प्रदेश |

जग्गा अतिक्रमण रोकी नहर मर्मत हुँदै


शालिग्राम नेपाल

चितवन, फागुन ५ गते । पश्चिम चितवनमा सिँचाइ हुने खगेरी नहरको जग्गा अतिक्रमण रोकेर मर्मत–सम्भार भइरहेको छ । बढ्दो सहरीकरणले गर्दा नहरको जग्गा अतिक्रमण हुनबाट रोकी मर्मतकार्यलाई तीव्रता दिएको कार्यालयले जानकारी दिएको छ । बागमती प्रदेश सरकारको पाँच करोड रुपियाँको लागतमा अहिले नहरको एकातर्फ सडक निर्माणकार्य भएको छ । नहरलाई सफा गर्दै सडक निर्माण गरी जग्गा अतिक्रमणबाट रोक्न सहज भएको नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरका सूचना अधिकारी चूूडामणि कँडेलले जानकारी दिनुभयो ।

प्रदेश सरकारअन्तर्गत रहेको सो कार्यालयले बहुवर्षे योजनाअन्तर्गत आगामी आर्थिक वर्षमा सम्पन्न गर्नेगरी मर्मतको काम गरेको हो । नहरको सर्भिस लेन यस वर्ष १२ सय मिटर निर्माण हुनेछ । आगामी आर्थिक वर्ष २०७९/०८० मा तीन किलोमिटर सडक निर्माण हुने कार्यालयका इन्जिनियर कुलराज चालिसेले जानकारी दिनुभयो ।

मर्मतका लागि भनेर सङ्घ सरकारको बजेट हरेक वर्ष कटौती हुँदै आएको र प्रदेश सरकारले बजेट वृद्धि गरेको कार्यालयले जानकारी दिएको छ । नारायणी लिफ्टको जग्गा अतिक्रमण भएर नहर मासिसकेकाले खगेरी नहरको जग्गा समयमै सुरक्षित राख्ने काम भएको इन्जिनियर चालिसेले बताउनुभयो ।

चालिसेले भन्नुभयो, “नारायणी लिफ्टको सी क्यानल नहर अतिक्रमण भएको छ, अहिले जग्गासमेत भेटिँदैन, खगेरीको पनि त्यही अवस्था नहोस् भन्नका लागि संरक्षणको काम भएको छ । ” यस वर्ष गर्ने कामको ७० प्रतिशत कार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

रत्ननगर नगरपालिकाको पूर्व–पश्चिम राजमार्गको टिकौलीबाट सुरु भएको खगेरी नहर २३ किलोमिटर लम्बाइ रहेको छ । यस नहरबाट ३९ हजार हेक्टर क्षेत्रफल सिँचाइ हुँदै आएको कार्यालयका सूचना अधिकारी कँडेलले जानकारी दिनुभयो । १२ वटा शाखा रहेको नहर भरतपुर महानगरपालिकाको पश्चिम चितनव क्षेत्रमा सिँचाइ हुने गरेको छ ।

नहरलाई सङ्घ सरकारबाट चालू आर्थिक वर्षमा ४० लाख रुपियाँमात्र आएको र यो बजेटले कर्मचारी व्यवस्थापन र सामान्य मर्मतमात्र पुगेको इन्जिनियर चालिसेले बताउनुभयो । कार्यालयका अनुसार आर्थिक वर्ष ०७६/७७ मा चार करोड रुपियाँ आए पनि अहिले त्यो रकम घटेर ४० लाख रुपियाँमा झरेको छ ।

प्रदेश सरकारबाट विनियोजित बजेटबाट अहिले नहरको सर्भिस लेन (सडक) ६ मिटर चौडा बनाइएको छ । ग्राबेल सडक निर्माणले नहरको निगरानी, जग्गा नियन्त्रण, मर्मत, सिँचाइमा सहज भएको कार्यालयले जनाएको छ । वर्षमा चार महिना सञ्चालन हुने नहरबाट मुख्य धानबालीमा सिँचाइ सुविधा पुगेको छ ।