सहारा वृद्धाश्रम !
लक्ष्मी पण्डित
कार्यालय जाँदा बाटोमा पर्ने मन्दिर नआइपुग्दै शिर झुकाउने बानी परेको थियो । मङ्गलबारको दिन त मन्दिरभित्रै पुगेर दर्शन गर्थें । एक दिन कार्यालय जान ढिलो भइसकेको थियो, बिर्सिएर परै पुगेछु । मन्दिरलाई फर्केरमात्र हेर्न खोजेको थिएँ, एकजना बुवाले हात हल्लाएर मैले चलाएको स्कुटर रोक्न खोज्नुभयो । उमेरले ६० तर पुजारीजस्तो देखिने उहाँको सङ्केतपछि स्कुटर रोकेँ । नजिकै पुगेर ‘हजुर नमस्कार, बुवा’ भनेँ । उहाँले ‘भाग्यमानी’ भन्दै आशीर्वाद दिनुभयो । मैले सोध्न नपाउँदै उहाँले ‘नानी मलाई महाराजगन्ज चोकमा छोडिदिन्छौ कि भनेर रोक्ने आँट गरेँ, नरिसाऊ है बा’ भन्नुभयो । रिसाएर पो के हुन्छ र ! ढिला हुनु त भइसक्यो । तैपनि हाँसेर नै ‘हुन्छ नि बुवा’ भन्दै स्कुटरमा चढाएँ । ‘अलि राम्ररी समाएर बस्नूस् है बुवा, लड्नुहोला’ भन्दै स्कुटर कुदाएँ ।
कार्यालय पुग्न ढिलो भएकाले उहाँलाई कुनै कुरा सोध्ने ध्यान गएन । हातको घडीलाई मात्र पटक–पटक हेरिरहन्थेँ । अचानक मौनतालाई भङ्ग गर्दै ‘नानी सरकारको नुन खाँदी रहिछौ, होइन त बा’ भन्ने उहाँको आवाज गुञ्जियो । एकछिन त म अचम्ममा परेँ । मैले त केही कुरो गरेकै छैन । ‘कसरी जान्नुभयो बुवा ?’ भनेर सोधेँ । उहाँले ‘नानी म त ज्योतिष काम पनि गर्छु नि’ भनेर भन्नुभयो । ‘ए हजुर’ भनेर मैले सही थापेँ । उहाँले फेरि ‘चाँडै नै आमाको वियोग खप्नुपरेको रै’छ नानीले हैन त बा’ भन्नुभयो । म त झन् अचम्ममा परेँ । कसरी सबै कुरो थाहा पाएको होला भन्ने लाग्यो । यत्तिकैमा महाराजगन्ज चोक पनि आइपुग्यो । ‘ल त बुवा चोक आइपुग्यो’ मैले भनेँ । उहाँ ‘लौ बा लौ’ भन्दै ओर्लिएर आफ्नो गन्तव्यतिर लाग्न खोज्नुभयो । जाँदाँजाँदै उहाँले फेरि भन्नुभयो, ‘आफ्नो हात अँगेनोमा नझोसी कमैमात्र खान पाइन्छ है, ग्रह नै यस्तै परेको रहेछ नानीको ।’
यति भनिसकेपछि उहाँको बारेमा केही त सोधौँ भन्ने लाग्यो । ‘ए बुवालाई त अनुहारबाटै धेरै कुरा पो थाहा हुँदोरहेछ । म त थाहा पाउँदिनँ बुवा’ भन्दै ‘बुवाको बसाइ यतै हो’ सोधेँ । ‘हैन नानी चाबहिल बस्छु । एकजना जजमानकहाँ गएर आएको,’ उहाँले भन्नुभयो । उहाँकी श्रीमती बितेको दुई वर्ष भइसकेछ । सन्तान भए पनि उहाँ एक्लै बस्नुहुँदोरहेछ । यसपछि उहाँलाई गाडीमा चढाएर भाडा पनि तिरिदिएर पठाएँ । खुसी हुँदै उहाँले यति धेरै आशीर्वाद दिन थाल्नुभयो कि नसकिँदै ‘हस् बुवा हस्’ भन्दै हतारिएर मचाहिँ कार्यालयतिर हुइँकिएँ ।
