शनिवार |

आरम्भ : आम मानिसका अनुभूति

नेपाली साहित्यको भण्डारमा एउटा सरल कृति थपिएको छ ‘आरम्भ’ हाइकुसङ्ग्रह । यस सङ्ग्रहका रचनाकार हुनुहुन्छ– जगत् उपाध्याय ‘प्रेक्षित’ । प्रेक्षितलाई धेरै पाठकले कविका रूपमा, बालसाहित्यकारका रूपमा, समालोचक र निबन्धकारका रूपमा चिन्दछन् । उहाँका विभिन्न विधाका डेढ दर्जन जति कृति यसअघि नै प्रकाशित भइसकेका छन् । हाइकुसङ्ग्रहले उहाँको अर्को पाटो पनि देखाएको छ ।
पुस्तक आवरण बाहेक ८० पृष्ठको छ । हाइकुकार स्वयंले हाइकु लेखनको प्रारम्भ र विकासबारे पुस्तकमा चर्चा गर्नुभएको छ । लेखकले भन्नुभए जस्तै आजको फेसबुकको समयमा धेरैजसो मानिसलाई लामालामा कृति न लेख्ने फुर्सद छ, न त पढ्ने जाँगर । त्यसैले पनि कविताका लघुतम संरचनाका रूपमा रहेका गीत, गजल, मुक्तक, हाइकु आदिप्रति पाठकीय अभिरुचि बढ्दो छ । रचनाकार प्रेक्षितले यसै मर्मलाई आत्मसात् गरी आफूले २५ वर्षदेखि विभिन्न समयमा रचना गरेका हाइकुलाई एकै ठाउँ जम्मा पारेर बाहिर ल्याउनुभएको छ ।
कुनै पनि सिर्जनामा संरचना पक्षभन्दा बढी भावपक्ष रोचक बनेर प्रस्तुत भएपछि शास्त्रीय नियममा यो वा त्यो पुगेन भन्ने पाठकीय गुनासो रहँदैन । हरेक सिर्जनामा यो नियम लागु हुने विषय हो । जसरी लोकगीतमा भिजेको स्वरले अनुप्रास नमिले पनि ‘अकमक्क मै परी राको, झकमक मायालाई देखेर’, भन्दा एउटा बिछट्टै भाव पैदा हुन्छ, त्यसरी नै प्रेक्षितको यस सङ्ग्रहले पाठकलाई भूमिकादेखि नै लठ्याउन सुरु गर्दछ । हाइकु पढेर भूमिका पढून् वा भूमिका पढेर हाइकुहरू पढून् ।
यो सङ्ग्रह जम्मा दुई सय एघार हाइकुको माला जस्तो बनेको छ । हाइकुकारले विषय उठाउँदा कतै आफैँ पनि आफ्नै रचनाबाट व्यङ्ग्यको पात्र पो हुनुपरेको हो कि भन्ने भावसमेत यहाँ पाइन्छ । समाजका कुरूप यथार्थप्रति सङ्ग्रहभित्र आलोचनाको एउटा शैली निर्माण भएको छ । आफूले मात्र फेर्ने वा फोर्न सक्ने विषय यो होइन भन्ने जान्दाजान्दै पनि एउटा आँट गर्न पुग्छन् र प्वाक्क बोलिदिन्छन् । यहाँ यस्ता सहज, सामान्य र नढाँटीकन बोलिएका काव्यबोली प्रशस्त मात्रामा छन् । बहुदल प्राप्तिपछिको राजनीति र राजनीतिले पैदा गरेका विविध स्थिति र अवस्थाको सूत्रात्मक प्रस्तुति यस सङ्ग्रहका हाइकुमा यत्रतत्र पाइन्छ । २०५० देखि २०६७ सालसम्म छापिएका भन्दा त्यस बीचमा नछापिएका हाइकुहरू शक्तिशाली ठहरिएका छन् ः
घ्याम्पोझैँ भुँडी
नौतले दरबार
समाजवाद ! (पृ. ४४)

