प्रदेश |

अर्ना स्थानान्तरण गर्न पहल गरिने

चितवन समाचारदाता

चितवन, फागुन १० गते । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले अर्ना स्थानान्तरणका लागि आवश्यक पहल गर्ने बताउनुभएको छ । चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना राखिएको (खुला खोर) क्षेत्रको सोमबार स्थलगत अवलोकनपछि उहाँले वन्यजन्तु संरक्षणका लागि मन्त्रालय गम्भीर रहेको बताउनुभयो ।

वंश विस्तारका लागि भन्दै २०७३ माघमा कोसीटप्पु वन्यजन्तु आरक्षण र सदर चिडियाखाना काठमाडौँबाट १५ वटा अर्ना चितवन ल्याएकोमा अहिले तीनवटा मात्र जीवित रहेका छन् । बाढीले बगाउने तथा बाघले खाएर अहिले तीनवटा बाँकी रहेका हुन् । वंश विस्तार गर्ने भने पनि ल्याएका अर्ना नै मासिने डर भएपछि निकुञ्जले मन्त्री यादवलाई अर्नाको अवस्थाको विषयमा जानकारी गराएको थियो । मन्त्री यादवले कोसीटप्पु आरक्षणमा रहेका अर्नालाई विभागमार्फत ल्याउन पहल गर्ने जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको मात्र नभई देशैभरका निकुञ्ज आरक्षण क्षेत्रलगायतका स्थानमा रहेका वन्यजन्तु संरक्षणका लागि प्रभावकारी कार्य गर्ने भन्दै उहाँले वन र वन्यजन्तुको कारण पर्यटक आउने, जैविक विविधतासँगै नेपालीको पहिचान स्थापित हुने भएकाले वन र वन्यजन्तुको संरक्षणमा जोड दिनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निकुञ्जमा रहेका वन्यजन्तुको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै कोसीटप्पुबाट अर्ना ल्याउन पहल भइराखे पनि अहिले काम भई नसकेको बताउनुभयो । वन्यजन्तु विभागमार्फत चितवनमा थप अर्ना ल्याउने तयारी रहेको छ, उहाँले भन्नुभयो, “यहाँ भएका कमी–कमजोरीलाई सुधार गर्दै वंश विस्तारका लागि ल्याउने योजना छ । ”

मन्त्री यादवले सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष, वन्यजन्तु अस्पताल, सङ्ग्रहालयलगायतको निरीक्षण गर्नुभयो । सङ्ग्रहालयमा रहेका अखोटोपहारसहित प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभाव रहेको छ, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख बाबुराम लामिछानेले भन्नुभयो । त्यस्तै वन्यजन्तु अस्पतालमा उपचार गराइएका जनावरलाई ठीक नहुँदासम्म राख्नका लागि स्थान अभाव भएको बारेमा जानकारी गराएका छौँ, उहाँले भन्नुभयो । एक वर्ष अगाडिबाट सञ्चालनमा आएको वन्यजन्तु अस्पतालमा बिरामी भएका र अपाङ्गता भएका जनावरलाई लामो समयसम्म राख्न समस्या भएको उहाँले बताउनुभयो ।