खेलाडीको ‘टिकटक’
राजु सिलवाल
विक्रम संवत् २०४० मा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुदमा लोकनृत्य तथा लोकगीतलाई र २०४२ सालमा वीरगन्जमा आयोजित तेस्रो राष्ट्रिय खेलकुदमा दोहोरी गीतलाई पनि प्रतियोगितामा समावेश गरिएको थियो । त्यतिखेर खेलकुदको माहोल पनि सङ्गीतमय हुन्थ्यो । भारतको कोलकातामा सन् १९८७ मा आयोजित तेस्रो दक्षिण एसियाली खेलकुदमा नेपाली खेलाडीको हौसला बढाउन कलाकारको टोली नै लगिएको थियो । त्यसपछिका राष्ट्रिय खेलकुद प्रतियोगितामा नृत्य तथा गीतका प्रतियोगिता राखिएनन् । यो कुरो उठाउनुको तात्पर्य यतिखेर कोरोना महामारीका कारण खेल गतिविधि त ठप्प छन् तर नेपाली खेलाडी भने गीत तथा नृत्यमा रमाइरहेका छन् ।
सोचेझैँ जिन्दगी रै’नछ
सामाजिक सञ्जाल टिकटकमा हिजोआज यो बोलको गीत निकै चलेको छ । युवामात्र होइन, वृद्धवृद्धा पनि नाचेको भिडियो टिकटकमा हेर्न पाउँछौँ । यसैक्रममा महिला फुटबल खेलाडी साबित्रा भण्डारीले यही गीतमा नृत्य गरेर टिकटकमा ‘अपलोड’ गर्नुभएको छ । उहाँ नेपाली महिला फुटबल खेलाडीमा सबैभन्दा बढी गोल गर्ने र भारतमा पनि व्यावसायिक खेल खेलिसकेकी खेलाडी हुनुहुन्छ । यसैगरी, साम्बा उपनामबाट पनि परिचित साबित्राकै सहकर्मी नेपाली महिला फुटबल राष्ट्रिय टिमकी गोलकिपर अञ्जली तुम्बापोको नृत्य पनि टिकटकमा हेर्न पाइन्छ । अझ उहाँले गरेको शारीरिक अभ्यासको भिडियो सिकारुका लागि उपयोगी हुन सक्ने देखिएको छ । यस्तै सन् २०१६ मा ब्राजिलको रियो दि जेनिरियोमा आयोजित ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी जुडो खेलाडी फुपुल्हामु खत्री टिकटकमा धेरै नृत्य अपलोड गर्ने नेपाली खेलाडीहरूमा पर्नुहुन्छ । उहाँले पनि विभिन्न समयमा गरेको शारीरिक अभ्यासको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्नुभएको छ । अनि नेपाली राष्ट्रिय फुटबल टिमको नेतृत्व सम्हालिसकेका हरि खड्काको नृत्य पनि यो बेला चर्चित रह्यो । उहाँले एउटा टेलिभिजनको ‘रियालिटी शो’का लागि यो नृत्य गर्नुभएको थियो ।
खेलाडी गायक
नेपाली खेलाडीमध्ये सन्दीप लामिछाने सर्वाधिक महँगो खेलाडी हुनुहुन्छ । हाल ट्रिनिडाड एन्ड टोबागोमा जमैकाको तर्फबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा खेलिरहेका नेपाली युवा क्रिकेटर सन्दीप ९० हजार अमेरिकी डलरमा अनुबन्धित हुनुभएको हो । सीपीएलमा पहिलोपटक पाँच हजार र दोस्रोपटक ७० हजार डलरमा उहाँ अनुबन्धित हुनुभएको थियो । यति महँगा खेलाडी सन्दीपकोे साङ्गीतिक मोह पनि अचम्मैलाग्दो छ । कोरोनाको सङ्क्रमणका बेला उहाँ विदेश भ्रमणको तयारी गर्दै हुनुहुन्थ्यो । यही बेला उहाँले नयाँ गीत रेकर्ड गराउनुभयो । ‘हराए म’ शीर्षकको उहाँको गीत युट्युबमार्फत सार्वजनिक पनि भइसकेको छ । कोरोना महामारी फैलिसकेपछि आज फेरि, तिमी नै छौ र समर्पित शीर्षकका तीनवटा गीत पनि सन्दीपले रेकर्ड गराउनुभयो । उहाँ गीत लेखन, गायन तथा सङ्गीत तीनवटै विधामा रुचि राख्नुहुन्छ । क्रिकेटको बलमा चमत्कार देखाएजस्तै गितार बजाउन पनि उहाँ सिपालु हुनुहुन्छ । यस्तै बन्दाबन्दीकै बेला सामाजिक सञ्जालमा आफूले गाएका गीत ‘अपलोड’ गरेर टेबुलटेनिसका राष्ट्रिय खेलाडी पुरुषोत्तम बज्राचार्यले कुशल गायकको परिचय दिनुभएको छ । नेपाली र नेपाल भाषाका गीत गाउने बज्राचार्य पनि गितार बजाउन सिपालु हुनुहुन्छ ।
पाका खेलाडीको सक्रियता
