आहा ! चम्पूजापार्क
बाबुराम शर्मा
चरीकोट, फागुन १५ गते । दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित चम्पूजा उद्यान नगरको आकर्षण केन्द्र बनेको छ । मन्दिर दर्शनका लागि दोलखा पुग्नेहरू पार्कमा गएर त्यसलाई नजिकबाट नियाल्दै, गौरीशङ्कर हिमालको चमक देखेर मुस्कुराउँछन् । शान्त र सुन्दर उद्यानमा रमाउन चाहनेको रोजाइमा परिरहेको छ चम्पूजा पार्क ।
भीमेश्वर मन्दिरबाट केही तल उद्यान छ । सो मन्दिरदेखि पार्कसम्म ओरालो भएकाले खुट्किलासहितको पक्की पैदल बाटो निर्माण गरिएको छ । बाटोमा दुवैतर्फ फलामे रेलिङ (बार) छन् । रेलिङमा लहरै घण्टा झुन्ड्याइएको छ । त्यो बाटो हुँदै गएपछि केहीबेरमै आकर्षक प्रवेशद्वारले पाहुनाको स्वागत गर्छ । त्यहाँको वातावरणको सामीप्य समय बितेको पत्तो हुँदैन ।
पार्कमा फूलबारी, धुपीको रुखले मन फुरुङ्ग पार्छ । बालबालिकाका लागि खेल्न पिङ हालिएको छ । पार्कको बीच भागमा सानो पोखरीको बीच शिवजीको मूर्ति राखिएको छ । शिवजीको टाउकोबाट जल धारो बग्छ । वरिपरि बस्ने ठाउँ निर्माण गरिएको छ । पार्कको अन्तिम बिन्दुमा चट्टान मिलेर बसेको छ । मौसम खुलेको बेला चट्टानमाथि बसेर हेर्दा हिमाल हाँसिरहेको र तामाकोसी नदी बगिरहेको देख्न सकिन्छ । चट्टानमुनि गुफा छ ।
पछिल्लो समय पार्कमा मनोरञ्जन लिनेको सङ्ख्या बढ्न थालेको छ । भीमेश्वर मन्दिर नजिकै रहेकाले मन्दिरका दर्शनार्थी पार्कमा जान थालेपछि चहलपहल बढेको छ । शनिबार पार्कमा भेटिनुभएका स्थानीय सञ्जित तामाङले विशेष गरी बालबालिकाका लागि उद्यान बनाइएको भए पनि यसमा रमाउन आउनेहरू लक्षित समूहबाहेकका भन्दा अन्य समूह धेरै हुने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, गुफासहितको पार्कमा रम्नुको मज्जा छुट्टै हुन्छ । कामको चाप, भीड र कोलाहलबाट निस्किएर केही छिनका लागि घुमेर रमाउन पार्क उपयुक्त थलो बनेको छ । सानु कान्छा श्रेष्ठले भन्नुभयो, “थकान, निराश र दिक्दार अवस्थामा पार्कमा आए हुन्छ । यसको सुन्दरताले मनलाई केहीबेर खुसी बनाउँछ । ”
पार्कमा सुविधा सम्पन्न पिकनिक स्थल, शौचालय, खानेपानी आदिको सुविधा उपलब्ध छ । वडा नम्बर २ का वडाध्यक्ष विराजमान श्रेष्ठले जङ्गल जस्तो स्थलमा पार्क निर्माण गरिएको र थप संरचना निर्माण गरी सुन्दर तथा व्यवस्थित बनाउन प्राथमिकता दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो उद्यान नेवार समुदायको बीचमा रहेकाले पार्कमै नेवारी परिकार बनाएर पाहुनालाई खुवाउने सुविधा थप्ने योजना छ । ”