प्रदेश |

महोत्सवका लागि वन्यजन्तुको चरन क्षेत्र कब्जा

शालिग्राम नेपाल

चितवन, फागुन १२ गते । निकुञ्जका वन्यजन्तु चरन गर्ने क्षेत्रमा दुई महिनादेखि कब्जा गरेर रत्ननगर महोत्सव आयोजना गरिन थालेको छ । वन्यजन्तुको बासस्थान रहेको टिकौली चौरमा रत्ननगर उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्ने भन्दै गत पुस महिनाको पहिलो साताबाट चौर ओगट्दै आएको हो । कोरोना भाइरसको सङ्क्रमण जोखिम बढेको भन्दै प्रशासनले गत पुस २६ गतेदेखि मेला महोत्सव सञ्चालनमा रोक लगाएपछि अहिलेसम्म त्यस स्थानमा टहरा नहटाई चौर कब्जा गरिएको छ । पुसदेखि कब्जा गरेको चौरमा फागुन १५ गतेदेखि महोत्सव आयोजना गर्ने भन्दै प्रचार गरिँदै छ ।

चितवन निकुञ्ज, वन डिभिजन कार्यालय भरतपुर, संरक्षणकर्मीको सुझावलाई अटेर गरी महोत्सव आयोजना गरिँदैछ । टिकौली चौर क्षेत्रमा गैँडा, चित्तल, हरिण, बँदेललगायतका जनावरको चरण क्षेत्र, घाम ताप्ने र बस्ने गरेको चितवन निकुञ्जले जनाएको छ । निश्चित समयका लागि महोत्सव आयोजना गर्ने भनेर अनुमति दिए पनि लामो समयका लागि भने ओगट्न नदिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । “महोत्सव आयोजना गर्न अनुमति माग्न आउनुभएको छ, मैले अनुमति दिएको छैन” उहाँले भन्नुभयो । महोत्सव आयोजनाको लगानी डुबेको आयोजकको भनाइ छ ।

टिकौली चौरमा महोत्सव आयोजना गर्दा वन्यजन्तुलाई असर गर्ने भन्दै यस्ता गतिविधि गर्न नहुने चितवन निकुञ्जका प्रमुख हरिभद्र आचार्यले बताउनुभयो । उहाँ भन्नुहुन्छ, निकुञ्जका वन्यजन्तुको कोरिडोर रहेकै स्थानमा ठूलो ‘साउन्ड स्पिकर’ राखेर महोत्सव आयोजना गर्नु कुनै पनि पक्षबाट राम्रो होइन । दुई महिनासम्म वन्यजन्तुको बास हुने स्थान रोकेर राख्ने र फेरि त्यहीँ महोत्सव आयोजना हुनु संरक्षणका दृष्टिले निषेध हुन्छ ।

प्रमुख जिल्ला अधिकारी तामाङ पनि वन्यजन्तुको संरक्षणको दृष्टिबाट यहाँ कुनै पनि हालतमा महोत्सव आयोजना हुनु राम्रो होइन भन्नुहुन्छ । निकुञ्जका प्रमुख आचार्यका अनुसार महोत्सव हुने स्थान विश्वमा नै दुर्लभ एकसिङे गैँडाको बासस्थान हो । त्यहाँ नजिकै रहेको खगेरी खोला गैँडाको आहाल खेल्ने स्थान छ । पानी खान, चौरमा घाँस खान र घाम ताप्न आउने स्थान भएकाले त्यहीँ महोत्सव आयोजना गर्दा वन्यजन्तुलाई असर पर्दछ ।
महोत्सवपछि निस्कने फोहोरले अझ धेरै असर गर्ने उहाँको भनाइ छ । संरक्षण क्षेत्रमा ठूला आवाज गरेर माइक बजाइने, सांस्कृतिक कार्यक्रम, सवारीसाधनको भीडलगायतले वन्यजन्तुको बासस्थान नै परिवर्तन हुनसक्ने आचार्यले बताउनुभयो ।