दुर्गमको विद्यालयमा कम्प्युटर शिक्षा
रामेछाप समाचारदाता
रामेछाप, पुस १० गते । रामेछाप जिल्लाको दुर्गम स्थान भुजीमा रहेको कास्थेम माध्यमिक विद्यालयले कक्षा १० सम्म कम्प्युटर शिक्षा दिने भएको छ । उमाकुण्ड गाउँपालिका–७ को भुजीमा रहेको सो विद्यालय वडाको एक मात्र माध्यमिक विद्यालय हो ।
१० कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा गत वर्षबाट कक्षा ६ देखि कम्प्युटर शिक्षा सुरु गरिएको विद्यालयका प्रधानाध्यापक हेमन्तकुमार सुनुवारले बताउनुभयो । उहाँका अनुसार अहिले कक्षा ६ देखि ८ सम्म कम्प्युटर पढाइ हुने गरेको छ र यसलाई कक्षा १० सम्म लैजाने योजना छ । ३०७ जना विद्यार्थी रहेको विद्यालयमा १३ वटा कम्प्युटर राखेर विद्यार्थीलाई अभ्याससमेत गराउन सुरु गरिएको छ ।
पर्याप्त कम्प्युटर नहुँदा अभ्यासमा समस्या भएकाले सहयोगी दाता खोजी रहेको उहाँले बताउनुभयो । प्राविधिक शिक्षा विद्यार्थी र अभिभावकबाट माग भएकाले गाउँमा नै प्राविधिक शिक्षा दिनसके विद्यार्थीले गाउँ छाड्ने प्रवृत्तिको अन्त्य हुने वडाध्यक्ष रुद्रमणि नेवारले बताउनुभयो ।