अद्भुत कला काँक्रेविहार
ललित बसेल
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको सुर्खेतस्थित काँक्रेविहार ऐतिहासिक कलाकारिताको नमुनाका रूपमा छ । नेपालको ‘दोस्रो लुम्बिनी’को सङ्ज्ञा पाएको काँक्रेविहार विशेषतः हिन्दु र बौद्ध धर्मावलम्बीका लागि महत्त्वपूर्ण मानिन्छ । वीरेन्द्रनगर नगरपालिका–९ मा अवस्थित यो क्षेत्र वीरेन्द्रनगरदेखि तीन किमी दक्षिणमा पर्दछ । सुर्खेत उपत्यकाको बीच भागमा जङ्गलको थुम्कोमा रहेको काँक्रेविहार पुरातात्विक र ऐतिहासिक महत्त्वले भरिपूर्ण छ । २१ मिटर अग्लो शिखरशैलीको मन्दिर निर्माण भएपछि अवलोकन गर्न आउनेको सङ्ख्याका साथै अध्ययन गर्नेहरूका लागि पनि महत्त्वपूर्ण क्षेत्र बनेको छ ।
एक सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको काँक्रेविहारका बारेमा अनेकौँ किंवदन्ती र अड्कलबाजी हुँदै आएका छन् तर यसको खास सम्बन्ध जुम्ला, सिँजाका राजासँग गाँसिएको बताइन्छ । जुम्लाका राजा अशोक चल्लको शासनकाल वि.सं. १३१२–१३३५ रहेको इतिहासमा उल्लेख छ । उनैले वि.सं. १३२५ मा काँक्रेविहार निर्माण गरेको अभिलेख पाइएको छ । काठमाडौँका प्रेमसिंह बस्न्यातले सूर्यमणि अधिकारीको खस साम्राज्यको इतिहास तथा विश्व केसीको कीर्ति खम्बको स्रोतलाई आधार मानेर काँक्रेविहार मन्दिर छेउमा अभिलेख बोर्ड राखेका छन् । सो बोर्डलाई आधार मानेर वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष सुरेश मानन्धरले राजा अशोक चल्ल महाज्ञानी तथा बौद्ध धर्मावलम्बी भएका हुँदा थर चल्लबाट मल्ल बनाएका भन्ने उल्लेख गरिएको छ । बोर्डमा वि.सं. १८९० को महाभूकम्पका कारण विहार भत्किएपछि धेरै समयसम्म उक्त ठाउँ खण्डहरजस्तै बनेको थियो ।
सुर्खेत उपत्यकाको बीचमा काँक्राको चिराजस्तो जङ्गल भएकोले यसको नाम ‘काँक्रेविहार’ रहन गएको जनश्रुति पाइन्छ । यहाँको उत्खननदेखि संरक्षणको सबै काम पुरातत्व विभागले नै गर्दै आएको छ । अद्भुत कला र इतिहासको साक्षीको रूपमा काँक्रेविहारलाई लिन सकिने वडाअध्यक्ष मानन्धरले बताउनुभयो । यसको संरक्षण तथा उत्खनन गर्ने अधिकार पुरातत्व विभागलाई मात्र भएकोले उत्खनन गर्ने क्रममा प्राप्त विभिन्न मूर्तिहरू सुर्खेतस्थित साविकको क्षेत्रीय सङ्ग्रहालय (हाल प्रदेश सङ्ग्रहालय एवं अभिलेखालय)मा राखिएको थियो । मन्दिर बनाउने क्रममा आवश्यक पर्ने मूर्ति र पुराना प्रमाणहरूलाई आधार मानेर अहिले शिखरशैलीको मन्दिर तयार पारिएको छ । मन्दिर तयार भएपछि काँक्रेविहार अवलोकन गर्न आउने आन्तरिक तथा बह्य पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । यद्यपि कोरोना सङ्क्रमणका कारणले अवलोकनकर्ताको सङ्ख्यामा कमी आएको छ ।
पोखराबाट विद्यार्थीलाई भ्रमणका लागि सुर्खेत लिएर जानुभएका अर्जुन सेन गिरीले काँक्रेविहार मन्दिर कलाकारिताको उत्कृष्ट नमुना भएको बताउनुभयो । काँक्रेविहारको अध्ययन इतिहास र पुरातत्वको खोजी गर्नेहरूका लागि निकै महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । कलेजका विद्यार्थीलाई काँक्रेविहार अध्ययन तथा अवलोकन गराउन पाउँदा इतिहास जान्ने र बुझ्ने मौका मिलेको उहाँले बताउनुभयो ।
काँक्रेविहार वनक्षेत्र नेपालको एक मात्र संरक्षित वनक्षेत्र हो तर जग्गा कारोबारीहरूले वरपरबाट मिच्दै गएपछि यसको पुनः नक्साङ्कनको काम थालिएको छ । यहाँको क्षेत्रफल के कति छ र के कति अतिक्रमणमा परेको छ भन्ने यकिन गरेर ऐतिहासिक प्रमाणका आधारमा संरक्षण गरिनु आवश्यक छ ।
