बाँदर धपाइदिनेलाई मात्र भोट
बाबुराम शर्मा
चरीकोट, चैत १९ गते । बाँदरबाट आतङ्कित बनेका दोलखाको भीमेश्वर नगरपालिका–४, जिलुवासीले बाँदर धपाइदिने दललाई मात्र यसपालिको भोट दिने भएका छन् । बाँदरका सबै समस्या सदाका लागि न्यूनीकरण गर्ने घोषणापत्र लिएर आउने दललाई मात्र भोट दिने गाउँको सहमति भएको पीडित चन्द्रकुमारी बुढाथोकीले बताउनुभयो ।
उहाँका अनुसार आफ्नो भएको थोरै जग्गामा लगाएको अन्नबाली पनि बाँदरको हुल आएर नष्ट पार्ने समस्याले भोको हुनुपर्ने चिन्ता बढेको छ । बारीमा लगाएको अन्नबाली भिœयाउन पाइँदैन । बाँदरबाट बाली जोगाउन मुस्किल पर्छ । दिनहुँ हेरनलो बस्दा अरू काम गर्न पाइँदैन । निकै समस्या परेको छ । त्यो किरिया घरमा आउँछ र भातको कसौँडी नै लिएर जान्छ । भात खाएर कसौँडी छोडेर हिँड्छ । पहिला मकै खाने गरेको बाँदरले अहिले आलु, केराउ, बकुल्ला, प्याज, लसुनसमेत बाँकी राख्दैन, पीडित भन्छन् ।
बुढाथोकीले भन्नुभयो, “हाम्रो नजिकको सरकारले पनि केही गर्न सकेको छैन । बाँदर भाग्ने भन्दै नगरपालिकाले बन्दुक जस्तो मेसिन दिए पनि सधैँका लागि दुःख हटेन ।
उहाँले भन्नुभयो, बन्दुक जस्तो मेसिन वडावासी सबैका निम्ति भन्दै नगरपालिकाले दिएको थियो । पहिले–पहिले त्यो मेसिन पड्काएको ठूलो आवाज सुनेर बाँदर भाग्थ्यो । तर अहिले त बाँदर चलाख भएको हो कि क्या हो भाग्नै छाड्यो ।स्थानीय सरकारले पन्छिने मात्र काम ग¥यो । अर्का पीडित उमेश घतानीले भन्नुभयो, अब अहिलेका जनप्रतिनिधिको कार्यकाल सकिन लागेको र नयाँ जनप्रतिनिधि चुन्ने बेला आएको छ ।
जल्लोबल्दो समस्या बनेको बाँदर हटाइदिने जनप्रतिनिधि चुन्ने हो । जसले बाँदर भगाउने बाचा गर्छ, उसैलाई भोट दिने हो । यो एक जनाको मात्र समस्या होइन पूरै गाउँको समस्या हो । गाउँ पूरै एक हुन्छौँ । यहाँ पाँच वर्षअघिसम्म बाँदरको समस्या थिएन । त्यतिबेला निकै कम सङ्ख्यामा बाँदर थियो, जङ्गलमै रम्थ्यो । अहिले बाँदरको सङ्ख्या ह्वात्तै बढेको छ । बर्सेनि बढ्दै जाँदा किसानलाई हैरानी पनि बढ्दो छ । अन्यत्र जिल्लाबाट बाँदर ल्याएर छाडिदिएको भन्ने किसानको आरोप छ ।
डिभिजन वन कार्यालय दोलखाले भने त्यस्तो नभएको जनाएको छ । वनका कर्मचारी भन्छन्, जङ्गली जनावर जङ्गलमै हुनुपर्ने हो । मानव बस्तीमा छिरेर हानी गर्ने समस्या विकराल बनेको छ । जङ्गली जनावरको बासस्थान वन हो, मानवले बासस्थानमा क्षति गरिदिँदा मानव र वन्यजन्तुको बीच द्वन्द्व बढेको ठम्याइ छ । वनजङ्गलमा मानवीय क्रियाकलाप तीव्र रूपमा बढ्दा वन्यजन्तुको बासस्थान गुमेको र आहारा पाउन छाडेपछि वन खोज्दै अन्यत्र गएको र केही भने मानव बस्तीमा छिरेको हो ।