किन सुन्दैन, राज्यले उपल्लो डोल्पाको दुःख
जाजरकोट, माघ ११ गते । उपल्लो डोल्पा एक भूगोलमात्र होइन, सीमारक्षा गर्ने बिनाबर्दीका सिपाहीहरूको खास ठाउँ पनि हो । वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलायमान हुने उपल्लो डोल्पामा जोखिमताकै बीचमा पनि जीवन चलाउनुपर्ने बाध्यता छ ।
काठमाडौँबाट विभिन्न मुलुकमा जान छिटो र सुलभ हुनसक्छ तर उपल्लो डोल्पा पुग्न ठूलो खर्च लाग्छ । दूरीका हिसाबले टाढा नभए पनि राज्यको आँखा नपर्दा उपल्लो डोल्पा जानका लागि फलामको चिउरा चपाउनुसरह हुन्छ । ठूलो जिल्लाका रूपमा नाम परिचित भए पनि यहाँका दुःखको भाग झन ठूलो रहेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसीतुण्डुप गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “चामलकै लागि हामीले राज्यलाई ज्ञापनपत्र बुझाउनुपर्छ, उपल्लो डोल्पामा औषधि नपाएर मानिस मर्दा सामान्यझैँ लाग्छ राज्यलाई तर काठमाडौँमा कुकुर मर्दा बजारभरि थर्किन्छ ।”
राज्यको स्रोत परिचालन र वितरण प्रणाली पक्षपाती भएको समेत उहाँले बताउनुभयो । चौरी लड्ने भिरमा हाम्रा दैनिकी चल्छन्, उता काठमाडौँमा गगनचुम्बी महलमा बस्नेलाई हाम्रा दुःखले कहिले पनि छोएन अध्यक्ष गुरुङले भन्नुभयो । उपल्लो डोल्पाका तीन पालिकाको हावा, पानी र भूगोल सबै मिलेकाले स्वायत्त क्षेत्र घोषणा गरेर छुट्टै प्याकेज बनाई विकास गर्नुपर्ने ग्याल्वो भोटेले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यको नीति निर्माण तहमा हाम्रो सहभागिता नहुनु नै हाम्रो कुरा सबैले नसुन्नु रहेछ ।”
जनजाति समुदायको बसोबास रहेको उपल्लो डोल्पाको एक खण्ड शे–फोक्सुण्डो गाउँपालिका हो । यो ऐतिहासिक, धार्मिक तथा पर्यटकीय पृष्ठभूमिसँग जोडिएको छ । साल्दाङस्थित ऐतिहासिक तथा धार्मिकस्थल शे–गुम्बा र फोक्सुण्डो रिग्मोगाउँ र पर्यटकीयस्थल फोक्सुण्डो ताल यहाँ रहेको छ । यस ठाउँमा जानका लागि स्थलमार्ग हुँदै सदरमुकामबाट कम्तीमा दुई दिन लाग्छ । घोडेटो बाटो हुँदै पैदल हिँडेर त्यहाँ जानु पर्दछ ।
सडक सञ्जालसँग नजिएका कारण धेरै पर्यटकले जान खोजे पनि त्यहाँ पुग्न मुस्किल हुँदै गएको छ । हिउँ चितुवा, कस्तुरी र जडीबुटीको भण्डारका रूपमा रहेको यहाँ माल पाएर पनि चाल नपाउने अवस्था सिर्जना हुँदै आएको छ । व्यवस्था बदलीए पनि उपल्लो डोल्पाको अवस्था नबदलिएसम्म खास राज्य भएको अनुभूति गर्न नसक्ने सर्वसाधारण बताउँछन् ।
उपल्लो डोल्पामा सधैँझै चिसो भए पनि यो समयमा भारी हिमपातले झनै चिसो खपिनसक्नु छ । तापक्रम माइनसमा झरे पनि यहाँका मानिस आफ्नो दिनचर्या चलाउन बाध्य छन् । केही हुनेखानेहरू ओलतिर झरे पनि अधिकांश सर्वसाधारण उपल्लो डोल्पामै छन् । मुसी, निजाल, फोत, कु, साल्दाङ, कराङ, कोमा, नाम्दो, भिजेरलगायतका गाउँका मानिस चिसोमा मुकाविला गर्दै थाकथलो छोकेका छैनन् । हिउँमा चौँरी, याक र घोडामा सामल बोकाएर जीउज्यानको प्रवाह नगरी उपल्लो डोल्पामा भारी हिमपातका