फेरिँदै म्युजिक भिडियो
नेमिष गौतम
सङ्गीतकार शम्भुजित बाँसकोटा र अभिनेता तथा निर्माता भुवन केसी चलचित्रको फरक विधालाई प्रतिनिधित्व गर्नुहुन्छ । तर, उहाँहरूको एउटा सुखद संयोग छ । अभिनेता केसी कुनै समय गायनको सोखिन हुनुहुन्थ्यो । उहाँले गाएको ‘मायालु तिमी टाढा’ बोलको गीतको भिडियोको निर्देशन शम्भुजितले गर्नुभएको थियो । २०४२ सालमा बनेको यो भिडियो नै नेपालमा बनेको पहिलो म्युजिक भिडियो हो । यही कारण शम्भुजितलाई नेपाली म्युजिक भिडियोको जननी मानिन्छ । यो गीतमा विजय उदयको शब्द तथा शम्भुजितकै सङ्गीत छ ।
शम्भुजितले सुरुवात गरेको म्युजिक भिडियोले अहिले ३५ वर्षको यात्रा गरिरहेको छ । यो यात्रामा भूषण दाहाल, रोशनप्रताप राना, सूर्यमान रन्जित, आलोक नेम्वाङ, सहेन्द्र श्रेष्ठ, सिमोस सुनुवार, प्रसन्न पौडेल, सुरजसिंह ठकुरी, विशाल भण्डारी, समन अधिकारी, निकेश खड्का, सुव्रतराज आचार्य, प्रकाश सपुत, सङ्गीता श्रेष्ठ, विधान कार्की, शान्तिप्रिय, डब्बु क्षेत्री, लक्ष्मी बर्देवा, त्रिशा केसी, बबिता श्रेष्ठलगायतले निरन्तरता दिइरहनुभएको छ ।
भिडियो निर्माणमा युवा पुस्ताको प्रवेशसँगै फरक–फरक समयमा फरक किसिमका भिडियोले निरन्तरता पाइरहेको छ । नेपाली सङ्गीतमा भित्रिएको सुगम, लोक, पप, ¥याप, ब्याटल शैलीले भिडियो निर्माणको शैलीमा पनि परिवर्तन ल्याएको छ । यतिखेरको भिडियो हेर्ने हो भने अधिकांश भिडियोले कथा वाचन शैलीलाई अपनाएको छ । हुन त पुराना केही भिडियोमा पनि कथात्मक प्रस्तुति नभएको भने होइन । तर, अहिले भने भिडियोमा कथा वाचन शैली ह्वात्तै बढेको छ । यी भिडियोमा नृत्य कम, अभिनय बढी छ । समाजमा दैनिक रूपमा देखिएका र भोगिएका घटनालाई भिडियोमा यथार्थपरक रूपले प्रस्तुत गर्दा दर्शकले त्यसमा आफ्नोपनको महसुस गर्न थालेका छन् ।
यसरी बन्छ अवधारणा
चलचित्र निर्देशक सुव्रत आचार्य म्युजिक भिडियोमा पनि सक्रिय निर्देशक हुनुहुन्छ । थुप्रै चलचित्रमा मुख्य सहायक निर्देशकसँगै उहाँले ‘अधकट्टी’, ‘सुश्री सम्पत्ति’ र ‘के घर के डेरा’को निर्देशन गरिसक्नुभएको छ । उहाँले निर्देशन गर्नुभएको ‘पिरिम नलाउने’, ‘गलबन्दी पछ्यौरी’, ‘मन मगन’, ‘अल्लारे’ लगायतका भिडियो लोकप्रिय छन् ।
