प्रदेश |

भूमिहीनलाई जग्गाधनी बनाउन सुरू

सिन्धुली समाचारदाता

दुधौली (सिन्धुली), चैत २१ गते । राष्ट्रिय भूमि आयोगले सिन्धुली जिल्लाको दुधौली नगरपालिकाबाट देशमै पहिलो पटक भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ । दुधौली नगरपालिका–९, दोकानडाँडामा आइतबार आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले एक सयवटा मुसहर परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले देशमै पहिलो पटक सिन्धुली जिल्लाबाट राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण सुरु गरेको बताउनुभयो । उहाँले सिङ्गो देश नै भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने अभियानमा जुटेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आगामी एक वर्षभित्र गाउँ ब्लकको जग्गा नाप्ने र पुर्जा पनि वितरण गरिनेछ । अहिले सिन्धुली जिल्लाबाट सुरु भएको छ । ”वर्तमान गठबन्धन सरकारको पहिलो प्राथमिकता भनेको संविधान रक्षा गर्नु हो । संविधानले दिएको अधिकार स्वरूप भूमिहीन मुसहर बस्तीका बासिन्दाले जग्गाधनी पुर्जा प्राप्त गरेका हुन्, उहाँले बताउनुभयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, “भूभिहीन दलित र भूमिहीन सुकुम्बासी कोही पनि जग्गाधनी पुर्जा पाउन छुट्न हुँदैन । दोहोरिनु हुँदैन । ”राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगले पहिलो प्राथमिकता दिएर भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण सुरु गरेको बताउनुभयो ।

राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष महेन्द्र खड्काले अहिलेको राष्ट्रिय भूमि आयोग अन्तिम आयोग भएको र अहिले दिएको जग्गाधनी पुर्जाको जग्गा १० वर्षसम्म बिक्री गर्न नपाइने बताउनुभयो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पहिले र अहिलेको आयोगको काममा धेरै फरक आएको र आयोगको कार्यविधिमा केही कमीकमजोरी पाएमा आगामी दिनमा सच्याइने बताउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लेखनाथ दाहाल राजन र राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीका अध्यक्ष रामकुमार पौडेलले सिन्धुली जिल्लामा आयोग गठन भएको चार महिनामै उदाहरणीय काम गर्न सफल भएको बताउनुभयो । दुधौली नगरपालिकाका वडा नं. ६, ७ र ९ का दलित मुसहर परिवारले वर्षौंदेखि उपभोग गर्दै आएको अधिकतम पाँच कट््ठासम्म जग्गाको लालपुर्जा प्रदान गरिएको हो ।

दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घीय सांसद गणेश पहाडी, बागमती प्रदेशका प्रदेश सभाका सदस्य प्रदीप कटुवाल, पूर्व सांसद गङ्गा नेपाल र नेपाली काँग्रेसका नेता गोविन्द पहाडीले बोल्नुभएको थियो ।