प्रदेश |

सडक विस्तारले मासिँदै लालीगुराँस

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, चैत ३ गते । सिन्धुली जिल्लाको महाभारत क्षेत्रमा राताम्मे फुल्ने लालीगुराँस लोप हुँदै गएको छ । पछिल्लो समय पहाडी क्षेत्रको जङ्गलमा जताततै सडक विस्तारले लालीगुराँस लोप हुँदै जान थालेको छ । स्थानीयका अनुसार फागुनको दोस्रो सातासम्म ढकमक्क फुल्ने लालीगुराँस सिन्धुलीका महाभारत क्षेत्रमा विरलै पाउन थालिएको छ । एक दशक अगाडिसम्म पहाडी क्षेत्रको महाभारतका जङ्गलमा राताम्मे फुल्ने गरेका लालीगुराँस हाल फाट्टफुट्ट मात्र देखिन्छ ।

लालीगुराँसको उचित संरक्षणको अभावमा मासिँदै गएको सुनकोसी गाउँपालिका–७, मझुवा निवासी राजकुमार कार्की बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पछिल्लो समय सडक विस्तार गर्न भन्दै पहाडका डाँडापाखा सबै फोरिन थालेपछि लालीगुराँसको संरक्षण हुन सकेको छैन । ” पछिल्लो समय निर्माण भएका अधिकांश ग्रामीण सडक वन कार्यालयसँग लिनुपर्ने स्वीकृतिसमेत नलिई जथाभावी निर्माण गर्दा गुराँसका रुख नै मासिन थालेको स्थानीयवासीको भनाइ छ ।

सुनकोसी गाउँपालिका–७ का नवराज गोले सडक निर्माण गर्दा नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्न नसक्नु दुःखद भएको बताउनुहुन्छ । “महाभारतका डाँडै ढकमक्क भएर फुल्ने लालीगुराँस सबै सडक निर्माणले गर्दा सखाप भयो” उहाँले भन्नुभयो, “सडक निर्माण गर्दा लालीगुराँसको संरक्षण नगर्ने हो भने अबका केही वर्षमा गुराँसको फूल होइन, बोट पनि देखिँदैन । ”

स्थानीयका अनुसार आढगढी नागी चालिसे सडक विस्तार गर्दा पनि गुराँसको संरक्षण हुन सकेको छैन । सिन्धुलीका गोलञ्जोर गाउँपालिका, तीनपाटन गाउँपालिका र सुनकोसी गाउँपालिकाको महाभारत क्षेत्र लालीगुराँस धेरै हुने स्थानका रूपमा परिचित छन् । योबाहेक घ्याङलेख गाउँपालिका, फिक्कल गाउँपालिकालगायतका स्थानमा गुराँस पाइन्छ । सडक निर्माण गर्दा गुराँसका रुखको जरैसमेत उखेलिने तथा सडक खन्दा निस्किएको ढुङ्गा, माटो जथाभावी फाल्दा लालीगुराँसका बोट मौलाउन नसकेको तीनपाटन गाउँपालिका–६ निवासी डिल्लीप्रसाद अधिकारी बताउनुहुन्छ ।

उसो त सिन्धुलीगढी अवलोकन गर्न पुग्नुभएका काठमाडौँका भीम प्रधान पनि गुराँसको बोट विरलै देखिएको बताउनुहुन्छ । “बीपी राजमार्ग खुल्ने बित्तिकै एक पटक सिन्धुलीगढी आएको थिएँ, त्यतिबेला राताम्मे गुराँस फुलेको देखेर आनन्द महसुस भएको थियो, त्यही सम्झेर आएको, अहिले गुराँसको फूलै पाउन सकिन,” उहाँले भन्नुभयो ।
उहाँले सडक विस्तारसँगै गुराँसमा रोगसमेत आएको हुनसक्ने बताउनुभयो । “सडक विस्तारले गुराँसको क्षति भएको देखिन्छ, त्यसका अलावा बचेका रुखमा पनि नफुलेको देख्दा गुराँसमा कुनै रोग आयो कि भन्ने लाग्छ,” उहाँले थप्नुभयो ।