विद्युतीय राहदानी जारी गर्न सुरू
मकवानपुर समाचारदाता
हेटौँडा, पुस ६ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट विद्युतीय राहदानी जारी गर्न प्रक्रिया सुरु गरिएको छ । विद्युतीय राहदानी जारी गर्न जिल्ला प्रशासन कार्यालयमा आवश्यक पूर्वाधार जडानपश्चात् सोमबारबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने कार्य प्रारम्भ भएको हो ।
उपत्यकापछि मकवानपुर, उदयपुरलगायतका केही जिल्लामा विद्युतीय राहदानी जारी गर्ने प्रक्रिया सुरु भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आइतबारबाट विद्युतीय राहादानीका लागि मकवानपुर जिल्ला छनोट गरी मिति र समय तय गरेका सेवाग्राहीको प्रत्यक्ष दर्ता लिने कार्य सुरु गरिएको जानकारी दिनुभयो । उहाँले अहिले दैनिक १५ जनाको कोटा तोकी प्रत्यक्ष दर्ता गर्ने कार्य प्रारम्भ गरिएकोमा कार्यालयको क्षमताअनुसार र मागअनुसार क्रमशः विद्युतीय राहदानीका लागि कोटा वृद्धि गरिँदै लगिने बताउनुभयो ।
मकवानपुर प्रशासन कार्यालयमा विगतमा दैनिक ४५ देखि ५० जनासम्म राहदानीका लागि दर्ता गराउन आउने गरेको बताउँदै उहाँले भन्नुभयो, विद्युतीय राहदानीका लागि बाहिर फोटो खिचाउनु पर्दैन, जिल्ला प्रशासन कार्यालयमा नै फोटो खिच्ने र औँठा छाप लिने व्यवस्था छ, आफूले अनलाइन भरेको फारामसहित कार्यालयमा आउनुपर्नेछ ।
उहाँले भन्नुभयो, विद्युतीय राहदानीका लागि अनलाइनबाट मिति र समय बुकसँगै राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य छ, पहिले बुक गर्नेको पालो छिटो आउँछ । विद्युतीय राहदानी प्राप्त गर्न पासपोर्ट विभागको वेबसाइटमा गएर अनलाइनमा आवेदन फाराममा राहदानीको प्रकार, राष्ट्रिय परिचयपत्रको नम्बर र आफ्नो व्यक्तिगत विवरण भरेर फाराम बुझाउने स्थान र मिति छनोटसहित तोकिएका कागजात स्क्यान गरी अपलोड गर्नुपर्ने हुन्छ ।
आफूले भरेको फाराम प्रिन्ट गरेर बुक भएको मिति र समयमा सक्कल कागजातसहित प्रत्यक्ष दर्ताका लागि जिल्ला प्रशासन कार्यालय वा आफूले छनोट गरेको कार्यालयमा गएपछि विद्युतीय राहदानीका लागि आवश्यक प्रक्रिया सुरु गर्न सकिने प्रजिअ पाण्डेले बताउनुभयो । उहाँका अनुसार विद्युतीय राहदानीका लागि जिल्ला प्रशासन कार्यालयमा गएर प्रत्यक्ष दर्ता गरेको एक सातादेखि १५ दिनभित्रमा विद्युतीय राहदानी सेवाग्राहीको हातमा पर्नेछ । काठमाडौँस्थित राहदानी विभागबाट गत मङ्सिर १ गतेदेखि विद्युतीय राहदानी जारी गर्ने कार्य सुरु गरिएको थियो ।