स्थानीय तहको चुनावी सरगर्मी बढ्दै
काभ्रे समाचारदाता
काभ्रे, चैत ८ गते । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएसँगै काभ्रेका राजनीतिक दलहरू गाउँ केन्द्रित भएका छन् । स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दल गाउँ केन्द्रित भएका हुन् ।
काभ्रेका सबै वडामा सङ्गठन विस्तार, भेटघाट, प्रशिक्षण, टोल समिति गठनलगायतका कार्यक्रमलाई दलहरूले अगाडि बढाएका छन् । २०७४ सालको सङ्घ र प्रदेश सभाको निर्वाचनमा पराजय भोगेको काँग्रेस आगामी स्थानीय तहको निर्वाचनमा पराजयको बदला लिने सोचका साथ सङ्गठन सुदृढीकरण अभियानमा रहेको छ ।
काभ्रे काँग्रेसका जिल्ला सभापति तीर्थ लामाले जिल्लाका सबै तहमा सङ्गठन सुदृढीकरणको अभियान सञ्चालन गरिरहेको बताउनुहुन्छ । कम्युनिस्ट पार्टीको फुटपछि उत्साहित देखिएको काँग्रेसले स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजय गराउनका लागि एक सय ३५ वटै वडामा प्रतिनिधि खटाएको छ ।काँग्रेसका जिल्ला सचिव गुणराज मुक्तानले टोल समितिको संयोजनमा टोल संवाद कार्यक्रम सञ्चालन गर्ने, टोल संवादमा टोलटोलको विकासबारे छलफल, मतदाताको अवस्था विश्लेषण र अनुशिक्षण लगायतमा छलफल हुने जानकारी दिनुभयो ।
त्यस्तै एमालेले कार्यकर्ता भेटघाट, टोल समिति गठन, कार्यकर्ता प्रशिक्षणलगायतका कार्यक्रम वडा स्तरसम्मै पु-याएको जनाएको छ । माओवादी केन्द्र काभ्रेले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर १३ वटै पालिका स्तरीय इन्चार्ज तोकेर कार्यक्रम गाउँसम्म पु-याएको जनाएको छ । नेकपा एकीकृत (समाजवादी) काभ्रेले सबै वडामा सङ्गठन विस्तारलाई अगाडि बढाएको जनाएको छ । राप्रपालगायतका दलले पनि भेलाका कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिएका छन् । २०७४ को स्थानीय निर्वाचनमा १३ पालिकामध्ये एमालेले पाँच नगरपालिका र दुई गाउँपालिका जितेको थियो । त्यस्तै काँग्रेसले एक नगरपालिका र तीन गाउँपालिका र माओवादी केन्द्रले दुई गाउँपालिका जितेको थियो । एमाले फुटेर बनेको नेकपा एकीकृत (समाजवादी) मा काभ्रेको एक नगरपालिका प्रमुख, एक उपप्रमुख र एक गाउँपालिका उपाध्यक्षसहित एक दर्जनभन्दा बढी जनप्रतिनिधि छन् ।
एमाले र काँग्रेस चुनावी प्रचारमा
चितवन समाचारदाता शालिग्राम नेपालका अनुसार चितवनमा दुई ठूला राजनीतिक दलले स्थानीय निर्वाचन केन्द्रित अभियान तीव्र बनाएका छन् । सरकारको नेतृत्व गरेको नेपाली काँग्रेस र प्रतिपक्षमा रहेको नेकपा एमालेले निर्वाचन केन्द्रित घरदैलो र सभा सम्मेलनमार्फत पार्टीका एजेन्डा जनतामाझ लैजान थालेका छन् । काँग्रेस चितवनका सभापति राजेश्वर खनालले भन्नुभयो, “घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान चलाएका छौँ । हामी जनताको घरमा विभिन्न माध्यमबाट गएका छौँ । सरकारले गरेका कामको जानकारी गराएका छौँ। ”
उता जिल्लाका हरेक पालिकाका वडामा बिहानैदेखि घरदैलो कार्यक्रमलाई तीव्रता दिइएको एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज देवी ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो नेतृत्वमा भएको सरकारले गरेका राम्रा काम जनताले सम्झेका छन् । वृद्धभत्ता, स्वास्थ्य बीमा, आर्थिक वृद्धिद्धर, राष्ट्रियताको विषयमा चट्टानी अडानलाई जनताले भुलेका छैनन् । ”
एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानले निर्वाचनका विषयमा जानकारी दिने गरी प्रशिक्षण कार्यक्रम, सबै भ्रातृ सङ्गठनले निर्वाचन केन्द्रित कार्य गर्न निर्देशन दिएको र गतिविधि भइरहेको बताउनुभयो ।