हजुरबुवा र हजुरआमालाई किन हुन्छ होला यस्तो ? तोतेबोलीसँगै तातेताते भन्दै डो¥याउने हातलाई बुढेसकालमा थामिदिन किन गाह्रो हुन्छ होला ? हाम्रा हजुरबुवाका पालामा कसरी एउटै घरमा २०÷२५ जना अटाउँथे होलान् । त्यतिखेर मान्छे होइन, माया अटाउँथे । अनि धन होइन, मन अटाउँथे । जिजुबुवासँग खेलेको याद अझै ताजै छ । कत्ति रमाइलो हुन्छ, हजुरआमाबुवा भएको घर । नानीबाबुले राम्रो–राम्रो सस्ंकार सिक्ने हजुरआमाबुवाबाटै त हो नि । हामीले आधुनिकताको नाममा जे सिकाउन खोजे पनि संस्कारित बनाउने त उहाँहरूले नै हो । किन उहाँहरूको मूल्यलाई नबुझेको होला ? तर, आजकाल एकल परिवार नै बढी देखिने यस समाजमा उहाँ त एउटा उदाहरणमात्र हो । दैनिक सुनिने यस्ता कथा अनि दैनिक भोगिने यस्ता जिन्दगी धेरै भेटिन थोलेका छन् ।
आजकालका हरेक सम्बन्धमा देखावटी र आडम्बरीपन धेरै पाइन्छ । यसो हुनुमा सामाजिक सञ्जालको पनि महŒवपूर्ण भूमिका त छ नै । व्यस्त जीवन, खर्च धेरै, दोहोरो संवाद नहुनु, अरूको भावनाको कदर नगर्नु, एकार्काप्रति आदार सम्मान नहुनु र आफ्नो कर्तव्यबोध नहुनुले पनि यस्ता समस्या बढ्दै छ । अझ वृद्धवृद्धाको गुनासो बढ्दै जानुले वृद्धाश्रमको मागलाई पनि बढाएको छ । आखिर दोष कसको त ? बेलैमा समाधान ननिकालिए यसले भयावह रूप लिने पो हो कि ! आधा सन्तान विदेशमा आधा नेपालमा हुन्छन् । को बनिदिने त बुढेसकालको सहारा ? एक्लै बस्ने त एक्लै हुने नै भए । साथमा बस्ने आमाबुवालाई पनि परिवारको साथ र आफ्नोपन नभएको आभास भएको छ ।
एक दिन लगभग ७० वर्षकी आमा आउनुभयो र भन्नुभयो, ‘अलि–अलि पैसा छ नानी बढी ब्याज आउने खाता खोलेर राखिदेऊ न है ।’ ‘आमाको कोही हुनुहुन्न,’ मैले सोधेँ । उहाँले ‘छन् तर छोरीचाहिँ छैन । यो पैसाबारे अरूलाई नभन्ने,’ भन्नुभयो । यहाँभन्दा अरू उहाँ बोल्नुभएन । अचम्म त चिन्नु न जान्नुको मलाई यसबारे भन्नेले घरकै छोराबुहारीलाई किन नभनेको होला । खाइदिन्छन् भन्ने डरले हो कि ? बुहारीलाई नभने पनि छोरालाई त भन्न सकिन्थ्यो नि । छोरामाथिको विश्वास, भरोसा पनि समाप्त भयो, किन होला ?
