प्रदेश |

प्रदेश १ का मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

गोकुल पराजुली
विराटनगर, कात्तिक ५ गते । प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले आइतबार विश्वासको मत लिने हुनु भएको छ । कार्यव्यवस्था समितिको बैठकमा सो सहमति भएको हो । साथै मुख्यमन्त्री भीमप्रसाद आचार्यले संसद सचिवालयमा दर्ता गराउनुभएको विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभामा आजै टेबुल गर्ने सहमति भएको छ ।
सरकारको नेतृत्व गरेको दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले असोज २५ गने प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको थियो । तर, सूचना टाँस गरेर संसद बैठक कात्तिक ५ गतेसम्मका लागि स्थगित भएकोले त्यस प्रस्ताव आजको बैठकमा पेश हुने सम्भावना छ । प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
सरकार गठन हुँदै स्पष्ट अल्पमतमा रहेको र अहिले पनि ९२ सदस्य कायम रहेको प्रदेशसभामा सरकारको पक्षमा सभामुखबाहेक ४० जनाको मात्र समर्थन देखिएको छ । विपक्ष गठबन्धनमा स्पष्ट बहुमत देखापरेपछि सरकारले विभिन्न बहानामा विश्वासको मत लिने समय घर्किदै आएको छ ।
सरकारले आजै विश्वासको मत लिने अनुमान गरिएको भए पनि सभामुखले केही विपक्षी दलका नेताहरुलाई आज प्रस्ताव पेश गरेर आइतबार मतदान गराउने प्रस्ताव गर्नुभएको छ । ‘सभामुखले आइतबार मतदान गर्ने प्रस्ताव गरिरहनुभएको छ तर, हामीले आजै मतदान गर्नुपर्छ भनेका छौं,’ विपक्षी गठबन्धनका एकजना नेताले भन्नुभयो । सभामुख भण्डारीले भने कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मतसम्बन्धी प्रस्तावको प्रकृया तय गर्ने बताउनुभएको छ ।
संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने र उपधारा ३ मा तत्काल कायम रहेको संसद्को बहुमतबाट पारित नभए मुख्यमन्त्री पदमुक्त हुने उल्लेख छ ।