बजेट कार्यान्वयन प्रभावकारी बनाउन निर्देशन
मकवानपुर समाचारदाता
हेटौँडा, माघ २९ गते । बागमती प्रदेशका सबैभन्दा बढी बजेट भएका दुई मन्त्रालयको प्रगति सन्तोषजनक नभएपछि कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ । प्रदेश सभाअन्तर्गतका अर्थ तथा विकास समितिले भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको बजेट कार्यान्वयन प्रभावकारी बनाउन र विकास निर्माण तीव्र पार्न निर्देशन दिएको हो ।
समितिको बैठकले मन्त्रालयका योजना तथा आयोजनाको निर्माण प्रक्रियामा देखिएको ढिलासुस्तीप्रति मन्त्रालयलाई ध्यानाकर्षणसमेत गराएको छ । जनजीविकासँग सम्बन्ध राख्ने कामलाई प्राथमिकता दिन सचेत गराइएको छ ।
चालू आर्थिक वर्ष २०७८/७९ को मध्यावधिसम्म खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गत खानेपानीतर्फ १७.३ प्रतिशत वित्तीयसहित ३३ प्रतिशत भौतिक प्रगति रहेको छ ।
ऊर्जा तथा सिँचाइतर्फ १५ प्रतिशत वित्तीय प्रगतिसहित ३७.७ प्रतिशत भौतिक प्रगति भई मन्त्रालयको कुल बजेटको औसत १६ प्रतिशत मात्र खर्च भएको छ । समितिले मन्त्रालयका पदाधिकारीलाई समिति बैठकमा बोलाएर छलफल गरी आर्थिक वर्षको पहिलो छ महिनाका ३५.४ प्रतिशत मात्र उपलब्धि हुनु सन्तोषजनक नदेखिएको जनाएको छ । समितिका सदस्यसचिव मनोज गुप्ताले त खानेपानी तथा सरसफाइ, जल उपयोग, नदी व्यवस्थापन तथा सिँचाइ, विद्युत्, ऊर्जा क्षेत्रका काम अगाडि बढाउन, आवश्यक कानुन निर्माण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिनुभयो ।
समितिले भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भडेललगायत मन्त्रालयका प्रतिनिधिसँग गत आव २०७७/७८ को बजेट कार्यान्वयन स्थिति र चालू आवको बजेटको पुुँजीगत खर्च, विभिन्न आयोजना तथा योजनाको बजेटको कार्यान्वयनको अवस्थाबारे छलफल गरेको छ । बजेट कार्यान्वयनमा ढिलासुस्ती भई चालू आर्थिक वर्षका योजना अन्योलमा परेको भन्दै मन्त्री भडेलको ध्यानाकर्षण गराएको छ ।
समितिले प्रदेश गौरवका योजना पास्टबहादुर बोगटी सुरुङ मार्ग (भीमफेदी–कुलेखानी) र पुष्पलाल प्रदेश चक्रपथसहित काठमाडौँ उपत्यका काठ–चक्रपथका विभिन्न खण्डको काम कार्यान्वयन गर्न भनेको छ ।