प्रदेश |

गोठ भत्कियो, तर छाउप्रथा कायमै

शेरबहादुर सार्की
बाजुरा, मंसिर २० गते । २०७६ पुस २४ गते बाजुराको बूढीनन्दा नगरपालिका –९ पाण्डुसैनको अगाउँपानीस्थित छाउगोठमा आगलागी हुँदा आमा र दुई छोरासहित ३ जनाको ज्यान गयो । महिनावारी भएकाबेला छाउगोठमा बालेको आगोले सुतिरहेको बेलामा कपडामा आगो सल्किँदा बुढीनन्दा नगरपालिका –९ का ३५ वर्षीया आमा अम्बा बोहोरा र उनका १२ वर्षीय छोरा सुरेश र अर्को ९ वर्षीय छोरा रमित बोहोराको छाउगोठमै ज्यान गयो ।

यो घटना बाजुरामा मात्र नभई देशभर हल्ला भयो । घट्नापछि छाउगोठ भत्काउन गृह मन्त्रालयले बाजुराका प्रमुख जिल्ला अधिकारीलाई समेत छाउप्रथा अन्त्य गर्न निर्देशन दिएको थियो । गृहमन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय बाजुराले नौवटै स्थानीय तहमा छाउगोठ भत्काउने उद्देश्यसाथ जिल्लाभरका गोठको तथ्याङ्क सङ्कलन कार्य सुरु गरियो । जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको तथ्याङ्कअनुसार भेटिएका ५११ वटै छाउगोठ भत्काइए ।

महिलाले महिनावारी भएका समयमा बस्ने ५११ गोठ सबै भत्काउने निर्णय भएपछि जिल्ला प्रहरी र स्थानीयको सहकार्यमा ती सबै गोठ भत्काइए । गोठ भत्किइए तर धामीझाँक्रीका डरले महिनाबारी भएकाबेला महिलाले घरमा बस्न नमानेपछि छाउप्रथा भने कायम रहयो ।

महिनावारी भएका बेलामा छाउगोठमा सुत्नु हुन्न भनेर उनीहरु बस्ने छाउगोठ समेत भत्काइए पनि देउता रिसाउँने हुनकी भन्ने मनको डरका कारण घरमा बस्न महिलाहरुले नमानेपछि अहिले अधिकाशं स्थानीय तहमा महिलाहरु पाँच दिन सम्म फेरि बाहिर त्रिपाल बास बस्न बाध्य भए ।

अभियान सुरु गरेको केही दिन प्रशसनको निरगारीमा भएका गोठ त भत्किए तर बुझेर पनि बुझ पचाउँदै आएकाहरुको सोच नभत्किएपछि अहिले सम्म गाउँमा यो प्रथा कायमै रहेको हो ।

गोठ भत्काउनु पर्छ भन्दै जिल्ला प्रशासन कार्यालय बाजुराको संयोजकत्वमा प्रहरी, राजनीतिकदल, सरोकारवाला निकायहरुको सक्रियतामा महिनावारी भएको समयमा बस्ने सबै छाउगोठ भत्काइएको थियो । अहिले बाजुराको बूढीगङ्गा, त्रिवेणी, छेडेदह गाउँपालिकाको काँडा जयबागेश्वरी लयागतका ठाउँमा धमाधम छाउगोठ पुनः निर्माण सुरु भएका छन् ।

छाउपडी घरमा राख्दा गाईभैँसी नब्याउने र बिरामी हुनेगरेको भन्दै फेरि धामीझाँक्र्रीबाट यो प्रथा कायम हुँदैआएको छ । बूढीगङ्गा नगरपालिका १ कुँडीका रमिता परिले भन्नुभयो, “जब अभियान चलेको थियो । त्यो डरले आफुलाई घरमा बसाल्ने काम भयो, अभियान सूस्त भएपछि फेरि छाउगोठमै सुत्न लगाए ।”

उहाँले भन्नुभयो, “महिनावारी भएकाबेला घरमा सुतेपछि गाई बिरामी भयो भनेर हरेक दिन रिसाउन थालेपछि डरले फेरि छाउगोठमा सुत्न थालेँ ।” छाउगोठ भत्काउने अभियान सुरु भएपछि महिनावारी भएकाबेला अधिकांश महिला आफ्नै घरको कोठामा सुत्न थालेका थिए ।

धामीझाँक्रीले घरमा अनिष्ट भएको भन्दै रिसाउन थालेपछि अहिले अधिकांश महिला घरभन्दा बाहिर त्रिपाल हालेर सुत्न थालेको बूढीगङ्गा नगरपालिका –८ का स्थानीय मीना बुढाले बताउनुभयो ।

