शनिवार |

नयाँ भावना (कविता)

अनिता ढकाल गौतम

जन्मेको घर खेल्न आँगन सबै छाडेर जानै छ यो
कस्तो यो विधि हो परत्र घरको नासो भनेको छ यो ।
भन्छन् लौ घरमा समस्त जनले कस्तो विभेदै भयो
छोरीको मनमा त घाउ गहिरो चोटै परेको छ जो ।।

मेटिन्नन् सब यी सुसृष्टि दिन हो विधान यस्तै छ यो
छोराको भरमा त मात्र नहुने संसार चल्दैन भो ।
मान्छेका सँगमा त जीव सबको यस्तै सुचल्ती छ यो
बुभ्mदैनौ यदि लौ भने जगत नै हुर्किन्छ कैले त यो ।।

सम्झे माइतका त हाँसखेल जो बिर्सेर बिर्सिन्न रे
आफ्नै शैशवका अपार धनका संस्कार आफ्नै छ रे ।
छोड्दाका दिनमा चसक्क मन यो भक्कानिँदै पो गयो
मान्छेको मुटु हो जलेछ अहिले आत्मा रुँँदै पो गयो ।।

फुल्छन् रे वनमा अनेक थरका पुष्पादि लौ कोमल
दिन्छन् रे नव वासना त सबमा यो बन्छ रे आँचल ।
त्यस्तै मानिसले सुकर्म त गरोस् कल्याणको खातिर
जान्दैनौ कहिल्यै लि जान्छ कसरी देहै छ जो नश्वर ।।

न्यानो काखसँगै त प्यार कोख त्यो छाडेर आए अब
गर्ने सृष्टिसँगै सुदृष्टि मनले राख्नै त पर्ने सब ।
मेरो भन्नु कतै थिएन अब हा ! संसार नौलो भयो
कर्मको घर हो भनेर अब ता आधार अर्कै भयो ।।

जन्मेको घर हो समग्र भरमा ऐश्वर्य समृद्ध होस्
हाँसोखेल बढोस् उमङ्ग गतिले संस्कार बन्दै गरोस् ।
मेरा वैभव वा त दुख्ख म गरौँ, भन्दै नयाँ कामना
मेरा कुण्ठित भावका तरहले ल्याई नयाँ भावना ।।