जर्मनीको म्युनिखमा सन् १९७२ मा आयोजित ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका म्याराथुन धावक जितबहादुर केसीले कोरोना सङ्क्रमण बढ्दै गएपछि बिहान दौडन छाड्नुभयो । फिलिपिन्सको मनिलामा एसियन ‘ट्र्याक एन्ड फिल्ड’ च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरी नेपालमा पहिलो अन्तर्राष्ट्रिय पदक भिœयाउन सफल केसीको जिम्मामा दशरथ रङ्गशाला रेखदेख गर्नु पनि रहेको छ । यसका लागि हरेक तीन दिनमा आफू रङ्गशाला आउने गरेको उहाँले बताउनुभयो । घरबाट बिहानै रङ्गशाला दौडेर आउनेहरूमा दक्षिण एसियाली खेलकुदमा म्याराथुन दौडमा स्वर्ण पदक विजेता वैकुण्ठ मानन्धर पनि पर्नुहुन्छ । उहाँ मुटुरोगी हुनुहुन्छ । यसैगरी, कोरोनासम्बन्धी चेतना अभिवृद्धिका लागि ज्येष्ठ नागरिकले पाँच किलोमिटर दौड पनि पूरा गर्नुभएको छ । यसमा पाका पूर्वधावकहरू सहभागी हुनुभयो । खेलकुदमा लामो समय आबद्ध रहनुभएका ८५ वर्षीय डाक्टर खगेन्द्रबहादुर श्रेष्ठले समेत कोरोना सचेतना दौडको यो दूरी पूरा गर्नुभएको थियो । निषेधाज्ञा जारी भएपछि भने अहिले सबैतिर बन्द छ ।
भदौ ३ गतेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भयो । निषेधाज्ञामा अति आवश्यक कामबाहेक सबै बन्द भए । निषेधाज्ञा जारी हुनुअघि पनि कोरोनाको डरले बिहान पदयात्रामा हिँड्ने मानिस खासै देखिएन । नत्र बिहानीपख टुँडिखेलमा शारीरिक अभ्यासका साथै घुम्न आउने मानिसको भीड नै लाग्ने गथ्र्यो । हाल टुँडिखेलमा धरहरा निर्माणसामग्री राखिएकाले ढोका बन्द गरिएको छ भने पैदल यात्रा गरिने दुबोको चौर घाँसको झाडी बनेको छ । निषेधाज्ञाअघि नेपाली सेनाले बनाएको मिनी रङ्गशालामा एथ्लेटिक्स तथा बास्केटबलजस्ता खेलको अभ्यास गर्ने गरिएको थियो । रङ्गशाला हातामा रहेका विभिन्न हलमा भने खेल अभ्यास गर्न दिइएको थिएन । ब्याडमिन्टन तथा केही मार्सल आर्टसका खेलको अभ्यास भने भइरहेका थियो । लैनचौरस्थित राष्ट्रिय टेबुलटेनिस प्रशिक्षण केन्द्रमा पनि प्रशिक्षण चलिरहेको थियो । सुटिङ तथा बक्सिङजस्ता खेलका पदाधिकारीले प्रशिक्षण खुला गर्न आवेदन दिएको जानकारी राष्ट्रिय खेलकुद परिषद्का प्रवक्ता कुलबहादुर थापाले दिनुभयो । तर, अब निषेधाज्ञामा यो हुने कुरै भएन । निषेधाज्ञा जारी गरिएका जिल्लाका खेलकुद कार्यालय बन्द नै छन् । विभिन्न जिल्लामा कभर्ड हललाई पनि क्वारेन्टाइन बनाइएकाले ती कार्यालय पनि खुल्न सकेका छैनन् ।
क्वारेन्टाइन बन्द
अखिल नेपाल फुटबल सङ्घले सन् २०२२ को फिफा विश्वकप तथा सन् २०२३ को एसियन कप फुटबल प्रतियोगिता (एएफसी) को छनोट खेलमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीका लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा क्वारेन्टाइन बनाएको थियो । यसैक्रममा ३४ जना खेलाडी तथा खेलसम्बन्धी व्यक्तिको पीसीआर परीक्षण गरिएको थियो । तर, आगामी अक्टोबर र नोभेम्बरमा निर्धारित छनोट खेल नै स्थगित भएपछि प्रशिक्षण रोकी क्वारेन्टाइन बन्द गरेर खेलाडीलाई घर पठाइयो । अब ती खेल आगामी सन् २०२१ मा हुने फिफाले जनाएको छ । नेपालले अब दोस्रो चरणको छनोटअन्तर्गत चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग गरी तीनवटा खेल आफ्नै गृहमैदानमा खेल्न बाँकी छ ।
प्रतियोगिता अनिश्चित
कोरोनाको प्रकोप बढदै गएपछि गत चैतदेखि जेठसम्मको अवधिमा विभिन्न खेलका ३७ प्रतियोगिता हुन सकेनन । यस्तै जापानको राजधानी टोकियोमा पूर्वनिर्धारित ओलम्पिकका लागि गरिएको प्रशिक्षण पनि खेर गयो । ओलम्पिक आगामी वर्ष सारिएपछि सुरु गरिएको करातेको प्रशिक्षण पनि महामारी बढ्दै गएपछि स्थगित गरिएको छ । यस अवधिमा वैदेशिक सहभागिता शून्य भयो । अब आगामी फागुनमा लक्ष्य राखिएको नवौँ राष्ट्रिय खेलकुदको भविष्य अझै अनिश्चित छ । नेपालले सन् २०२२ मा आयोजना गर्ने भनिएको १५ वटा खेलको अन्तर्राष्ट्रिय जुनियर च्याम्पियनसिप पनि अन्योलमै छ । तर, महामारीकै बेला भर्चुअल माध्यमबाट भएका कराते, ताइक्वान्डो, बुद्धिचालजस्ता खेलमा नेपाली खेलाडीले सहभागिता जनाए । मुलुकका लागि यस्तो विषम परिस्थितिमा पनि पदक दिलाउनु कम महŒवपूर्ण हुँदैन ।