‘एलाक’ आन्दोलन
त्रिभुवनचन्द्र वाग्ले
काव्यको लामो इतिहासमा धेरै प्रयोग भएका छन् । भाषा, शैली, विषयवस्तु, सर्जकमा भएका नयाँ प्रयोगसँगै कविता लेखनको वर्तमान आधारभूमि बनेको छ । विगतको शैली आज छैन । धार्मिक दर्शन विस्तारका लागि लेखिएका काव्य वर्तमानसम्म आइपुग्दा माया, प्रेम, मानवीय भोगाइ प्रस्तुत गर्ने कविता भएका छन् । श्रुतिहरू एक प्रकारले काव्य÷कविता थिए । स्मृतिहरू काव्य अर्थात् कविता थिए । त्यसैले त्यस जमानामा काव्य कविले नभएर ‘भगवान्’ ले लेख्थे । प्रा.डा. कुमार कोइराला भन्नुहुन्छ– ‘लेख्ने काम भगवानले गर्थे । त्यसको विरासत कविसम्म आइपुगेकाले प्रत्येक कविमा देवत्व अर्थात् सत्य, निष्ठा, सुन्दर अभिव्यक्ति र समाज हितको हेतु रहनुपर्छ ।’ प्रा.डा.कोइरालासँग सहमत हुने हो भने कवि हुनु अति कष्टकर साधना गर्नु पनि हो । कवि तुलसी दिवस भन्नुहुन्छ– ‘सत्यमा नअड्ने व्यक्ति कवि हुँदैन’, उहाँ थप्नुहुन्छ– ‘दारु खाएर सडकको नालामा सुत्नेले समाजलाई असल कार्यार्थ अर्ती दिन पाउँदैन ।’ लोकहितका लागि साहित्य लेखिनुपर्ने उहाँको सङ्केत हो । भगवान्ले लेख्ने काम मान्छेले लेख्न थालेपछि नयाँ प्रयोग हुने नै भयो । मानिसमा पनि लेख्ने, पढ्ने एउटा वर्ग थियो । आज त्यो काम समाजका भिन्न वर्गमा पनि पुगेको छ । त्यसैले लेखनमा त्यो वर्गको चरित्र, प्रवृत्ति मुखरित हुन थालेका छन् । यही सन्दर्भमा अभिव्यक्तिलाई निःसृत गर्ने शैलीमा, भाषामा, भावमा, वर्गमा नयाँनयाँ प्रयोग भएका छन् र साहित्य लेखन अझ फराकिलो हुँदैछ । साहित्य अति फराकिलो फाँट भएकाले यहाँ नयाँनयाँ पात्र, प्रवृत्ति तथा प्रयोग अटाउँछन् । यस्तै साधनाका साथ सत्यमा अडेर गरिने कुनै पनि प्रयोगले साहित्यलाई पछि धकेल्नेछैन अगाडि नै बढाउनेछ । यस्तै एउटा थप प्रयोग नेपाली कवितामा भएको चार दशक हुन लागे पनि त्यसमाथि आवश्यक दृष्टि पुगेको छैन ।
नेपाली कविताको इतिहासमा एलाक नयाँ प्रयोग हो । एलाक अर्थात् ‘एक लाइने कविता ।’ एक लाइनमा कविता लेखिन्छ कि लेखिँदैन ? विद्वान्हरूबीच बहस हुुनसक्छ । साधारण लेखक तथा पाठकले यति सोध्न सक्छ ‘एकलाइने कविताले मानिसको अभिव्यक्ति र अनुभव व्यक्त गर्न सक्छ कि सक्दैन ?’ सक्छ भने विद्वान् क्रोचेसँग सहमत हुँदै भन्नुपर्छ ‘मानसिक–अभिव्यक्ति कला नै कविता हो ।’ यस अर्थमा एकलाइने सौन्दर्यपूर्ण अभिव्यक्ति कविता हुन सक्छ । ‘अभीष्ट अर्थ व्यक्त गर्ने पदावली काव्य हो’ भन्ने दण्डी बाँचिरहेका भए एकलाइने कविताबारे सम्भवतः उनले अझ बढी स्पष्ट गरिदिन्थे ।
नेपाली कविता लेखनयात्रामा महाकाव्यजस्तो बृहत् र मुक्तक, हाइकुजस्ता साना पनि छन् । लेखनयात्रामा यहाँसम्म आइपुग्दा नयाँनयाँ प्रयोग गरिएको छ भन्दै कविताको सूक्ष्मरूप ‘एलाक’लाई थप अर्को प्रयोग भन्नुहुन्छ एलाकका प्रवर्तक कवि डम्बर पहाडी । साथै वर्तमान युगमा महाकाव्य, लामा कविता वा अन्य लामा आख्यान पढ्ने, सुन्ने फुर्सद गुमाउँदै गएका मानिसका लागि एलाक साहित्यिक क्याप्सुल हुने थप विचार व्यक्त गर्नुहुन्छ कवि पहाडी । एकलाइने कविताका प्रवर्तक त्रय डम्बर पहाडी (इलाम), होम भट्टराई (पाँचथर) शिशिर खरेल (झापा) हुनुहुन्छ । विक्रम संवत् ४० को दशकमा सुन्दर हरियाली नगरी इलाम–२ को एउटा सानो कोठामा भएको छलफलपछि उहाँहरू तीनैजना एलाकको प्रयोगमा लाग्नुभयो । ‘एक लाइनमा पूर्णविराम भित्र कविताको केन्द्रीय भाव एकैचोटि झ्वाम्म भन्नु नै एकलाइने कविताको आधार तय गरियो ।’ आन्दोलनका सुरुवाती दिन सम्झनुहुन्छ कवि पहाडी ।
