इलामको रोङमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु
प्रेम अधिकारी
पशुपतिनगर(इलाम) माघ १३ गते । मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिका वडा नं ४ पहिरोमा बिहीबार बिहान पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
झापाबाट सामान लिएर इलाम आउँदै गरेको प्रदेश १–१००१ च ७९१६ नम्बरको पिकअप दुर्घटना हुँदा झापा मेचीनगर ४ का ५८ वर्षीय रमेश थापा र सोही ठाउँका ४० वर्षीय सूर्य थापाको मृत्यु भएको हो । दुर्घटनामा घाइते सवारी चालक अर्जुन कोइरालाको झापाको बी.एण्ड.सी.अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी जोरकलसले जानकारी दिएको छ । प्रहरीका अनुसार अनियन्त्रित भएर पिकअप सडकबाट ५०० मिटर तल पल्टिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना स्थलबाट शव उठाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।