शनिवार |

आकाशको जून (कविता)

राजु महत

आकाशको जून हौ तिमी, धर्तीमा नझर
लोभी पापी छन् यहाँ, दोधारमा नपर ।
रात नै रोज तिमी, दिनलाई नपर्ख,
आफैँ रित्तिन्छौँ तिमी, उज्यालो धेरै नपोख ।।

हरेकको स्वार्थमा मन तिम्रो लुटिन्छ,
दुःखका घाउहरूमा दिल तिम्रो चुटिन्छ ।
न सक्छौ रुन, न हाँस्न नै दिन्छन्,
सपनामा पनि पीडाका विष घोल्छन् ।।

पायौ खुसी कतै भने, तिमी आफैँलाई राख
दुःखलाई लुकाएर सुखको स्वाद चाख ।
भो अब धेरै भो आसक्ति कसैलाई नदेखाऊ
मतलवमा रमाउनेसँग भो भक्ति नदेखाऊ ।।