विश्वमै दुर्लभ चरा ‘हङरायो’ इलाममा भेटियाे
पशुपतिनगर (इलाम), पुस ७ गते । विश्वमै दुर्लभ अवस्थामा रहेको चरा ‘हङरायो’ इलाममा भेटिएको छ । झापाका चरा खोजकर्ता देवेन खरेलले इलामको सूर्योदय नगरपालिका वडा नम्बर १ मा उक्त चरा फेला पार्नुभएको हो । खरेलले एक जोडी भाले ‘हङरायो’ फेला पार्नुभएको छ ।
धनेश समूहभित्र पर्ने हङरायो सुन्दर पंक्षी रहेको खरेलले जानकारी दिनुभयो । नेपालीमा हङरायो नामले चिनिने उक्त पंक्षीको अँग्रेजी नाम ‘रुफस नेक्ड हर्नबिल’ हो भने वैज्ञानिक नाम 'एसाेराेस निपालेन्सिस' हाे । चराविज्ञका अनुसार नेपालमा डेढ सय वर्षयता उक्त चरा देखिएको थिएन ।
पहिले यसको अस्तित्व हुँदा पनि फोटोग्राफी प्रमाण थिएन । डेढ सय वर्षयताकै यो पहिलो रेकर्ड रहेको खरेलले दावी गर्नुभएको छ । पहिले उक्त चरा नेपालमा भए पनि प्रविधिको पहुँच नपुग्दा क्यामेरामा कैद हुन नसकेको जनाइएको छ ।
इलामको सूर्योदय नगरपालिका १ को सिमधाम भन्ने ठाउँको एक सय मिटरमा यो चरा भेटिएपछि उक्त क्षेत्रमा अन्य प्रजातिका चरा पनि फेला पार्न सकिने अनुमान गरिएको छ । हर्कटे कन्यामलगायतका क्षेत्रमा समेत केही समय अघि दुर्लभ चरा फेला पार्नुभएका खरेलले आफ्नो चाहना नै चरा खोज्ने भएको बताउनुभयो ।
खरेलले यसअघि नेपालका लागि दुर्लभ चरा हरित परेवा भेटेर रेकर्ड राख्नुभएको थियो । सुन्दर देखिने उक्त चरा चुच्चोदेखि पुच्छरसम्म लम्बाइको चार फिटसम्म हुने गरेको छ । खरेलले भन्नुभयो ‘धेरै पटकको प्रयासमा फेला पारेको हुँ, यी क्षेत्रमा अन्य चरा पनि भेटिने सम्भावना छ ।’