दुर्लभ जन्तु अर्ना
वीरेन्द्र विष्ट
संसारभरिका दुर्लभ जनावरमध्ये अर्ना पनि एक हो । यसलाई जङ्गली भँैसी पनि भनिन्छ । अर्ना अथवा जङ्ली भँैसी सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन)को रातो सूचीमा परेको छ । यसको वैज्ञानिक नाम ‘बुब्यालस अरर्नी’ हो । वासस्थान विनाश, कृषि कार्य र पूर्वाधारको बढ्दो विकास, विदेशी प्रजातिको बाक्लो उपस्थिति, परजीवीको आक्रमण र वातावरण परिवर्तन आदि जस्ता कारणले अर्ना एकदमै दुलर्भ
(क्रिटिकल्ली इन्डेन्जरर्ड) अवस्थामा पुगेको छ । संसारभरि पाइने अर्नालाई वैज्ञानिकले पाँचवटा प्रजातिमा बाँडेका छन् । एसियातिर पाइने र अफ्रिकातिर पाइने अर्ना भने फरकखालका हुन् । नेपालमा पाइने अर्ना र भारत, भुटान, म्यानमार, थाइल्यान्ड तथा कम्बोडियामा पाइने अर्ना एकै प्रजातिका हुन् । यी अर्नालाई निख्खर मानिँदैनन् । श्रीलङ्कामा पाइने अर्नालाई चाहिँ निख्खर अर्नाका रूपमा लिइन्छ । अन्य चार प्रजातिका अर्ना भने घरपालुवा भैँसीसँग मिसिएर विकास भएको भनिन्छ ।
सन् १९६० तिर नेपालमा २५ वटा मात्र अर्ना कोसीटप्पुमा पाइएको थियो । कोसीको बाढीले बगाएर र विभिन्न रोगबाट मरेर अर्नाको सङ्ख्या निकै घटेको अनुमान त्यतिखेर गरिएको थियो । सन् २०१० को अनुसन्धान अनुसार संसारभरि अर्नाको सङ्ख्या तीन हजार चार सय रहेको छ । भारतमा मात्रै तीन हजार एक सय अर्थात् ९० प्रतिशत अर्ना पाइन्छ । भारतको आसामस्थित काजिरङ्गा राष्ट्रिय निकुञ्ज अर्नाका लागि प्रसिद्ध छ । खेतीपाती र घरजम गरेर बस्न थालेपछि मानिसले विभिन्न सहयोगी जनावरलाई पाल्दै आयो । अहिलेका घरपालुवा जनावर यस्तै अभ्यासमा घरपालुवा भएका हुन् । अर्नालाई पनि ईशापूर्व २००० भन्दा अघिदेखि वनबाटै समातेर मानिसले पाल्न सुरु गरेको अनुमान छ । घरतिर पाइने जनावरको पुर्खा, वंशज तथा नातेदार अझै जङ्गलमा प्राकृतिक रूपले विचरण गर्दै गरेको पनि पाइन्छ । यही क्रममा जङ्गली अवस्थामा रहेको अर्नालाई घरपालुवा भैँसीको निकै नजिकको प्राणी (मित्रप्राणी) वा वंश भनिन्छ । वैज्ञानिकका अनुसार वर्गीकरण गर्दा अर्नाका नजिकको नातेदार प्राकृतिक रूपमै पाइने गौरीगाईलाई राखिएको छ ।
नेपालको अवस्था हेर्दा अर्नाको संरक्षणका लागि सन् १९७६ मा कोसीटप्पु वन्यजन्तु आरक्ष स्थापित भयो । यस ठाउँलाई अर्ना अथात् जङ्गली भैँसीको घर पनि भनिन्छ । सप्तकोसी नदीको तटीय क्षेत्रको १७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कोसीटप्पु वन्यजन्तु आरक्षले सुनसरी, सप्तरी र उदयपुरको भू–भाग समेटेको छ । मुख्यगरी दुर्लभ अर्नाको एक मात्र प्राकृतिक वासस्थान कोसीटप्पु विभिन्न प्रजातिका दुर्लभ चरा र