बीचमा बस्नु कम्तीको चुनौतीपूर्ण छैन । तल्लो डोल्पा झर्नेहरू हिउँदका करिब छ महिना काइगाउँ, कागेनी, सुलिगाड, पहाडमा टेन्टमा हिउँद गुजार्छन् । केहीको अस्थायी घर छ भने केही कोठा भाडामा लिएर बस्छन् । उपल्लो डोल्पालीले औल झर्नुअघि उवा, फापर, आलु, गहुँलगायतका बाली थन्क्याइसक्छन् । उनीहरूलाई आफ्नो उत्पादनले तीनदेखि चार महिनासम्म मात्र खान पुग्छ भने बाँकी समयका लागि तिब्बत र दुनैबाट खाद्यान्न किनी घोडा र खच्चडलाई बोकाएर ल्याउनुपर्छ । उपल्लो डोल्पामा नेपाल सरकारले खाद्यान्न पु¥याउँदैन ।
उपल्लो डोल्पालीका लागि हिउँदमा बेँसी झर्नु संस्कृति नै बनेको छ । पहिले आर्थिक हिसाबले मजबुत डोल्पालीहरू चिसो छल्न काठमाडौँसम्मै पुग्थे । त्यही मौकामा जडीबुटी व्यापार गर्थे । कोभिड–१९ सङ्क्रमणका कारण यो वर्ष काठमाडौँसम्म जानेहरू घटे । वैशाख लागेपछि उपल्लो डोल्पा जानेको फेरि अर्को लाग्छ । फर्कनासाथ बाली लगाउने र यार्सागुम्बु सङ्कलन गर्ने समय हुन्छ । यार्सागुम्बु उपल्लो डोल्पालीको मुख्य आयस्रोत हो भने पशुपालन र व्यापार वैकल्पिक आयस्रोत हुन् ।
शे–फोक्सुन्डो, छार्का ताङसोङ र डोल्पोबुद्ध तिब्बतसँग जोडिएका छन् । सदरमुकाम दुनै सडक सञ्जालले जोडिए पनि त्यसमाथि सडक छैन । उपल्लो डोल्पाका बस्तीसम्म पुग्न दुनैबाट एक सातासम्म हिँड्नुपर्छ भने सवारीको मुख्य साधन घोडा हो । खच्चडबाट दुनै र त्रिपुराकोटबाट सामान ढुवानी गरिन्छ । साल्दाङ शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र र सबैभन्दा ठूलो गाउँ हो । फोक्सुन्डो ताल र करिब एक हजार वर्ष पुरानो शे र सामलिङ गुम्बा यही छन् । उपल्लो डोल्पा पदयात्राका लागि प्रख्यात ठाउँ हो ।
शे–फोक्सुन्डो गाउँपालिकासँग तिब्बतको क्याटो नाका जोडिएको छ । सबै स्थानीयवासीको मुख्य बजार नै क्याटो हो । कोभिड सङ्क्रमणका कारण उक्त नाका खुलेन । छिमेकी डोल्पोबुद्ध गाउँपालिकासँग तिब्बतकै मरिम–लानाका जोडिएको छ । धो तराप, ताक्सी, सिमेनका बासिन्दा उक्त बजारमा किनमेल गर्छन् । तर ती सबै अहिले हिमपातले गर्दा जानआउन सक्ने अवस्था छैन । सङ्घीय सरकारले दुवै नाकालाई खुला गर्ने प्रक्रिया अघि बढाएको भने पनि त्यो परिणाममा उपल्लो डोल्पालीले देखेका छैनन् ।
उपल्लो डोल्पाका बालबालिकाले हिमपातका समयमा नियमित पाउने खोपसमेत पाउँदैनन् । अहिले देशैभरि चलेको कोभिडको खोपसमेत उपल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन् । सामान्य टाउको दुखे अस्पताल दौडिने सहरभन्दा अस्पतालको अनुहार नै देख्न नपाई मृत्युलाई स्वीकार गर्ने उपल्लो डोल्पाको पीडा कति होला ? विकास निर्माणको सवालमा समेत अन्य जिल्लामा छुट्याउन बजेट बराबरकै उपल्लो डोल्पामा छुट्याउँदा त्यो बजेट हात्तीको मुखमा जिराझै हुन्छ । सामग्रीको मूल्यभन्दा ढुवानीको मूल्य बढी रहेको उपल्लो डोल्पामा राज्यले भारी बजेट छुट्याएर खास क्षेत्र घोषणा गरी हिमालको छुट्टै स्वायत्तता बनाउन सके न्याय हुने छ ।