जेजे आउँछ
त्यही त्यही लेख्दछन्
उत्तर आधुनिक । (पृ. ४७)
नेपाली राजनीतिमा परिवर्तनको सपना देखाएर सत्तासीन हुन पुगेका नेताहरूले आफू र आफ्नोभन्दा बाहेक उल्लेख्य काम गर्न नसकेकोप्रति यहाँ तीव्र कटाक्ष गरिएको छ । आफूलाई आधुनिक लेखक हुँ भन्ने तर ढङ्ग न भाँतीको रचना लेखेर चियाको कपमा तुफान चलाउन खोज्ने ‘सेलिब्रेटी’ हुँ भन्नेप्रति पनि निकै तीखो व्यङ्ग्य गरिएको छ यी हाइकुमा । हामी बाल अधिकारका विषयमा धेरै कुरा सुन्छौँ, पढ्छौँ र देख्छौँ । हामीले देखेको विषय हाइकुमा लेखकले यसरी प्रस्तुत गर्नुभएको छ ः
गलैँचा फ्याक्ट्री
बाल श्रमिक छैनन्
बोर्डमा मात्रै ! (पृ. ५१)
शुद्ध र सफा व्यापार व्यवसायको नारा दिनेहरू र आफूलाई उपभोक्ताका खास प्रतिनिधि हुँ भन्न रुचाउनेहरूबाट दिनदहाडै उपभोक्ता ठगिएको विषयमा समेत उहाँका हाइकु मुखर छन्—
दर्शनढुङ्गा
भेटिन्छन् चामलमा
स्वच्छ व्यापार ! (पृ. ५०)
नेपाली समाजको प्रत्येक क्षेत्र विकृति र विसङ्गतिले पूरै डुबिसकेको छ । उतार्ने कसरी हो ? यता ध्यान
दिनुपर्दैन ? यस्तै प्रतिपक्षी आवाज रचनाकारले प्रस्तुत गर्नुभएको छ । यहाँ रचनाकारले आफूले देखेका बाह्य विषयगत कमजोरीलाई मात्र होइन, आफू संलग्न क्षेत्रका दुर्बलतामाथि समेत निर्ममतापूर्वक प्रहार गर्नुभएको छ । भूमिकाकार डा. मधुसूदन गिरीले भन्नुभए झैँ लेखनभित्र आफू वा आफ्नालाई बचाउने र अर्काको कमजोरीलाई पनि देखाउने अलमलमा लेखक हुनुहुन्न । लेखक यहाँ मकै चोर्न आउने बाँदरलाई ताकी निसाना मिलाएर गुलेलीले छर्रा निधारमा नै पर्ने गरी हानेझैँ हान्न सफल हुनुभएको छ । कतै यौन जीवनको घुमाउरो शैली त कतै पवित्र र धर्मको रक्षार्थ खटिएको पात्र हुँ भन्नेले गर्ने गरेको घीनलाग्दा कुकर्मको फर्दाफास गर्न पनि उहाँ पछि पर्नुभएको छैन ।
हाइकुसङ्ग्रहमा लेखकले मूलतः राजनीतिक क्षेत्र दूषित हुँदा त्यसको असर शिक्षा, प्रशासन, साहित्य आदि क्षेत्रमा पनि परेको नेपालको बौद्धिक क्षेत्रसमेत निकै नै विकृत हुन पुगेको स्थितिलाई औँल्याउनुभएको छ ः
लिँदैन कक्षा
गुन्डागर्दीको रक्षा
ऊ प्राध्यापक ! (पृ. ७८)

चेला पढ्दैनन्
गुरु पढाउँदैनन्
आजको शिक्षा ! (पृ. ६५)

झम्के पानीले
झुम्म छ बिहानमै
मेरो लेखक ! (पृ. ६५)
यी अभिव्यक्ति प्राध्यापन र लेखनक्षेत्रमै क्रियाशील हाइकुकारले निकटबाट अनुभूति गरेका तीता यथार्थ हुन् । भूमिकाकारले भन्नुभए झैँ हाइकुको संरचना र स्वरूपको सैद्धान्तिक आलोकमा नियाल्दा धेरै हाइकु भनिएका पङ्क्तिहरू सेन्यु नै हुन् त के भो र ? तिनले समसामयिक राजनीति र त्यसले जन्माएका यावत् विकृतिलाई कलात्मक रूपमा प्रस्तुत गरेकै छन् । व्यङ्ग्यको आशय सुधारका लागि हो । भिक्षु र महन्त भनिएकाको यौनविषयक चर्चा र काण्डहरूले भरिएको समाचारले सदाचारको इज्जत कसरी पालना होला ? प्रश्नैप्रश्न उठाएका छन् लेखकले ।
अन्त्यमा ‘आरम्भ’ भित्र इन्द्रेनी रङका हाइकुहरू छन् । यी पठनीय छन् । राज्यलगायत समाजका प्रत्येक अङ्ग र व्यक्तिका दुर्बलतामाथि हिर्काएर सजग गराउने, उनीहरूलाई जिम्मेवार बनाउने र सही मार्गमा लाग्न प्रेरित गर्ने अभिप्रायबाट यी हाइकु निर्दिष्ट छन् । यी हाइकु आम मानिसका अनुभूतिको अभिव्यक्तिका रूपमा आएका छन् ।

तेजविलास अधिकारी