तिम्रो माया उनान्सय मेरो माया सय भनेजस्तै हामीहरू अरूको मात्र दोष देख्छौँ । आफ्नो देख्दैनौँ । घरपरिवारमा सामन्जस्य कायम गर्न प्रत्येक सदस्यको केही त्याग, समर्पण र भूमिका रहनुपर्छ । पहिलो कर्तव्य त छोराकै हो । छोराले पो आफ्नो आमाबुवालाई कसरी राख्ने भन्ने कुरो तय गर्नुपर्छ । बुहारीले त छोराको निर्णयलाई समर्थन र सहयोग गर्ने हो । आफ्नो आमाबुवाका लागि गर्न खोज्दा रोकतोक गर्छिन्, अवरोध गर्छिन् भने छोराले जवाफ दिन सक्नुपर्छ । यदि छोरा नालायक होइन भने । अर्को तीतोसत्य यो पनि हो कि कसैकी छोरी, बुहारी बनेपछि हामी बुहारीकै व्यवहार देखाउन थाल्छौँ । आफ्नो आमाबुवाको जन्मदिनका लागि रेस्टुरेन्ट बुक गर्न, केक मगाउन, फेसबुकमा स्टाटस लेख्न जाँगर चलाउँछौँ । तर, सासूससुराका लागि दुई शब्द पनि मीठो बोल्दैनौँ । प्रत्येक बुहारी सासूससुराको भरपर्दो सहारा बनिदिने हो भने प्रत्येक घरको छोरीको चिन्ता सायद समाप्त हुने थियो । फेरि कसैकी छोरी आफैँमा नराम्री हुँदिन । आफ्नोअनुकूलको बुहारी आफैँले बनाउने हो । भ्याइ–नभ्याई, माया–दया, सम्मान–कर्तव्य जे सम्झेर गरेको किन नहोस्, त्यसलाई जस दिने बानी बसाल्नुपर्छ । गल्तीलाई गल्ती नै भन्नुपर्छ । उनान्सय काम राम्रो गर्नेलाई एक काम बिगार्दा गाली गर्नुहुँदैन । आफ्नो हातखुट्टा चल्दाकै बखतमा बुहारीलाई अनुकूल बनाउने प्रयत्न गर्नुपर्छ । अशक्त भएपछि मात्र बुहारीलाई ‘गरिनँ’ भनेर दोष नलगाऊँ ।
वास्तवमा हामीले आमाबुवाका भावना र आत्मसम्मानलाई कदर गर्न बिस्तारै भुल्दै जान थालेका छौँ । धन नभएर हो कि, मन नभएर हो कि, ठाउँ नपुगेर हो, के नभएर हो पालैपालो छोराहरूसँग आमाबुवा बस्ने गरेकोे सुनिन्छ । कसैको सम्पत्ति एकलौटी गरेपछि मात्र बसाइको ठेगान भएको सुनिन्छ । यस्ता कथा र व्यथा धेरै सुनिन्छन् । मात्र पात्र र परिवेश फरक–फरक । अहिलेको समयमा परिवारमा खानाभन्दा पनि माया र ममताको आवश्यकता छ । आजकालका बुहारीहरू पूर्ण त हुन्नन नै । बुहारीमा पनि धेरै कमीकमजोरी हुन सक्छन् । अझ त्यसमाथि जागिरे बुहारी । बिहानदेखि बेलुकासम्म कामको चाप हुन्छ । परिवारले रामै्र कुरा बोलिरहँदा पनि दिमागमा घुसिरहेको हुन्न, अनावश्यकजस्तो लाग्छ, रिस उठ्छ, चित्त बुभ्mदैन, सवाल–जवाफ त हुन्छ । तर, यसको मतलब यो होइन कि परिवारमा मान्नुपर्नेलाई सम्मान गर्दैनन्, भनेको टेर्दैनन् । हो, नाजायज कुरामा सवाल गर्छन् । अनि जायज कुरालाई शिरोधार्य पनि गर्छन् । बुहारीका कतिपय कुरा ठीक पनि हुन सक्छन् । मनस्थिति अनि परिस्थितिअनुसार बुझिदिनु पनि पर्छ । घरपरिवारलाई खुसी राख्न छोराहरूले पनि एउटा संस्कार बसाल्नुपर्छ । श्रीमतीसँगको व्यवहार र सम्बन्ध कस्तो राख्नुपर्ने ? अनि आमाबुवालाई कस्तो व्यवहार र सम्बन्धमा राख्ने ? छोराले नै आमाबुवाको मनस्थिति बुझेर त्यस्तै व्यवहार गर्न र गराउन सक्नुपर्छ । आखिर आफ्नो छोराले नै छामेको हुन्छ नि आमाबुवाको मन र तन सबै । हिजो आएको बुहारीलाई के थाहा हुन्छ र ! अपुरो थाहा पाएर काम गर्दा पूर्ण हुन्न पनि । गफ गर्न फुर्सद नभए कम्तीमा दिनको एकपटक मुख देखाएर घरबाट निस्किदिने, मिलेसम्म खाना सँगै खाने, सन्चो–बिसन्चो सोधिदिने, कहिलेकाहीँ फुर्सद भए पहिलेका कुरा सोध्ने र चाख दिएर सुन्ने, ती कुरा अनुभवले खारिएका प्रेरणदायी, रोचक अनि ज्ञानवद्र्धक हुन्छन् नै । हामीमध्ये कतिपयले विचार गरेका छौँ कि छैनौँ आमाबुवाको पुराना कुरा जति खोतल्दै गयो उति उहाँहरूको अनुहार तेजिलो बन्दै जान्छ र हौसिएर आफ्ना कुरा सुनाउनुहुन्छ । त्यसैले उहाँहरूलाई खुसी बनाउन फेसबुकमा फोटो र स्टाटसमात्र राख्ने होइन, उहाँहरूको मनका सुखदुःखका पोया फुकाउने कोसिस गर्नुपर्छ । फेसबुकमा हजारौँ कमेन्ट, लाइक आएर केही हुन्न । सर्वप्रथम त आमाबुवाबाट आशीर्वाद पाउनुपर्छ । लाइक, कमेन्ट उहाँहरूकै पाउनुपर्छ ।
एक दिन पशुपति वृद्धाश्रममा खानेकुरा खुवाउने कार्यक्रम छ भनेर फोनमार्पmत साथीको निम्तो आयो । २०६२ सालमा नेपाल बैङ्कमा प्रवेश गरेका सयजनाको ग्रुपलाई ‘स्मार्ट ग्रुप २०६२’ नाम राखेर मासिक पाँच सय रुपियाँ जम्मा गर्दै आएका छौँ । अहिले हामी बैङ्कभित्र ५६ जना भए पनि सकभर सबैलाई समेट्ने र यस्तै सामाजिक कार्यमा लगाउने उद्देश्य छ । यही उद्देश्यअन्तर्गत वृद्धाश्रममा यो कार्यक्रम राखिएको हो । समयमा म पनि पुगेँ । खाना तयार भइसकेछ । एकछिन सरसफाइ गरिदिएर, काखकाखमा तौलिया राखिदिएर खाना पस्कन सुरु ग¥यौँ । ‘जय होस्, जय होस्’ आवाज गुञ्जँदै थियो । सक्ने वृद्धवृद्धा खाँदै हुनुहुन्थ्यो । नसक्नेलाई खान मद्दत गरिरहेका थियौँ । यत्तिकैमा मेरो आँखा एउटा अशक्त वृद्धमा गयो । आफैँले खान अप्ठ्यारो भइरहेको थियो । टाउकोमा बेरिएको फेटाले आधा मुख छोपिएको थियो । खाने बेलामा निकालेर खानुस् बुवा भन्दै निकालिदिएँ । उहाँको हात समाएर खुवाउन लागेको थिएँ, त्यो हँसिलो अनुहार त मैले चिनिहालेँ । मोतीबिन्दुले खाइसकेका आँखाले उहाँले मलाई चिन्नुभएन । न मेरो आँखाबाट झरेको आँसु नै देख्नुभयो । न बुवा भन्दा सुन्नुभयो । मलाई मुरीमुरी आशीर्वाद दिएर जाने उहाँलाई आशीर्वाद दिने कोही भएनछ । अरूको भविष्य हेर्दाहेर्दै आफ्नो भविष्य हेर्न बिर्सनुभएछ कि, बेलैमा ग्रहदशाको पूजा लगाउन भ्याउनुभएन कि थाहा छैन । तर, उहाँको बुढेसकालको सहारा त वृद्धाश्रम भइसकेछ ।