‘म्युजिक भिडियो एउटा ‘सर्ट फिल्म’ नै हो । म यसलाई ‘म्युजिकल सर्ट फिल्म’ भन्न रुचाउँछु । गीतकारको शब्दमा एउटा राम्रो कथा बनिसकेको हुन्छ किनकि भिडियोको कथाकार नै गीतकार हो । त्यसलाई राम्रो ‘कन्सेप्ट’मा ढाल्ने काम निर्देशकको हो । शब्द र सङ्गीतको सबै कुराको संयोजन राम्रो भइदियो भने भिडियोको बाँकी काम भनेको ४० प्रतिशतमात्र हो । ६० प्रतिशत काम त गीतमै बनिसकेको हुन्छ,’ सुव्रत भन्नुहुन्छ ।
‘चिट्ठी तिमीलाई लेखुँ भन्छु’, ‘तिमीले दिने माया’ जस्ता गीतका भिडियो निर्देशक समन अधिकारी कथाको मुख्य सर्जक गीतकारलाई मान्नुहुन्छ । ‘एउटा निर्देशकले गीतकारले कुन ‘थिम’मा गीत लेखेको छ, त्यसलाई बुझ्न जरुरी छ । त्यसलाई कसरी परिमार्जन गर्ने भन्ने निर्देशकमा भर पर्छ,’ १५ वर्षदेखि भिडियोको निर्देशन गरिरहनुभएका समन भन्नुहुन्छ, ‘त्यसपछि समूहसँगको सल्लाहअनुसार कथाको प्रस्तुतीकरण हुन्छ ।’ उहाँका अनुसार सामान्यतया गीत सुनेपछि त्यसको भावअनुसार नै भिडियोको एउटा खाका तयार हुन्छ ।
झन्डै हजारभन्दा बढी म्युजिक भिडियोको निर्देशन गरिसकेका निर्देशक निकेश खड्का कथात्मक भिडियोका ‘थिम’ बनाउन निकै गाह्रो हुने बताउनुहुन्छ । ‘गीत सुनेपछि यस्तोमा ‘थिम’ बनाउने भन्ने हुन्छ । त्यो काम गर्दा झनै गाह्रो हुन्छ,’ निकेश भन्नुहुन्छ, ‘विपिन कार्कीको अभिनय रहेको ‘डर छैन’को काम सक्न हामीलाई एक महिना लागेको थियो । दयाहाङ राई अभिनीत ‘जहाजै चढेर’को काममा पनि उस्तै समय लागेको थियो ।’
किन बढ्दै छ कथा
पछिल्लो समय नेपाली म्युजिक भिडियोमा कथा वाचन शैली ह्वात्तै बढेको छ । खासगरी एउटा ‘ट्रेन्ड’ निस्किएपछि त्यसलाई पछ्याउने जमात बाक्लो छ । त्यही चलन यहाँ पनि देखिएको हो । भिडियो निर्देशकहरूको अनुभवमा विशेषतः वैदेशिक रोजगारीमा गएका नेपालीले भिडियोमा आफ्नै कथा पाउने गर्छन् ।
निर्देशक समनको अनुभवमा नेपालमा दुई–दुई वर्षमा भिडियोको विषय परिवर्तन भइरहेको छ । ‘मैले सुरु गर्दा आधुनिक सुगम सङ्गीतको क्रेज थियो । ती गीतभित्र कथा हुन्थ्यो । त्यसपछि लोकदोहोरी, हिपप, आरएन्ड बी, पप, डान्सिङ नम्बरका गीत आउन थाले । प्रकाश सपुतजीको ‘बोल माया’, हेमन्त रानाको ‘साइँली’ पछि भिडियोहरूले कथालाई बोकेर ल्याए,’ समन भन्नुहुन्छ, ‘गीतमा बिदेसिएका, श्रीमान् श्रीमती, पीडा, जातीयता र गरिबीका कथा समेटिन थाले । मुख्य कुरा प्रयोग गर्ने मान्छे सफल भयो भने त्यसलाई पछ्याउनेको सङ्ख्या उल्लेख्य हुन्छ । अहिले देखिएको ‘ट्रेन्ड’ त्यही हो ।’ वैदेशिक रोजगारीका कथामा भिडियो बन्न थालेपछि टेलिभिजनमा भन्दा पनि युट्युबमा ‘भ्युज’ बढाएको समनको बुझाइ छ ।
