प्रदेश |

अक्सिजन प्लान्ट जडान

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, माघ ११ गते । मेलम्ची नगरपालिकाको मेलम्ची नगर अस्पताल र चौतारा साँगचोकगढी नगरपालिकाको चौतारा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरी अक्सिजन उत्पादन सुरु गरिएको छ । सोमबारबाट मेलम्ची अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनामा ल्याइएको हो । चौतारा अस्पतालमा केही साताअघि नै अक्सिजन प्लान्ट जडान गरिएको थियो ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले नगरपालिका, संसद् विकास कोष, ह्योलमो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिको सहयोगमा नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको जानकारी दिनुभयो । दैनिक ४८ सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट जडान भएको नगर प्रमुख अर्यालले जानकारी दिनुभयो ।

९५ लाख रुपियाँको लागतमा भवनसहित अक्सिजन प्लान्ट जडानपछि मेलम्ची नगरबासी, हेलम्बु गाउँपालिका, पाँचपोखरी गाउँपालिका, इन्द्रावती गाउँपालिका र छिमेकी काभेपलाञ्चोकका बासिन्दा लाभान्वित हुने उहाँले बताउनुभयो । यस्तै चौतारा अस्पतालमा प्रतिघन्टा ९० लिटरभन्दा बढी अक्सिजन उत्पादन भइरहेको अस्पतालका डा. करुणा बज्राचार्यले जानकारी दिनुभयो । उत्पादित अक्सिजन पाइपबाट इमन्र्जेसी वार्ड, कोभिड वार्ड र सामान्य वार्डमा लगिएको छ ।

चौतारा अस्पतालमा अक्सिजन प्लान्ट जडानपछि चौतारा बजार, पीपलडाँडा, स्याउले, कुञ्चोक, नवलपुर, जलबिरे, कुबिन्डेलगायत आसपासका बासिन्दालाई उपचारमा सहज भएको अस्पतालका अध्यक्ष ईश्वरी श्रेष्ठले जानकारी दिनुभयो ।
कोभिड पहिलो र दोस्रो चरणमा सिन्धुपाल्चोकमा अक्सिजन उत्पादन नहुँदा राजधानी र तराईका जिल्ला पुगेर सिलिन्डरमा अक्सिजन भरेर ल्याउनुपरेको थियो ।