प्रदेश | खुला |

पुनर्जीवन पाउँदै छ प्याङले

दीपक श्रेष्ठ

प्याङगाउँ (ललितपुर), कात्तिक १८ गते । ‘प्याङ’ अर्थात् वस्तु मापनको (मानापाथी) परम्परागत एकाइ । परम्परागत हस्तकलाको सीप, ज्ञान र प्रविधि मिश्रित ‘प्याङ’ त अब कथा भइसकेको छ । यद्यपि, प्याङगाउँको परिचय नै धान्दै आएको ‘प्याङ’लाई पुनर्जीवन दिने प्रयास थालिएको छ ।

काठमाडौँ विश्वविद्यालयबाट ग्राफिक कम्युनिकेसनको अध्ययन पूरा गरेका एलिना मानन्धर र अमन शाहीले प्याङ कलालाई पुनर्जीवन दिने प्रयास थाल्नुभएको छ । परम्परागत हस्तकला सीप, ज्ञान र प्रविधिलाई समयानुकूल परिमार्जन, परिष्कृत गर्दै बजारीकरण गर्ने उद्देश्यसाथ प्याङगाउँका युवा पुस्तालाई प्याङ बनाउने तालिम दिइएको थियो । सोही क्रममा तयार पारिएका प्याङका विविध डिजाइनको प्रदर्शनी शनिबारबाट प्याङगाउँमा सुरु गरिएको छ ।
प्रदर्शनीमा बाँसबाट प्याङ बनाउँदासम्मका प्रक्रिया र कच्चा पदार्थ तयारीका गतिविधिलाई तस्बिर र स्केचलाई समेत राखिएको छ । प्याङ कलालाई बुकमार्क, स्टिकर, पोस्टकार्ड, बुकलेट, फोटोबुकमा समेटिएको छ । धार्मिक तथा साँस्कृतिक कार्यका साथै सामाजिक प्रचलनमा प्याङको के–कस्तो प्रयोग हुने गरेका थिए भन्ने ऐतिहासिक एवं साँस्कृतिक पक्षलाई समेत प्रदर्शनीमा प्रस्तुत गरिएको छ ।

प्रशिक्षक एलिना मानन्धरले प्याङको खास प्रचलन मानापाथीका रूपमा रहे पनि अहिलेको समयमा प्याङको प्रयोग अन्य के–केमा गर्न सकिन्छ भन्ने नै मूल रूपमा आफ्नो खोज र डिजाइन केन्द्रित रहेको बताउनुहुन्छ ।
प्याङ बनाउने कच्चा पदार्थचाहिँ तामे वा भालुबाँस हो । कलिलो बाँसलाई एक–एक तला (एक आँखाबाट अर्को आँखासम्मको भाग) काटेर टुक्रा पारिन्छ । टुक्रा पारिएको बाँसको बाहिरी भाग (बोक्रा) ताछेपछि बाँकी रहेको भित्रीभाग (गुदी)लाई तातोपानीमा उमालेर बिस्तारै फुकाउने प्रयास गरिन्छ । आगोमा तताउँदै चिम्टाको (बाँसबाटै बनाइएको) सहायतालाई फुकाउँदै लगिन्छ । यसरी तयार भएको कच्चा पदार्थलाई ‘हापा’ भनिन्छ । ‘हापा’बाट विभिन्न आकारका ‘प्याङ’ बनाइन्छ । प्याङगाउँको भाषा, संस्कृतिका अध्येता स्थानीय माइला महर्जनका अनुसार, उपत्यकामा प्याङको धार्मिक र साँस्कृतिक सम्बन्ध पनि छ । प्याङलाई चोखो मानिन्छ । पूजासामग्री, मठमन्दिरका गरगहना राख्न प्याङ खोजिन्थ्यो । जन्मसंस्कार, विवाह, व्रतबन्धलगायत शुभकार्यका लागि चोखो वस्तुका रूपमा प्याङ खोज्न अहिले पनि सहरबाट मानिस आउने गरेको अनुभव अध्येता महर्जनको छ ।

काठमाडौँबाट १४ किलोमिटर दक्षिणतिर पर्छ– प्याङगाउँ । बाल्यकालदेखि नै प्याङ बनाउँदै आउनुभएका मानबहादुर महर्जनसँग प्याङका अनेकन कथा छन् । मकवानपुरका चुरे पहाडसम्म पुगेर हापा बनाएर ल्याएका रमाइला कथा छन् । ८० वर्षीय महर्जनले भन्नुभयो, “बाजेको पछि लागेर गइन्थ्यो । सातुसामल बोकेर जङ्गलमा महिना दिनसम्म बसेर हापा बनाएर आउँथ्यौँ ।”
अहिले बाँस पाइँदैन । प्याङ बनाएर निर्वाह पनि हँुदैन । बजार पनि छैन । प्लास्टिकका भाँडाले बजार भरिएको छ । प्याङको बहुउपयोगका विषयमा बजारमा प्रवद्र्धन गर्न सके प्याङको पुनर्जागरण सम्भव छ ।
कुनै समय थियो, प्याङगाउँका मानबहादुर प्याङका धोक्रा लिएर काठमाडौँवरपरका गाउँ घुम्नुहुन्थ्यो । प्याङसँग अन्न साटेर धान, मकैको भारी घर भित्र्याउनुहुन्थ्यो । प्याङ प्रदर्शनीमा भेटिनुभएका मानबहादुरले बितेका दिन सम्झँदै भन्नुभयो, “ती दिन त कथा भए । नानीदेखि लागेको प्याङ बनाउने बानी गएन । यसो कहिलेकाहीँ प्याङ बनाउँछु । गाउँ घुम्न आउनेले खोजे पनि दुई/चार सयमा बेच्छु ।”
व्यवसाय होइन, बसिबियाँलोका रूपमा प्याङ बनाउँदै आउनुभएका मानबहादुरको मनमा आशा जागेको छ । प्याङले बजार पाए पुनः बनाउन उहाँ तयार हुनुहुन्छ ।