स्थापित सिद्धान्तअनुसार कवितामा शीर्षक, केन्द्रीय भाव, विचार, सन्देश वा भाव विचार, संरचना, कथन शैली÷पद्धति, विम्ब र भाषाजस्ता तत्व रहनु आवश्यक हुन्छ । एलाकमा माथिका सबै तत्व पाइन्छ । यसको भाव आक्रामक हुन्छ, तीरजस्तो तीखो । विम्ब र प्रतीक जीवन्त हुन्छन् चेतनाजस्तो । संरचना सानोमा सुन्दर, आँखाको नानीजस्तो । तसर्थ एलाकलाई कविता लेखनको नयाँ प्रयोग भन्न अस्वीकार गर्नुपर्ने कारण छैन । केन्द्रीयताको साटो विविधता, निर्माणको साटो विनिर्माण र स्थापनाको साटो पुनर्निर्माणलाई आत्मबोध गर्न सकियो भने एलाकलाई अस्वीकार गर्न सकिँदैन । कवि पहाडी आन्दोलनका प्रथम प्रहर सम्झँदै भन्नुहुन्छ– ‘सुरुका दिन यसको सैद्धान्तिक पक्ष तय गरिएन, संरचना पनि खुकुलो राखियो तर विभिन्न कविगोष्ठीमा एलाक प्रस्तुत गरिँदै आयो । कसैले पानाभरि एकैलाइनका (पूर्णविराम नभएका) कविता लेखेर पनि वाचन गरे । कसैले पच्चीस शब्दको लेखे । जे जस्तो भए पनि इलाममा हुने कविगोष्ठीमा एकलाइने कविताको प्रयोग बढ्दै गयो । कवि पहाडीले एलाकको प्रयोगकालीन दिनको अन्धकार देखाउँदै भन्नुभयो, ‘अहिले एलाकको रचना विधान (संरचना) र थोरै भए पनि सिद्धान्त तय भइसकेको छ । स्पष्ट भइसकेको छ । अब कसैले पनि एकै वाक्यको एक मिटरको लामो एलाक लेख्दैन ।
वि.सं. २०४४ तिर आइपुग्दा एकलाइने कविता आन्दोलनले आकार लिइसकेको कवि तथा आख्यानकार कृष्ण धरावासी सम्झनुहुन्छ, ‘बिस्तारै बिस्तारै इलामे कविहरूले यसलाई पछ्याउन थालेका थिए जसले मुक्तक लेखन सङ्कटमा पर्न थालेको थियो ।’ सुरुमा एकलाइन कविता हुन्छ जस्तो धरावासीलाई पनि लागेको रहेनछ । कतिपय वाक्य उखानसँग मिल्ने र कतिपय नारा जस्ता हुने । त्यो बेलाको राजनीतिक परिस्थितिमा व्यङ्ग्य गर्दा कतिपय एलाक गाली जस्ता देखिनु स्वाभाविकै थियो तर बिस्तारै निरन्तरको परिष्कारले भन्न चाहेका कुरा एकलाइनबाट पूरा भएको अनुभव श्रोता तथा पाठकले गर्न थाले । एलाक आन्दोलनको सफलताको एउटा सिँढी यही बन्यो । पूरै लिस्नो बनेको छैन । भाव, विम्ब, सन्देश सबै बोक्न सक्ने एक लाइनका अभिव्यक्ति कविता हुनसक्ने निष्कर्षमा कवि धरावासीलगायत समकालीन केही स्थापित कविहरू पुगेकाले प्रयोगवादी कविहरूमा उत्साह थपिँदै गयो । यसबारे सर्जक कृष्ण धरावासीले २०६६ असोजको
‘गरिमा’मा विचार व्यक्त गर्नुभयो ‘एक लाइनको अभिव्यक्ति पनि कविता हुनसक्छ ।’ हुन त एकलाइने कविता आन्दोलन सुरु हुनुअघि आयामेली आन्दोलन (२०२०), राल्फाली आन्दोलन (२०२३), अस्वीकृत जमात (२०२६), बुटपालिस (२०३१), लीला लेखन (२०४०), भोक कविता आन्दोलनको प्रभावले ‘एलाक’ कविहरूलाई छुनु स्वाभाविकै थियो । त्यसैले नयाँ प्रयोगवादी कविता आन्दोलनसँगै एकलाइने कविता आन्दोलनमा कविहरू थपिँदै गए । श्रोताले मन पराउन थाले ।