निर्देशक निकेश नाच्ने गाउने भिडियोको ‘ट्रेन्ड’ कम हुँदै गएकाले सर्जक र दर्शकको ध्यान कथात्मक भिडियोमा जान थालेको बताउनुहुन्छ । ‘अहिलेको अवस्थाले गर्दा पनि त्यो क्रम बढेको हो । नाच्ने गाउने गीतमा व्यावसायिक मूल्य हुन्थ्यो । अहिले त्यस्तो बनाउने मान्छे कम भइरहेका छन्,’ निकेश भन्नुहुन्छ, ‘मेरो अनुभवमा स्रष्टा र दर्शक व्यावसायिक मूल्यभन्दा पनि कथात्मक मूल्य खोज्न थालेका छन् । अहिले लकडाउनले गर्दा नृत्यभन्दा पनि कथात्मक भिडियोमा सबैको ध्यान जान थालेको छ ।’ निकेशले निर्देशन गर्नुभएका ‘परानै दिन्छु’, ‘डर छैन’, ‘बहुला’ लगायत भिडियो चर्चित छन् ।
निर्माणमा चुनौती
भिडियो निर्माणपछि यसमा जोडिने भनेको दर्शक नै हुन् । जति नै राम्रो र मिहिनेत गरेर भिडियो बनाए पनि दर्शकले मन पराइदिएनन् भने त्यसको असर समूहलाई नै पर्छ । सुव्रतको अनुभवमा भिडियोको प्रमुख चुनौती भनेकै दर्शक हुन् । ‘अहिलेका दर्शकलाई विरह र सामान्य कथाभन्दा नाच्नेखालका गीत चाहिन्छ । उनीहरू युट्युबमा त्यो गीत नहेरे पनि सुनेरै मनोरञ्जन लिन्छन् । हाम्रा लागि यो ठूलो चुनौती हो,’ उहाँको भनाइ छ ।
निर्देशक समनका अनुसार कथात्मक भिडियो निर्माण गर्नु चुनौतीपूर्ण कार्य हो । ‘कथावस्तु धेरैतिर मिल्नु भएन । प्रायः मानव जीवनका कथावस्तु एउटै नै हुन्छन् । त्यसकारण सबैको एकै नहोस् भनेर पृथक बनाउने चुनौती हुन्छ,’ उहाँले प्रस्ट्याउनुभयो । निर्देशक निकेशचाहिँ अलिक फरक चुनौती देख्नुहुन्छ । ‘राम्रो कलाकारलाई अनुबन्ध गरेपछि उसले राम्रो काम गरोस् भन्ने सबैको चाहना हुन्छ । तर, उसले राम्रो गर्न सकेन भने त्यसको सम्पूर्ण दोष निर्देशकको थाप्लोमा आइलाग्छ,’ उहाँ थप भन्नुहुन्छ, ‘त्यसकारण हामीलाई ठूलो दबाब हुन्छ । तर, राम्रो सिर्जना भयो भने त्यसले दीर्घकालीन रूपमा हामीलाई नै फाइदा दिन्छ ।’
सम्झाउनै कठिन
एउटा म्युजिक भिडियो बनाउन चाहिने प्रमुख साधन भनेकै गीत हो । भिडियोमा गायन र सङ्गीतभन्दा पनि गीतको चासो बढी हुन्छ । निर्देशकलाई गीतको ‘थिम’ अनुसार भिडियो बनाउन कहिलेकाहीँ सकस नै पर्छ । निर्देशक सुव्रत सर्जकको पनि कुरा सुनेर निचोड निकाल्ने बत(ाउनुहुन्छ । ‘सम्झाउन त गाह्रो नै हुन्छ किनकि उहाँहरू यो कलाकार, यो स्थान, यति बजेट भनेर आउनुभएको हुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘हामी पनि आफ्नो कुरा राख्छौँ । दुवै पक्षको समझदारीपछि वातावरण राम्रो बन्छ ।’
