झरीसित (कविता)
सुमिना अभिलाषी
यो झरी हो या ऋचाको सङ्गीत ?
यी झरिरहेका बुँद
गीताको श्लोक हो या बुद्ध वाणी !
बर्सिन्छन् बादल पग्लेर
मगमगाउँछ धरतीको छातीमा
र, गुन्जिन्छ मुटुको अन्तःस्करणमा
गरिरहन्छ मेरा संवेदनाहरूसित संवाद
यी पग्लिने बादल
मलाई लाग्छ अनुस्मृतिका बुँद हुन् ।
हृदयको अनन्त उचाइ चुम्छ
मेरो आदिवासी सम्झना
र, चिसिएका एक झोंक्का स्पर्शको बाछिटा
मन–वर्सातको ओदानमा
झिँजा सल्काएर आगो बाल्छ,
दिन्छ आभास मनतातो न्यानोको ।
जब आउँछन् बुँदहरू मेरो शरीर छुन
पसिनाजस्तो स्पर्शले काउकुती लगाउन
जब मधुर मिलनको प्यासले
उचाल्छ पारो चढेको थर्मोमिटरझैँ
जब मेटाइदिन्छ मेरो बाँझो भूमिको तिर्खा
जब मुक्त गराइदिन्छ
युगीन मेरा शुष्कताबाट
तब लाग्छ
तिमीलाई मेरो मुटुको गर्भाशयमा
प्रेमपूर्वक निषेचन गरुँ !
ए मलाई भिजाउन बर्सिरहेको झरी !
जाऊ
दूर बस्तीको मेरो किसान प्रेमीलाई
मेरो प्रेमको स्पर्शले काउकुती लगाइदेऊ
उसको मुटुको सङ्गीत
मेरो हृदयको स्पन्दनमा रोपेपछि
उसको परिपक्व चाहना
मेरो वयष्क डिम्बसित मिलेपछि
जन्मनेछ सहकाल !
मेरो परेलीको डिलमुनि चम्किने ए बिजुली !
बारम्बार परीक्षा लिन छोड मेरो धैर्यको
मेरो मुटुनजिक आएर गर्जिने ए मेघ,
छोड मेरो निर्भयताको जाँच गर्न !
तिम्रो प्रत्येक बुँद पानीले मलाई
जिन्दगीको साक्षात्कार गराउँछ ।