२०७५–७६ सालमा १६८ र २०७६–७७ सालमा ३४३ गरी जम्मा ५११ वटा छाउगोठ भत्काएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराको निर्देशनमा प्रहरी, स्थानीय र जनप्रतीनीधिलाई छाउगोठ तथ्याङ्क सङ्कलन गर्न आग्रह गरेपछि बाजुरामा ५११ छाउगोठ भेटिएका थिए ।

धामीझाँक्री र पुजारीले महिलालाई घरमा त के घर नजिक आउन पनि नदिएको स्थानीयको गुनासो छ । महिनावारी भएकाबेला घरमा सुतेपछि देवता रिसाउँछ भन्दै धामीझाँक्रीले डर देखाउन थालेपछि त्रिपाल हालेर आफु बाहिर सुत्न थालेको बूढीगङ्गा नगरपालिका –८ का पार्वती नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “छाउगोठ भत्काउने अभियान सुरु गरेकाबेला आफुलाई घरमा बसाइयो । अभियान सकिएपछि फेरि छाउगोठमै सुत्नुपर्छ भनेपछि ५ दिनसम्म त्रिपाल हालेर बाहिर बसें ।” महिनावारी भएकाबेला घरमा गाईभैसी बिरामी भएभन्दै घरका रिसाउन थालेपछि आफु छाउगोठमै सुत्नु बाध्य भएको खप्तड छेडेदह गाउँपालिका १ काँडाकी पर्मिता रोकायाले बताउनुभयो ।

बाजुराको बूढीगङ्गा नगरपालिकाका तीमाडा, जुवापानी, सेलापाखा, पाल्वाडा, बदेडा, भण्डारगाउँ, सिगाडा, नुवाकोट र झालीलगायतका ठाउँका महिला महिनावारी भएकाबेला दही, महीजस्ता पौष्टीक खानेकुरा अँझै खान पाएका छैनन् ।
बूढीगङ्गा नगरपालिका अधिकांश वडामा प्रहरी स्थानीय र जनप्रतीनीधिको रोहवरमा झण्डै ५७ वटा छाउगोठ भत्काए पनि फेरि ती सबै गोठ पुनरनिर्माण गरिदै आएका छन् ।

स्थानीय सरकारले त्यहाँका स्थानीयलाई छाउगोठ नभत्काए महिनावारी भएकाबेला छाउगोठमै सुत्नेगरेको पाइएमा सरकारी सेवा सुविधा रोक्का गर्ने भनिएको भएपनि अहिलेसम्म लागु भएको छैन् । जिल्लाका अन्य स्थानीय तहका महिलाले सरकारको नीतिनियम पालना गर्दैआएको भएपनि धामीझाँक्रीको पकेट क्षेत्रका महिला भने अझै छाउगोठमा सुत्नेगरेका छन् ।

पछिल्लो समय गाउँमा धामी झाँक्रीको बढ्दो दवदवाले छाउगोठ पुरानै अवस्थामा फर्किने देखिएको छ । घरमा गाईभँैसी बिरामी भएपनि अहिले धामीझाँक्रीले महिलालाई नै दोष दिन थालेका छन् । महिनावारी भएकोबेला महिला घरमै बस्न थालेपछि अनिष्ट भएर गाईभैसी पनि बिरामी हुन थालेको धामीझाँक्रीको भनाई छ ।

जातीय विभेद तथा छाउप्रथा कायम राख्ने मुख्य कारण धामीझाँक्री रहेको स्थानीय दलबहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “म अहिले ७० वर्षको भएँ, देवता पुज्नेबेलामा बाजा बजाउन धेरै ठाउँमा बोलाउँछन् । तर पनि मन्दिरभित्र कहिल्यै पुजा गर्न दिदैनन् ।” दलित तथा महिनावारी भएका महिला मन्दिरभित्र पस्यो भने देउता रिसाउँछ अनिष्ट हुन्छ भन्छन् । ”

छाउगोठमा सुतेको जानकारी आएमा र सुत्न लगाएको सूचना पाएमा कानुनी कारवाही गरिने बूढीगङ्गा नगरपालिका – ८ का सदस्य सुरेन्द्र थापाले बताउनुभयो । छाउपडी प्रथालाई पहिलो पटक मुलुकी अपराध सहिंता विधयेक २०७४ मा पनि फौजदारी अपराध भनेको छ । छाउप्रथाका कारण कयौं महिला बलात्कारको शिकार हुनुपरेको छ । अधिकांश महिला दम रोगबाट ग्रसित रहेको स्थानीयको भनाई छ ।