दैलेखको राकम कर्णाली सहर निर्माण कछुवा गतिमा
कमल शर्मा
दैलेख मङ्सिर ६ गते । सरकारद्वारा घोषणा गरिएका १० वटा सहरमध्ये दैलेखको पश्चिममा पर्ने आठबिस नगरपालिमा पर्ने राकम कर्णाली नयाँ सहर आयोजनाले घोषणा भएको ११ बर्ष पुग्नै लाग्दा समेत निर्माण कार्यले गति लिन सकेको छैन ।
तत्कालीन सरकारले मध्यपहाडी पुप्ष्लाल लोकमार्गसँग जोडिएका सुरूमा १० वटा र पछि थप दुइ गरी १२ वटा बजारलाई नयाँ सहर निर्माण गर्ने घोषणा गरेको थियो । बिगत दुई वर्षदेखि ल्याण्डपुलिङ बिधिमार्फत काम अगाडि बढाउने तयारी गरिए पनि त्यो कामले पूर्णता अझै पाउन सकेको छैन । ल्याण्डपुलिङ गर्न स्थानीयले विरोध गरेपछि केही वर्षदेखि आयोजनाले गति लिन सकेको थिएन ।
नयाँ सहर आयोजना राकम कर्णालीका आयोजनाका प्रमुख इन्जिनिएर सुशील रसाइलीले ल्याण्डपुलिङको कुरा मिलेपछि कामको जिम्मा लिएका विभिन्न कन्सलटेन्सीहरुले सम्पन्न प्रतिबेदन बुझाइसकिएको बताउनुभयो । उहाँले ल्याण्डपुलिङ का काम सकिए पनि फिल्डमा गएर जग्गाको कित्ताकाटको काम नभएको बताउनुभयो । उहाँले भन्नुभयो फिल्डमा गएर कित्ताकाट गर्नका लागि दुल्लुमा रहेको मालपोत कार्यालयसँग समन्वय गरिरहेका छौ ।
आयोजनाका अनुसार स्थानीयको जग्गामा विभिन्न पूर्वाधारहरु निर्माण गर्ने र सडक कालोपत्रे, अस्पताल निर्माण गर्ने भनिए पनि अहिलेसम्म सडक निर्माणको ग्राभेलको काम, सामुदायिक भवन, सामुदायिक प्रतीक्षालय , दुई वर्षको अवधिमा दुई ७० सौर्य उजा जडानको काम सम्पन्न भएर स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारीमा रहेको जनाएको छ ।
आयोजना प्रमुख रशाइलीले यो वर्ष राकमकर्णालीको शून्य बिन्दुबाट नगरपालिकाको भवन सम्म पुग्नका लागि सडक कालोपत्रे गर्न टेन्डर गर्न लागिएको बताउनुभयो । त्यो बाहेक कार्यालयको दोस्रो तला ढलानको टेन्डर लगायतका अन्य कामहरु हुने बताउनुभयो ।
आठबिस नगरपालिका–४का वडा अध्यक्ष रणबहादुर माझीले दुई वर्ष अघि पूर्वाधार निर्माण गर्ने र पूर्वाधारमा लागेको जग्गा बाहेक अन्य लागत कटौती गरेर स्थानीयलाई नै फिर्ता गर्ने कुरामा सबैको सहमति भएपछि काम सुरु गरिएको भए पनि आयोजनाले आफ्नै विविध कारण देखाउने गरेको बताउनुभयो । उहाँले कर्मचारी अभावका कारण पनि कामले गति लिन नसकेको उहाँको आरोप छ ।
स्थानीय अर्जुन शाहीका अनुसार आयोजनाले कहिले मुअब्जा विवाद कहिले केही बहाना बनाएर यो क्षेत्रको विकासमा बाधक भएको उहाँले आरोप लगाउनुभयो । नयाँ सहर घोषणा भएको ११ वर्ष पुग्नै लाग्दा समेत देखिने कुनै पनि संरचना निर्माण नहुँदा जनतामा निराशा छाएको बताउनुभयो ।
आठबिस नगरपालिका दैलेखका प्रमुख खड्कराज उपाध्ययाले शहरी बिकासका लागि १ सय ३७ रोपनी जग्गा सरकारले उचित मुअब्जा दिएर छिटो भन्दा छिटो टुग्याएर नयाँ सहरको काम सुरु गर्न आयोजना प्रमुखसँग समन्वय गरिरहेको बताउनुभयो ।
जग्गा अधिग्रहण शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतको प्रतिवेदनका आधारमा जग्गा प्राप्ती ऐन विपरीत मुअाब्जा वितरण गरेको भन्दै स्थानीयले लामो समयदेखि विरोध गरे पनि अब त्यो अवस्था नरहेको भन्दै आयोजनाले तीव्र गतिका साथ काम अगाडि बढाउनका लागि आफूले सहयोग गर्ने बताउनुभयो ।