कैलालीमा ६५ प्रतिशतले कोरोनाविरुद्ध पूर्ण खोप लगाए
टीकापुर, माघ १८ गते । कैलालीमा लक्षित उमेर समूहको ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ७१ प्रतिशत पुगेको छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलालीमा कोरोनाविरुद्धको खोप लगाउने लक्षित उमेर समूह १८ वर्षमाथिको जनसङ्ख्या छ लाख ६४ हजार ६८८ छ ।
जसमध्ये चार लाख ७१ हजार ९२८ जनाले खोपको पहिलो मात्रा र चार लाख ३२ हजार जनाले खोपको पूर्ण मात्रा लगाएका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो । “खोप लगाउनेको सङ्ख्या बढ्दै गएको छ । हामीले खोपका कार्यक्रम नियमितरूपमा गरिरहेका छौँ”, धामीले भन्नुभयो, “कैलाली कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेकाले पनि यहाँ नियमित खोप कार्यक्रम भइरहेका छन् । नागरिक अनिवार्य खोप लगाउनुपर्छ भन्नेमा सचेत भएका छन् ।”
कैलाली जिल्लामा सोमबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पनि मोडर्ना खोप लगाउने काम सुरु गरिएको छ । जिल्लामा रहेका एक लाख २० हजार बालबालिकालाई खोप लगाइने भएको छ । बालबालिकालाई खोप लगाउन अहिले एक लाख ११ हजार डोज खोप जिल्लामा आइपुगेको र सोहीअनुसार खोप अभियान सञ्चालन गरिएको प्रमुख धामीले बताउनुभयो । “बालबालिकाको सङ्ख्याभन्दा केही मात्रा कम खोप आएको छ । हामीले थप माग गरेका छौँ”, धामीले भन्नुभयो, “सबै बालबालिकालाई समयमै खोप लगाउन सुरु गरिएको छ ।”
कैलालीको टीकापुर नगरपालिकाले पनि आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका १७ हजार बालबालिकालाई खोप लगाउने भएको छ । १८ गतेदेखि २१ गतेसम्म नगरपालिकाका विभिन्न स्थानमा खोप केन्द्र स्थापना गरी बालबालिकालाई खोप लगाउने तयारी भइरहेको टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका सहसंयोजक कमल रावलले जानकारी दिनुभयो । “हरेक विद्यालय र पायक पर्ने विभिन्न स्थानमा खोप केन्द्र राखेर विद्यालय तथा समुदायमा रहेका बालबालिकालाई खोप लगाउँदैछौँ”, रावलले भन्नुभयो, “खोप लागउने भनेपछि अभिभावक र शिक्षक खुशी हुनुभएको छ । लामो समयदेखि बालबालिकालाई खोप माग गर्दै आएका अभिभावक तथा शिक्षकको माग पूरा भएको छ ।”
टीकापुर नगरपालिकामा १८ वर्षमाथिका ८१ प्रतिशत नागरिकलाई पहिलो मात्रा र ६६ प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप लगाइसकेको रावलले बताउनुभयो । यस्तै कैलालीकै जानकी गाउँपालिकाले पनि आजदेखि २१ गतेसम्म पालिकाभित्र रहेका तीन हजार ९४५ बालबालिकालाई खोप लगाउने तयारी गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले जानकारी दिनुभयो । “कोरोना महामारी समुदायमा फैलिएपछि पुसको अन्त्यबाट बन्द भएका यहाँका विद्यालय खोप लगाएपछि खुल्ने आशा सबैमा छ”, चौधरीले भन्नुभयो, “बालबालिकाको सुरक्षा र शैक्षिक गतिविधि सञ्चालनका लागि पनि खोप आवश्यक थियो । हामीले खोप आउने बित्तिकै सुरु गर्न थालेका हौँ ।”
कैलालीका सबैजसो पालिकामा यसै साताभित्रै खोप अभियान सञ्चालन हुने भएका छन् । अभिभावक खोप अभियान सञ्चालन हुन थाल्दा खुशी भएका छन् । विद्यालयले बालबालिकालाई सूचना गरी अनिवार्य खोप लगाउन आग्रह गरेका छन् । “लामो समयदेखि पढाइ नहुँदा बालबालिका गाउँमा सडकमा खेलिरहेका हुन्थे, केही बालबालिका टेलिभिजन र मोबाइलमा ब्यस्त रहन्थे”, शिक्षक पूर्ण विक भन्नुहुन्छ, “खोपपछि विद्यालय नियमित भएमा बालबालिकाको शैक्षिक विकासमा असर पर्दैन ।”