प्रदेश |

मेडिकल कलेजविरुद्धको उजुरी मन्त्रालय पठाइयो

चितवन समाचारदाता

चितवन, माघ २० गते । कोरोना भाइरस भएकाको उपचारका लागि सरकारसँग भएको सम्झौताविपरीत चितवन मेडिकल कलेजले लिएको शुल्कका विषयमा परेको उजुरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पठाइएको छ । कोरोनाका बिरामीको निःशुल्क उपचार गर्न भएको सम्झौताविपरीत बिरामीसँग मेडिकल कलेजले शुल्क लिएको भए उजुरी गर्न जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरेपछि प्रमाणसहित बिरामी र उनका आफन्तले दिएको उजुरी अध्ययन गरेर प्रशासनले मन्त्रालय पठाएको हो ।
आवश्यक अनुसन्धानका लागि मन्त्रालयलाई नै आग्रह गरिएको छ, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भन्नुभयो, यहाँ छलफल गरेर निकास निस्कने अवस्था रहेन, त्यसैले सबै विवरण र प्रारम्भिक अनुसन्धानले देखाएको विवरणसहित मन्त्रालय पठाएका छौँ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठक बसी उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । उहाँका अनुसार मन्त्रालयमा उजुरी र बिलको सक्कलै कागज पठाइएको छ र निर्णयबारे सम्बन्धित मेडिकल कलेजका प्रतिनिधिलाई पनि लिखित जानकारी दिइएको छ ।

आफूहरूले गरेको प्रारम्भिक अनुसन्धानमा धेरै मानिससँग निःशुल्कको नाममा पैसा लिएको भेटिएको उहाँले बताउनुभयो । अस्पतालमा भएको घटनाको विषयमा राष्ट्रिय अनुसन्धानले गरेको २० जना कोरोना सङ्क्रमित तथा तिनका आफन्तसँगको सोधपुछका क्रममा १८ जनाले कोरोना भएकै अवस्थामा पैसा तिरेको भनी जवाफ दिएका छन् । कोरोना सङ्क्रमितको उपचार सम्झौताबारे आफूहरूलाई जानकारी भएको तर उपचार सेवाबारे अनुगमन वा गुनासो सम्बोधन गर्न कुनै जिम्मेवार माथिल्लो निकायबाट नआएकाले आफूहरूले मन्त्रालयलाई नै थप अनुसन्धानका लागि कागजपत्र पठाइदिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । मङ्गलबारसम्म १० जनाले प्रशासनमा उजुरी दिएका छन् । कलेजविरुद्ध परेको उजुरीसम्बन्धमा भनाइका लागि पटक–पटक प्रयास गर्दा पनि कलेजका सम्बन्धित अधिकारीहरू सम्पर्कमा आउनुभएन र पठाइएका प्रश्नको जवाफ पनि दिनुभएन ।