कर्फ्यूपछि वीरेन्द्रनगर सुनसान, उल्लङ्घन गर्ने दुई पक्राउ
मुना हमाल
सुर्खेत, फागुन १७ गते । वीरेन्द्रनगरमा कर्फ्यू जारी गरिए पछि आज सुनसान छ । सोमबार अमेरिकी विकास सहयोग मिलेनियम चयालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका विरोधमा आह्वान गरेको बन्द अराजक बन्दै गएपछि थप क्षति रोक्न वीरेन्द्रनगरमा हिजो राति ८ः १५ देखि आज साँझ ७ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको थियो ।
पूर्वमा धुलियाविट, पश्चिममा बाङ्गेसिमल, उत्तरतर्फ वीरेन्द्रनगर नगरपालिका- ७ र दक्षिणतर्फ लाटीकोइली शिवमन्दिर हुँदै काँक्रेबिहार, देउतीबज्यै एवं सुब्बाकुना क्षेत्रसम्म कर्फ्यू जारी गरिएको छ । यी क्षेत्रमा सुनसान छ भने चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् ।
जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी पदमलाल लामिछानेले कर्फ्यू उल्लंघन गर्ने दुई जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरीलाई ढुंगा हानेपछि बिहान दुई जनालाई पक्राउ गरिएको छ । हिँडिरहेकालाई नहिँड्न आग्रह गर्दा उनीहरुले प्रहरीलाई ढुंगा हानेपछि पक्राउ गरिएको हो । सबै ठाउँ सुनसान नै छ ।