भिडियोको ‘रिटर्न भ्यालु’ नभएका कारण पनि सर्जकलाई सम्झाउन केही गाह्रो पर्ने बताउनुहुन्छ निकेश । ‘कथामा आधारित भिडियोलाई दर्शकले खासै चासो दिँदैनन् । त्यही कारण पनि सर्जकलाई सम्झाउनुपर्छ । कथामा त उहाँहरू मान्नुहुन्छ । तर, लगानी गर्नचाहिँ डराउनुहुन्छ । नृत्यमा पाँच÷छ लाख लगानी गर्न तयार हुने निर्माताहरू कथात्मक भिडियोमा चाहिँ एक÷दुई लाख लगानी गर्न गाह्रो मान्नुहुन्छ । यस्तो समयमा सम्झाउन केही समस्या हुन्छ,’ उहाँले भन्नुभयो । सबैजना राम्रै कथा खोज्छन् । निर्देशकले पनि राम्रो कथावस्तु गीतकारलाई सुनाउँदा नाइँ भन्ला र ! तसर्थ, राम्रो अवधारणा आयो भने गीतकारलाई सम्झाउन गाह्रो नहुने समनको अनुभव छ ।
कलाकार छनोट
भिडियोको प्रमुख आकर्षण भनेको त्यसमा अभिनय गर्ने कलाकार हुन् । हिजोको दिनमा गायक गायिका वा गीतकार र सङ्गीतकारले आफूलाई मनपर्ने कलाकार राख्ने चलन चलिरहँदा आजका दिनमा भने निर्देशकको ‘थिम’ अनुसार कलाकार छनोट गरिन्छ । आममानिसले नचिनेको अनुहार पनि भिडियोमा अभिनय गरेर ‘हिट’ भएका उदाहरण छन् । अहिलेका भिडियोले ‘हिरोइजम’ भन्दा पनि चरित्र निर्वाह गर्न सक्ने कलाकारलाई स्थान दिइरहेका छन् ।
समनको अनुभवमा थिएटरका कलाकारलाई कथा मन पर्छ । त्यही कारण पनि उनीहरूलाई कथावाचन चाहिन्छ भन्ने हुन्छ । तर, चलचित्र र नृत्य पृष्ठभूमिबाट आएकाहरू नृत्य नै खोजिरहेका हुन्छन् । ‘कलाकारको विषयमा कतिपय अवस्थामा सर्जकको कुरा सुन्नुपर्छ, लगानीकर्ताको कुरा सुन्नुपर्छ । त्यस्तो बेला अडान लिनुहुँदैन,’ समन भन्नुहुन्छ, ‘तर पनि आफ्नो नजरमा परेका कलाकारलाई राखौँ न भन्ने चाहिँ निर्देशकको चाहना हुन्छ ।’ निकेश भने कलाकार छनोटमा समस्या नहुने दाबी गर्नुहुन्छ । उहाँ कलाकारभन्दा पनि विषयमा बढी जोड दिनुहुन्छ । जसले कलाकार छनोटमा सहज तुल्याउँछ । आजकल बन्ने गरेका म्युजिक भिडियोका कथा कुनै चलचित्रको भन्दा कम छैन । चलचित्रकै जस्तो भिडियोका कथा संयोगान्त र वियोगान्त हुने गरेका छन् । कथात्मक रूपमा भिडियो बनाउँदा त्यसमा दर्शकले आफ्नोपन र आत्मीयता पाउने भएकाले पनि पछिल्ला वर्षमा भिडियोमा कथात्मकता बढ्दै गएको हो ।