‘अन्डरपास’ वन्यजन्तुमैत्री भएन
शालिग्राम नेपाल
चितवन, फागुन १४ गते । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा निर्माण गरिएको अन्डरपास (सडक तलबाट ओहोरदोहोर गर्ने ठाउँ) जनावरमैत्री नहुँदा प्रयोगविहीन अवस्थामा पुगेको छ । पाँच वर्ष अगाडि निर्माण गरिएको अन्डरपासमा न्यून सङ्ख्यामा साना जनावरले वारपार गरेको अध्ययनले देखाएको छ । मुग्लिन–नारायणगढ सडकखण्डको आँपटारी–पानी ट्याङ्की क्षेत्रको घुम्ती र रामनगर–भतेरी जङ्गलमा अन्डरपास निर्माण गरिएको छ । नेपालमा नै पहिलो पटक सडकमुनिबाट वन्यजन्तु आवतजावत गर्न मिल्ने गरी अन्डरपास बनाए पनि ज्यादै न्यून सङ्ख्यामा वन्यजन्तु वारपार गरेको राष्ट्रिय वन्यजन्तु संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले जानकारी दिनुभयो ।
अन्डरपास निर्माणपछि हामीले क्यामरा राखेर अध्ययन गरेका थियौँ, उहाँले भन्नुभयो, साना वन्यजन्तुबाहेक अन्यले वारपार गरेको पाइएन । जुन उद्देश्यले निर्माण गरिएको हो त्योअनुसार जनावरको आवतजावत भएन, प्रमुख लामिछानेले भन्नुभयो, “चित्तल, बँदेललगायतका साना जनावर गएको देखिन्छ, अन्य वन्यजन्तु त्यहाँबाट पार भएका छैनन् । ” एक पटक त्यो अन्डरपास प्रयोग गरेकाले पुनः गरेको पाइएको छैन उहाँले भन्नुभयो ।
कोषका अनुसार चितवनमा मात्रै सडक पार गर्ने क्रममा सवारीसाधनको ठक्करबाट एक वर्षमा एक सय ४६ वटा जनावर मरेका छन् । भारतमा संरक्षित क्षेत्रमा सडक निर्माण गर्दा १० किलोमिटर सडकमा एक किलोमिटर लामो अन्डरपास बनाउनुपर्ने नियम छ तर नेपालमा वन्यजन्तुमैत्री विकास निर्माणमा सम्बन्धित निकायको ध्यान जान नसकेको प्रमुख लामिछाने बताउनुहुन्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले निर्माण भएको अन्डरपास जनावरमैत्री नभए पनि सिकाइका रूपमा लिएको बताउनुभयो । निर्माणको क्रममा हामीले अनुगमन गरेका थियौँ, त्यही समयमा मैले यो साँघुरो र निर्माण गरिएको स्थानसमेत उपयुक्त नभएको जानकारी दिएको थिएँ तर कार्यान्वयन भएन, उहाँले भन्नुभयो, एकातर्फ जङ्गलसम्म स्थान अर्कोतर्फ खाडल छ यस्तो ठाउँबाट जोखिम मोलेर जनावर वारपार गर्दैनन्, कँडेलले भन्नुभयो, “ढुङ्गा थुपारेर तारजाली लगाइएको छ । ”
“उचाइ कम भयो, फराकिलो छैन । यसरी निर्माण गरिएको अन्डरपासबाट एक पटक पार गरेको जनावर पुनः प्रयोग गर्न मान्दैन, मैले यस विषयमा सम्बन्धित पक्षमा जानकारी गराएको छु,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार यस अन्डरपासको चौडाइ मुस्किलले १२ फिट रहेको छ भने उचाइ पनि हात्ती, गैँडाका लागि उपयुक्त छैन । जनावर पार गर्नका लागि पुल निर्माण गरिएझैँ गरी फराकिलो र उच्च हुनुपर्दछ, महानिर्देशक कँडेलले भन्नुभयो । जनावर हिँड्न सहज स्थानमा यस्ता संरचना बनाउनुपर्ने उहाँको भनाइ छ ।
अन्डरपास अहिले फोहोर थुपार्ने क्षेत्र भएको छ । डिभिजन वन कार्यालय भरतपुरका सूचना अधिकारी बालकृष्ण खनालले अन्डरपासलाई फोहोर फाल्ने क्षेत्र बनाइएकोमा आपत्ति जनाउनुभयो । जनावर हिँड्ने ठाउँको निगरानी गर्नु स्थानीय सरकारको दायित्व हो, उहाँले भन्नुभयो । जनावरले प्रयोग गरिरहेको स्थानमा फोहोर फालेपछि जनावर त्यहाँबाट हिँड्न नसक्ने बताउनुभयो । जनावरमैत्री अन्डरपास नभएपछि त्यस क्षेत्रमा चित्तल, हरिण, जरायोलगायतका जनावर सडकबाटै पार गर्न थालेको छ ।
माघको अन्तिम साता आँपटारी क्षेत्रमा सडक पार गर्ने क्रममा एउटा हरिण सवारीसाधनको ठक्करबाट मरेको थियो । वन कार्यालयले दिएको जानकारीअनुसार अन्डरपास जनावरमैत्री भएको भए सडक पार गर्ने क्रममा वन्यजन्तु मर्ने घटनामा कमी आउने थियो । नारायणगढ–बुटवल सडकमा ५० भन्दा बढी अन्डरपास निर्माण गर्ने तयारी छ ।