प्रदेश |

अस्पताललाई ५० शैय्या बनाउन प्रदेश सरकारसँग माग

वीरगञ्ज, पुस १७ गते ।पर्साको पोखरिया नगरपालिकामा अवस्थित पोखरिया अस्पताललाई स्तरवृद्धि गरी ५० शैय्या बनाउन प्रदेश सरकारसमक्ष माग गरिएको छ । हाल १५ शैय्याको उक्त अस्पताललाई स्तरोन्नति गरी ५० शैय्या बनाउन प्रदेश सरकारसमक्ष माग गरिएको पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले जानकारी दिनुभयो ।

सो अस्पतालको स्तरोन्नतिसहित भौतिक संरचना वृद्धिबारे सामाजिक विकासमन्त्री नवलकिशोर साहसमक्ष छलफल गरिएको नगरप्रमुख रौनियारले जानकारी दिनुभयो । अस्पतालको हाल रहेको भवनमा माथिलो तल्ला थप गर्न मन्त्रालयसँग रकम निकासा गर्नसमेत माग गरिएको छ । साथै अस्पतालमा आवश्यक औषधिसहित शल्यक्रिया कक्ष, आइसियू तथा नवजात शिशु सघन हेरचाह एकाइ सेवा सञ्चालन गर्न थप रकम उपलब्ध गराउनसमेत प्रदेश सरकारसमक्ष माग गरिएको हो ।

यसैबीच पोखरिया नगरपालिका–९ जगतपुरमा निर्माणाधीन अधुरो बर्थिङ सेन्टरको भवन निमार्णमा समेत सहयोग गर्न प्रदेश सरकारसमक्ष माग गरिएको छ । पोखरीया अस्पतालबाट पर्साका ग्रामीण क्षेत्रका सेवाग्राहीले सेवा लिने गरेका छन् ।