‘रक्षकबाटै मानव अधिकार हनन नहोस्’
मकवानपुर समाचारदाता
हेटौँडा, फागुन २१ गते । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले महिला र पुरुषबीचको विभेद रहेसम्म मानव अधिकार हननका घटना नरोकिने बताउनुभएको छ । उहाँले राजनीतिमा महिलाको पहुँच वृद्धिसँगै मानव अधिकार हननका घटनामा कमी आएको बताउँदै सङ्घीयताको कार्यान्वयनसँगै तीनै तहको सरकारमा महिलाको पहुँच र प्रतिनिधित्व बढेको बताउनुभयो ।राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा शुक्रबारबाट हेटौँडामा सुरु भएको दुई दिने मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले राज्य पक्षबाट हुने दमन र मानव अधिकार हनन हाम्रो नजरमा पर्ने तर घरघरमा हुने विभेद, असमानता र मर्यादाको विषयमा चासो नदेखिने गरेको बताउनुभयो ।
मानव अधिकार मानव जीवनको महत्त्वपूर्ण पक्ष भएको र प्रशान्त महासागरजस्तै गहिरो भएकाले कहाँ गएर टुङ्गिन्छ भन्ने नै थाहा नभएको चर्चा गर्दै उहाँले सञ्चारमाध्यमको पहुँचमा वृद्धिसँगै मानव अधिकार हननका घटनाहरू उजागर हुन थालेको र सञ्चार माध्यमका कारण मानव अधिकार हननका घटना रोक्न सक्ने र राकिएको बताउनुभयो ।मानव अधिकार रक्षकबाट दुरुपयोग भएको छ, पैसा कमाउने माध्यम बनेको छ, कुनै घटना विशेषमा ठेगान लगाउने, तर्साउने र हिसाब देखाउ भन्ने गरिएको छ, उहाँले भन्नुभयो, “दलित हुँ, महिला हुँ भनेर पनि कतिपय ठाउँमा अधिकारको दुरुपयोग भएको छ, गलत भएको ठाउँमा हामीले गलत भएको छ भन्न सक्नुपर्छ ।”
प्रदेश सरकारले शिक्षामा महिला, सीमान्तकृत समुदाय र दलितको पहुँच वृद्धि गर्ने गरी कार्यक्रम ल्याएको बताउँदै उहाँले अझै काठमाडौँ उपत्यकामा बोक्सी र पश्चिममा छाउपडी प्रथा कायमै रहेकाले त्यहाँ मानव अधिकार रक्षकको भूमिका कमजोर रहेको छ भन्नुभयो । पञ्चायतकालमा मानव अधिकार हननको घटना भयो भन्दासमेत जेल गएको स्मरण गर्दै उहाँले मानव अधिकार हननका घटना रोक्न आयोगको भूमिका अझ बढाउनुपर्नेमा जोड दिनुभयो ।आयोगका सदस्य लिली थापाले छाउपडी गोठ भत्काउनेभन्दा चेतना बढाउने महìवपूर्ण विषय भएको बताउँदै प्रदेश सरकारबाट सङ्घीय सरकारले तय गरेका मानव अधिकारसम्बन्धी कार्ययोजना कार्यान्वयनको प्रतिबद्धता आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, आयोगको बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारी, उच्च अदालत पाटन हेटौँडा इजलास बारका अध्यक्ष सुशील पोखरेल, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव कृष्ण सारू र गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष कृष्ण धितालले मानव अधिकारका विभिन्न पक्षका बारेमा धारणा राख्नुभएको थियो । प्रादेशिक सम्मेलनमा बागमती प्रदेशको १३ जिल्लाका मानव अधिकार रक्षकहरूको सहभागिता छ ।