समुदायको संस्कृति झल्कने बस्ती निर्माण हुने उहाँको भनाई छ ।

बस्ती निर्माणका लागि सिआरएस नेपाल र शान्ति जन आर्दश सेवा समाज काभ्रेसँग सम्झौता भएको उहाँले बताउनुभयो । एउटा घर निर्माणका लागि उक्त संस्थाले ६ लाख रुपियाँ उपलब्ध गराउने सहमति भएको बताउनुभयो । ६ लाख रुपियाँले घर निर्माण नहुने भएकोले बस्ती निर्माणको लागि आवश्यक पर्ने अन्य रकम सहयोगी संस्थाको खोजी भइरहेको वडा अध्यक्ष लामाले बताउनुभयो । तामाखानी एकीकृत नमूना बस्तीमा २२ वटा घर निर्माण हुनेछ ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) काभ्रेका प्रमुख ई. सन्तोष निरौलाले जिल्लामा निर्माणाधिन दुई नमूना बस्तीका लागि चालु आर्थिक वर्षमा कुनै रकम निकाशा नभएकाले बस्ती निर्माणमा समस्या भएको जानकारी दिनुभयो । आवश्यक पर्ने बजेट निकाशाको लागि माथिल्लो निकायमा पहल गरिएको उहाँको भनाई छ । बस्तीका साथै नीजि आवासको लागि आवश्यक पर्ने रकम समेत माग गरिएको बताउनुभयो ।