माछाको आश्रयस्थलका लागि पनि प्रसिद्व छ । यो आरक्ष नेपालकै पहिलो रामसार (अन्तर्राष्ट्रिय महŒवको सिमसार) क्षेत्रका रूपमा पनि सूचीकृत छ । यहाँ ५३ प्रतिशत घाँसेमैदान, १० प्रतिशत जङ्गली क्षेत्र र ३७ प्रतिशत नदी तथा बलौटे क्षेत्र छ । यस्तोे क्षेत्र अर्नाका लागि उपयुक्त मानिन्छ । कोसीटप्पु वन्यजन्तु आरक्षका अनुसार यस क्षेत्रको मुख्य प्रजाति अर्नाको सङ्ख्या सन् १९७६ मा ६३ वटा रहेको थियो भने सन् २०१८ सम्ममा यसको सङ्ख्या बढेर ४४१ पुगेको छ । जसमा १९१ वटा वयस्क पोथी अर्ना रहेका छन् । सन् २०१७ मा नेपाल सरकारले अति दुर्लभ यो जङ्गली जनावर जोगाउने र वंश विस्तार गर्ने लक्ष्यअनुरूप कोसीटप्पु वन्यजन्तु आरक्षबाट १० पोथी अर्ना र तीन भाले गरी जम्मा १३ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरेको थियो । अर्नाको आकार, प्रकार र रुपरङ्ग हेर्दा घरपालुवा भैँसीसँग मिल्दोजुल्दो हुन्छ । तर, अर्ना हेर्दा ठूलो र फुर्तिलो हुन्छ । यसको सिङको आकार पनि ठूलो, लामो, तरवारजस्तै हुन्छ । रङ खरानी, खैरो र कालो हुन्छ । खुर ठूलो हुन्छ र शरीरको तौल ८०० देखि १२०० किलोग्रामसम्म हुन्छ ।
यो शाकाहारी जीवजन्तुमा पर्छ । पारिस्थितिक वातावरण सन्तुलन राख्न यसले ठूलो भूमिका खेलेको हुन्छ । शाकाहारी जनावरले मांशाहारी जनावरलाई बाँच्न सहज बनाउँछ । हुन त कोशीटप्पु वन्यजन्तु आरक्षमा मांशाहारी ठूला जनावर नभएको हुनाले पनि अर्नाको सङ्ख्या बढ्नेक्रममा रहेको हो । अर्ना प्रायः सिमसार क्षेत्रमा बस्ने गर्छ । नजिकै नदी, ताल, हरिया घाँसेमैदान भएको ठाउँमा बस्न अझ बढी रुचाउँछ । यस्तै हिलोमा आहाल बस्न र सफा पानीमा पौडिन पनि रुचाउँछ । अर्नाको संरक्षण गर्न बढ्दो जनसङ्ख्या र जलवायु परिवर्तनका कारण हुन सक्ने अनेकौँ जोखिमको दिगो व्यवस्थापन र घरपालुवा भैँसीसँगको समागममा नियन्त्रण आवश्यक छ । ठीक छ, घरेलु भैँसीसँगको समागमले तिनको उत्पादकत्व बढ्छ भन्ने पुष्टि हुन्छ भने केही भाले अर्नालाई बीउका रूपमा प्रयोग गर्न सकिन्छ, कृत्रिम वासस्थानमा । अथवा उनीहरूको वीर्य सङ्कलन गरी रैथाने भैँसीमा गर्भाधान गराउने पद्धति विकास गरियो भने स्थानीय किसानको आकाङ्क्षा पनि पूरा हुन सक्ला । तथापि संरक्षित अर्नामा रहेको जङ्गली आनुवंशिक गुणको संरक्षण हुनुपर्छ । भैँसीको भन्दा अर्नाको मासु मीठो हुने र दूध बढी हुने हुँदा कोसीका किसानले अर्नासँग मिसिन आफ्ना भैँसी आरक्षमा छाड्ने गरेको पाइएको छ । वैज्ञानिक तरिकाले निख्खर (उपलब्ध) अर्नाको कोसीमा संरक्षण गर्न अथवा अन्यत्र स्थानान्तरण गर्न ढिलो भइसकेको छ । अर्ना हाम्रो देशको ठूलो जैविक सम्पत्ति तथा पहिचान हो ।