शनिवार |

धरमपुरसँग साहित्यिक साइनो

होमप्रसाद गौतम

साहित्य सिर्जना नगरे पनि साहित्य र कलाले ध्यानाकर्षण गरिरहन्थ्यो । मलाई यस्तो पनि लाग्थ्यो, मसँग साहित्य लेख्ने क्षमता नै कहाँ छ र ? यो मेरो कच्चा सोच रहेछ । धेरै पछिसम्म रहिरह्यो । जीवनको भोगाइ, बुझाइ, र गराइहरूलाई जसले सिर्जनशील कलाद्वारा लिपिबद्ध गर्ने क्षमता राख्छ, यथार्थमा साहित्यकार त्यही नै रहेछ । बुभ्mने हो भने यहाँ धेरै नै प्रतिभाशाली साहित्यकार हुन सक्छन्, खरानीभित्रको आगोको फिलिङ्गो जस्तै लुकेर बसेका गाउँ गाउँ र बस्ती बस्तीमा । झापाको भूगोल विचार, चिन्तन, चेतना र सर्जकहरूको पनि उर्वर भूमि हो भन्दा फरक नपर्ला ।
जीवनको अत्यन्तै ज्योतियुक्त युवा उमेरमा शिक्षण पेसामा लागेको थिएँ म । तर आस्था बोकेर शिक्षक आन्दोलनमा लागे बापत २०४० सालमा पञ्चायतले मेरो स्थायी जागिर
चट् बनाइदियो । जागिरको शोकमा डुबेर बसिएन । राजनीतिक र सामाजिक परिवर्तनको तातो बाटोमा हिँडियो । आन्दोलनको नेतृत्व र सामाजिक अभियानको परिणामले पञ्चायतीे व्यवस्थामात्र बदलिएन गणतन्त्र नेपालको जन्म गराउन ऊर्जा दिई नै रह्यो । जीवनको गतिशीलता अर्कै बाटोमा वेगवान थियो तर मलाई साहित्यिक परिवेशले त्यो दुनियाँको निकट बनाइरहन्थ्यो सधैँ । गाउँघरमा घाँसदाउरा तथा मेलापातमा जाँदा र विद्यालयमा रहँदा गीत गुनगुनाउनु, नाचगानमा रमाउनु मेरा दैनिकी जस्तै थिए । ती दिनका सम्झना नै मेरा लेखनका लागि प्रशस्त सामग्री हुने आफ्नै निष्क(र्षले कलम चलाइरहन मन लाग्छ ।
यो छोटो पृष्ठभूमि जोडेर मैले साहित्यिक धरोहर राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सम्झन चाहेको हुँ । राष्ट्रकवि घिमिरे शताब्दी कविको इतिहास रचेर १०१ वर्षमा परमधामको यात्रामा महाप्रस्थान भइसक्नुभएको छ । राणाकाल, शाहकालीन प्रजातन्त्रकाल, शाही नेतृत्वको पञ्चायतीकाल, लोकतन्त्र हुँदै गणतन्त्र नेपालको समयमा पनि साहित्य सिर्जनामा उत्तिकै सक्रिय र लोकप्रिय रहेर उहाँले साहित्यको क्षेत्रमा अतुलनीय योगदान गर्नुभएको छ ।
वैशाख महिना थियो २०४५ सालको, राष्ट्रकवि घिमिरे नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कुलपति हुनुहुन्थ्यो । । झापाको धुलाबारीमा एउटा ऐतिहासिक साहित्यिक कार्यक्रम भएको थियो । प्रमुख अतिथि हुनुहुन्थ्यो राष्ट्रकवि घिमिरे । भाषाशास्त्री महानन्द सापकोटाको सालिकको अनावरण भव्य कार्यक्रमका बीचमा उहाँबाट भएको कुरा झापालीले कहिल्यै पनि बिर्सने छैनन् । झापाली स्रष्टाहरूको बीचमा साहित्यिक महादशैँ जस्तो यो कार्यक्रममा सत्तरी वर्षीय राष्ट्रकविले ‘मै मरी मिच्चे म्या म्या ब्रुक’ भन्दै छमछमी नाचेको याद झापालीको मनमा अझै ताजा छ ।
मलाई राजनीति भनेको भोट माग्नु, भोट दिनु, विजयी बनेर भौतिक विकास बाटोघाटो, सडक, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य मात्रै होइन जस्तो लाग्छ । भौतिक पूर्वाधारका अतिरिक्त साहित्य, कला र संस्कृतिको विकासको पनि ज्यादै महत्व हुन्छ भन्ने लाग्छ । यी इतिहासका प्रमाणित दस्तावेज हुन् । यिनलाई समाजका अनुपम गहना मानिन्छन् । भनिन्छ कलाविहीन मानिस नुन बिनाको तरकारी जस्तै, पात बिनाको रुख जस्तै हो ।
