प्रदेश |

पुल छैन, फड्के तर्दा जान्छ ज्यान

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, फागुन २१ गते । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–३ को विकट गाउँ दिपु र तेगा जोड्ने नेशम खोलामा पुल निर्माण नहुँदा स्थानीयले आवागमनमा समस्या खेप्दै आएका छन् । पुल निर्माण नभएका कारण वर्षायाममा नेशम खोला तर्ने क्रममा स्थानीयको मृत्यु हुने गरेको छ ।
पुलको विकल्पमा खोलामा काठको फड्के हालेर स्थानीय बासिन्दाले ओहोरदोहोर गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक दक्षकुमार बस्नेतले खोलाको फड्के तर्ने क्रममा जुगल गापा–३ की पासाङल्हामु शेर्पा, उहाँकी नौ महिने छोरी डोल्माछिरिङ फड्केबाट खसेर बेपत्ता भएका थिए ।

गत वर्ष सोही खोला तर्ने क्रममा जुगल गाउँपालिका–तेम्बाथान गाउँका ४० वर्षीय छिमिग्याम्जो लामा (टाउके) को बगाएर मृत्यु भएको बस्नेतले बताउनुभयो । जनप्रतिनिधि चुनिएर आएको पाँच वर्ष बित्नै लाग्दासमेत सो खोलामा झोलुङ्गे पुलसमेत बन्न सकेको छैन । गुम्बा गाउँसम्म सडकको ट्र्याक खनिए पनि उक्त सडकको मर्मत, सुधार भएको छैन । गुम्बाबाट दिगु र तेगा गाउँ पुग्ने ट्र्याकसमेत नबनेका कारण भीरैभीरमा गोरेटो बाटोबाट तीन दिन लगाएर दिपु र तेगा पुग्नुपर्ने बाध्यता स्थानीयको छ ।

दिगु र तेगाका बासिन्दाले तीनै तहको सरकारसँग खोलामा पुल निर्माण गर्न माग गर्दा सुनुवाइ नभएको स्थानीय साइँला शेर्पाले बताउनुभयो ।एकीकृत माओवादी केन्द्रका नेता, कार्यकर्ताले चन्दा सङ्कलन गरेर खोलामा तुइन हालिदिएको माओवादी केन्द्रका स्थानीय नेता रेशम स्याङ्बोले जानकारी दिनुभयो । तुइनले स्थानीयलाई आउजाउ गर्न सहजता मिलेको उहाँको भनाइ छ ।