प्रदेश |

सिमभञ्ज्याङमा यातायात अवरुद्ध

मकवानपुर, पुस १६ गते । त्रिभुवन राजपथअन्तर्गत पर्ने सिमभञ्ज्याङमा बाक्लो शीतलहर परेका कारण यातायात अवरुद्ध भएको छ । बिहीबार साँझ हिउँ पन्छाएर यातायात सञ्चालनमा ल्याइएको भए पनि अढाइ घण्टापछि बाक्लो शीतलहर परेका कारण पुनः यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताउनुभयो ।

उहाँका अनुसार दामनबाट सिमभञ्ज्याङको करिब तीन किलोमिटरमा बाक्लो शीतलहर पर्नाले काठमाडौँबाट हेटौँडातर्फ आउने र हेटौँडाबाट जाने दुवैतर्फको यातायात अवरुद्ध भएको हो ।

आजै अपराह्नसम्म शीतलहर पन्छाई यातायात सञ्चालनमा ल्याइने तयारी भइरहेको प्रहरी निरीक्षक तिमल्सिनाले बताउनुभयो । हाल काठमाडौँबाट आएका विभिन्न सवारी साधन दामनमा र हेटौँडाबाट गएका सवारी अघोरमा लामबद्ध भई आ–आफ्नो गन्तव्यतिर जान पर्खिरहेका उहाँले बताउनुभयो ।