काँक्रेविहारको विकास निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकाले तीन करोड रुपियाँ र डिभिजन वन कार्यालय सुर्खेतले ५० लाख रुपियाँ बजेट छुट्याएका छन् । मन्दिर वरिपरि पर्खाल लगाउने काम सकिएको छ । यसमा ‘मिनी चिडियाखाना’ बनाउनेदेखि अन्य संरचना निर्माणका योजना अगाडि सारिएको छ । काँक्रेविहार जरायो, मृग, खरायो, बँदेल लगायतका वन्यजन्तु र विभिन्न प्रकारका पक्षीको वासस्थान पनि हो । मनोरञ्जन गर्ने तथा वनभोज स्थलका रूपमा पनि काँक्रेविहारको महत्त्व बढेको छ । सहरबाट नजिकै भएका कारण फुर्सद हुनासाथ स्थानीयवासी काँक्रेविहार आउने गर्दछन् ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी काँक्रेविहार सुर्खेतको मात्र नभई मुलुककै अमूल्य ऐतिहासिक तथा पुरातात्विक सम्पत्ति भएको बताउनुहुन्छ । उहाँले यसको संरक्षण र उत्खननको जिम्मा पुरातत्व विभागले नगरपालिकालाई दिए आफूहरू त्यो काम गर्न तयार रहेको बताउनुभयो । काँक्रेविहार मन्दिरमा ढुङ्गाजस्तै देखिने रङ लगाउने भनिए पनि सो हुनसकेको छैन । नगरपालिकाले काँक्रेविहारको संरक्षण तथा विकासमा बजेट विनियोजन गरेकोले बजेट आउनासाथ काम थालिने नगरप्रमुख सुवेदीले बताउनुभयो ।
यहाँको शिखरशैलीको मन्दिरले पूर्णता पाएपछि त्यसको प्रचारप्रसार गराउन सुर्खेतबाट प्रदान गरिने ‘मायाको चिनो’मा काँक्रेविहारको मन्दिरलाई अङ्कित गरिएको छ । निजीक्षेत्र तथा खेलकुदलगायत अन्य निकायले पनि ‘मायाको चिनो’मा काँक्रेविहारको मन्दिर राखेका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घका महासचिव लक्ष्मण कँडेलले काँक्रेविहारलाई देश–विदेशमा चिनाउन प्रयत्नरत रहेको बताउनुभयो । काँक्रेविहार हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर भएकोले यसको ऐतिहासिकताका लागि पनि प्रचारप्रसार गर्नुपर्ने उहाँको भनाइ छ ।
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार काँक्रेविहार पुनर्निर्माणमा विभागले हालसम्म करिब सात करोड २० लाख रुपियाँ खर्च गरिसकेको छ । उहाँले पुनर्निर्माणको काम २०७५ असोज ११ गतेदेखि सुरु भई २०७७ पुस ३१ मा सम्पन्न भएको जानकारी गराउनुभयो । काँक्रेविहारको पुनर्निर्माणको पहिलो चरणको काम सकिएको जानकारी दिँदै उहाँले अब काँक्रेविहार विकास परिषद् स्थापना गरेर त्यसैबाट काम अघि बढाइने बताउनुभयो ।
कुनै पालिकाले काम गर्न चाहेमा पुरातत्व विभागको स्वीकृति लिएर निश्चित मापदण्डभित्र रही काम गर्न दिने सोचमा पुरातत्व विभाग छ । विभागका प्रवक्ता कुँवरले कसैले पनि त्यहाँ आफूखुशी काम गर्न नपाउने भन्दै विभागको स्वीकृति लिएर तोकिएको मापदण्डभित्र रहेमा संरक्षण एवं संवद्र्धनका काम गर्न पाउने बताउनुभयो । काँक्रेविहार नेपालकै उत्कृष्ट कारिगरीको नमुना भएकोले यसको संरक्षण कार्य महत्त्वपूर्ण रहेको विभागको भनाइ छ । यस्तै वडाध्यक्ष सुरेश मानन्धरले जे जसरी भए पनि मन्दिर पुनर्निर्माणको काम सकिएको र अब यसको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । मन्दिर रेखदेखका लागि वडाले एक जना चौकीदार राखेको जानकारी दिँदै उहाँले सम्बन्धित निकायले विशेष योजना बनाएर संरक्षणको कामलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो ।
काँक्रेविहार मन्दिर लामो समयसम्म भग्नावशेष अवस्थामा हुँदासमेत यसको ऐतिहासिक महत्त्व थाहा पाएकाहरू अवलोकनमा आउने गरेकोमा मन्दिर निर्माण भएपछि दैनिक दुई सयभन्दा बढीको सङ्ख्यामा आउने गरेका छन् । विद्यार्थी सिर्जना डाँगी पुरातात्विक र ऐतिहासिक सम्पत्ति भएकोले यसको उचित संरक्षण र प्रचार गर्नुपर्ने बताउनुहुन्छ । विशेषगरी विद्यार्थीका लागि काँक्रेविहार राम्रो पाठशाला बनेको उहाँको भनाइ छ । काँक्रेविहार राम्रो बने पनि विहारसम्म पुग्ने सडक निर्माणाधीन अवस्थामै रहेकाले आवागमनमा कठिनाइ छँदैछ । करिब दुई किलोमिटर दूरीको फरकमा रहेको बुलबुले ताल र काँक्रेविहार सुर्खेतका ऐतिहासिक गहना भएकाले स्थानीय तहले यिनको संरक्षण र विकासमा विशेष ध्यान पु-याउनुपर्नेमा स्थानीयले जोड दिँदै आएका छन् ।