दायरा बढाउँदै काठमाडौँ विश्वविद्यालय
बनेपा समाचारदाता
बनेपा, माघ २५ गते । काभ्रेको धुलिखेल केन्द्रित भएर शैक्षिक गतिविधि गर्दै आएको काठमाडौँ विश्वविद्यालय (केयू) ले पछिल्लो समय काभ्रेकै स्थानीय तहहरू र अन्य जिल्लामा शैक्षिक कार्यक्रम सञ्चालन सुरु गरेको छ । विश्वविद्यालयले शैक्षिक दायरा बढाउने क्रममा यस शैक्षिक सत्रदेखि जिल्लाको पाँचखालमा स्कुल अफ साइन्सअन्तर्गत कृषि विज्ञान र स्कुल अफ इन्जिनियरिङतर्फको आर्टिफिसियल इन्टेलिजेन्ट विषयको अध्यापन गराउने जनाएको छ ।
विश्वविद्यालयका सहायक प्रवक्ता डा. उद्धव प्याकुरेलले पाँचखालमा कृषि विज्ञान विषयका विद्यार्थीहरूको प्रयोगात्मक अभ्यासका लागि बागवानी केन्द्र तथा अन्य विभिन्न कृषि फार्म तथा कृषियोग्य जमिन भएको कारण पाँचखालमा कृषि विज्ञानको अध्यापन सुरु गर्ने तयारी गरेको बताउनुभयो ।
उहाँले पाँचखाल नगरपालिकासँग गत वर्ष नै दुई सङ्कायका कक्षाहरू सञ्चालन गर्न भवन तथा जग्गा उपलब्ध गराउन भएको सम्झौताअनुसार तयारी भएको बताउनुभयो । उहाँले नगरपालिकाले उपलब्ध गराएको विद्यालयको भवनमा कक्षाको डिजाइन, प्रयोगात्मक अभ्यासका लागि आवश्यक पर्ने प्रयोगशाला निर्माण गरी आइतबारदेखि आधिकारिक रूपमा स्कुल अफ साइन्स र इन्जिनियरिङको कार्यालय स्थापना गरिएको बताउनुभयो ।
पाँचखाल नगरपालिकाले काठमाडौँ विश्वविद्यालयका लागि नगरपालिकाको वडा नं. २ मा करिब पाँच सय रोपनी जग्गा उपलब्ध गराउने आन्तरिक सहमति प्रदान गरेको छ भने मन्त्रिपरिषद्बाट पारित हुन बाँकी छ । विश्वविद्यालयका सहायक प्रवक्ता डा. प्याकुरेलले पाँचखालमा कृषि विज्ञानतर्फ स्नातक तहमा ३० जना र आर्टिफिसियल इन्टेलिजेन्टअन्तर्गत स्नातक र स्नातकोत्तर तहमा ३०–३० जना विद्यार्थी भर्ना लिइने बताउनुभयो ।
उहाँले काभ्रेकै पनौती नगरपालिकामा स्कुल अफ लको कार्यक्रम सञ्चालनका लागि तयारी अघि बढाएको भन्दै वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको बताउनुभयो । उहाँले सिन्धुली जिल्लामा ब्याचलर इन टेक्निकल एजुकेसन (बिटेक ईडी) को अध्यापन गराउने तयारी भइरहेको बताउँदै बिटेक ईडी विषयमा ४० जनाको भर्ना लिइने बताउनुभयो ।