एलाक अभियानबारे कवि पहाडीले विगत सम्झनुभयो– संसारका हरेक कुरा सूक्ष्मतातिर उन्मुख रहेको परिप्रेक्ष्यमा ‘सङ्क्षिप्तमा विस्तृत’ अभिव्यक्ति दिन र वर्तमान व्यस्त पाठक तथा श्रोताका लागि एलाक आन्दोलन हो । यस क्रममा २०४३ साल फागुन २३ गते शनिवार एलाकबारे अन्तक्र्रिया गरियो । त्यसमा एलाक प्रवर्तकत्रय डम्बर पहाडी, होम भट्टराई, शिशिर खरेललगायत मुकुन्द गदाल, डिल्लीराम लुइँटेल, पिनाकी कोइराला, पुष्प प्यासी, गञ्ज बोहोरा, विमल वैद्य, मदनमान श्रेष्ठ, धीरेन चेम्जोङ, गणेश नेपाली, मोहन घतानी, रामकुमार साह, प्रेम ओझा, प्रकाश आङ्दम्बे, गणेश साम्पाङको सहभागिता थियो । कार्यक्रममा एकलाइने कविताका सन्दर्भमा कवि महेश बस्नेतले ‘फुर्सदमा बौलाउन पाइन्छ’ भन्नुभएको थियो भने डा. रामदयाल राकेशले ‘अणुको परमाणु हुन्छ भने कवितामा पनि एकलाइने कविता हुन्छ तर दिमागी कसरत गर्नुपर्छ’ भन्नुभयो । कवि गणेश साम्पाङको विचार थियो– ‘हजारौँ टन चट्टानी माटोबाट थोरै रेडियम निकालिए जस्तै हो एक लाइने कविता ।’ साहित्यकार प्रकाश आङ्दम्बेले कविताको सूक्ष्मरूप नै एलाक हो भनी टिप्पणी गर्नुभयो ।
रत्नराज्यलक्ष्मी क्याम्पसमा नियमित हुँदै आएको साहित्य सन्ध्यामा कवि पहाडीको अग्रसरतामा २०७१ पुस ५ गते ‘काव्यमा नयाँ प्रयोग ः एलाक’ बारे विमर्श भयो । यस बेलासम्म आइपुग्दा २०४६ सालको सफल जनआन्दोलनपछिको राजनीतिक वातावरणले एलाकका तीनजना प्रयोगवादी कविलाई छिन्नभिन्न बनाइसकेको थियो । कवि पहाडी भन्नुहुन्छ– ‘राजनीतिक भागदौडमा एकलाइने कविता आन्दोलन निष्क्रिय भयो । दुई भाइ भट्टराई र खरेल निष्क्रिय भए । कताकता लागे । धरापमै प¥यो एलाक आन्दोलन ।’
लीला लेखनका सशक्त हस्ती कृष्ण धरावासीले एलाकको भविष्य देख्नुभएको थियो उतिखेरै, तर यसले सर्जक र समालोचकको ठूलो तप्क(ालाई छुन सकेन । एलाक आन्दोलन निष्क्रिय मात्र भएन । विसर्जनप्रायः भयो । यसबारे विश्वको अभ्यासमाथि खोज, अनुसन्धान हुनसकेको छैन, आवश्यकता छ । पछिल्ला दिन कवि डम्बर पहाडी वरिपरि मात्र एलाक आन्दोलन सीमित छ । ‘सुखदुःख तन्काइरहेको छु’ एलाकका शुभचिन्तकलाई पहाडीले दिने करिब साझा उत्तर यही हो तर पहाडी धरावासीका शब्दमा आशावादी हुनुहुन्छ ‘आन्दोलनमा यस्तै हो, कोही छुट्छन् कोही जुट्छन् । तेस्रो आयामका पनि त छुटे ।’
कवि पहाडी एकलाइने कविता आन्दोलनलाई परिमार्जित गर्दै यसको संरचनागत सैद्धान्तिक पक्षको तयारीमा क्रियाशील हुनुहुन्छ । पहाडीको अनुरोधमा डा. घनश्याम न्यौपाने, प्राध्यापक गुरुप्रसाद पोखरेल, रामचन्द्र फुयाँलले एलाक आन्दोलनलाई सैद्धान्तिकरूपमा अगाडि बढाउन एलाक घोषणापत्र (रचना विधान) तयार गर्दै हुनुहुन्छ । फुयाँलको सम्पादनमा विभिन्न विद्वा्न्को सुझाव, सल्लाहअनुसार एलाकको सिद्धान्त तथा घोषणापत्र प्रकाशनको अन्तिम तयारीमा रहनुभएका पहाडीले साहित्यिक आन्दोलन राजनीतिक आन्दोलनभन्दा धेरै कठोर हुने भएकाले साधनाले मात्र पूरा गर्न सकिनेमा विश्वस्त रहेको बताउनुभयो ।