प्रतिभावान् मानिसलाई सानो मात्रै सहयोगले प्रतिभा देखाउन ठूलो मद्दत पुग्दोरहेछ भन्ने उदाहरण धेरै छन् । यसमा मेरा मित्र डम्बरप्रसाद घिमिरेलाई लिन सकिन्छ । २०३५ सालमा घिमिरे र म एकैदिन शिक्षक पदमा स्थायी नियुक्ति भएका थियौँ । हामी एउटै विद्यालयका शिक्षक पनि थियौँ । पछि हाम्रो जीवनयात्राको मूलबाटो फरक भयो । उहाँ शिक्षक नै रहनुभयो । म पूर्णकालीन राजनीतिकर्मी बनेँ ।
म धरमपुर गाविसको अध्यक्ष भएँ । गाविसको आर्थिक अवस्था कहालीलाग्दो थियो । कर्मचारीहरू तीन वर्षदेखि बिना तलब काम गरिरहेका रहेछन्, आम्दानी शून्य जस्तै थियो । पूर्वपश्चिम राजमार्गसँग जोडिएको गाविस भए पनि मोटर चढ्न आफ्नै गाउँको बाटो हिँडेर पुगिँदैनथ्यो । पूर्व पश्चिमका छिमेकी गाविसका बसबिसौनीहरू झिलझिले र केर्खाको शरण लिनुपर्दथ्यो ।
ईख, आँट र सिर्जना समृद्धिका मुहान हुन् भन्दा फरक नपर्ला । यो मेरो भोगाइ र गराइको यथार्थता हो । मेरो जीवनका अनेकन कार्यसँग जोडिने एक प्रिय पात्रको नाम हो डम्बरप्रसाद घिमिरे । मलाई धरमपुरको भौतिक र सामाजिक विकासको चुनौती भएजस्तै साहित्यमा रुचि भएका डम्बरका सामु पनि धेरै चुनौती थिए । उनले आफ्नै कर्मले आफूलाई साहित्यिक दुनियाँमा स्थापित गर्नु थियो । उहाँको मनमा मैले आफैँ केही न केही गर्नैपर्छ भन्ने ईख जागेछ । यो ईख जाग्नुमा एउटा रमाइलो घटनाको अनुभव पनि रहेछ उनीसँग । झापामा हुने बाक्ला साहित्यिक कार्यक्रममा उनले एक टुक्रा कविता सुनाउन थुप्रैलाई गरेको अनुनय विनयले कुनै ठाउँमा पनि काम गरेन । हाम्रो गाउँ धरमपुर अविकसित मात्रै देखिँदैनथ्यो, अशिक्षित, गरिब र पछौटे स्थानका रूपमा पनि गनिन्थ्यो । धरमपुरको भनेपछि उनलाई कसैले नपत्याएपछि उनीभित्रको कला, सिर्जना र साहित्यको मुहान फुटेर नै नवरङ्गको जन्म भएको थाहा पाउन सकिन्छ । छोटो सोचाइ र खोटो विचार बोक्नेहरूका कारण कसैकसैले त्यसलाई पूर्वी पाकिस्तानको संज्ञा पनि दिने गर्दारहेछन् । धरमपुरेलीलाई कसैले राम्रो नजरले पनि हेर्दैनथ्यो त्यसबेला ।
एकदिन मित्र डम्बरबाट धरमपुरेलीमा एउटा साहित्यिक संस्था बनाउनुपर्छ भन्ने प्रस्ताव आयो । प्रस्ताव सहर्ष स्वीकार गर्दै सक्दो सहयोग गर्ने वचन दिएँ मैले पनि । नभन्दै धरमपुरेली बीचमा नवरङ्ग साहित्य प्रतिष्ठानको जन्म भयो । पहिलो आजीवन सदस्य बन्ने मौका पनि मिल्यो मलाई । अनकन्टार यस ठाउँमा नवरङ्गले साहित्यिक कार्यक्रमको आयोजना गर्न पनि सुरु ग¥यो तर धेरैलाई पत्याउन मुस्किल थियो ।
पहिलो साहित्यिक कार्यक्रम नै आगामी दिनका कार्यक्रमका लागि असाधारण बलियो जग बन्न पुग्यो । सामान्य भौतिक पूर्वाधारको त विकास नभएको धरमपुरमा त्यो समयमा साहित्यिक कार्यक्रम सम्पन्न गर्नु ढुङ्गाको भान्सा थियो तर पनि उक्त पहिलो कार्यक्रमले साहित्यिक सगरमाथा चुमेको अनुभव भयो हामी सबैलाई । यसले एउटा सन्देश दियो, अरूको उन्नति र प्रगतिमा डाह पालेर मुर्मुरिनुभन्दा आप्mनै कर्म तिखार्नु बुद्धिमानी रहेछ । कर्मको ताप्के सही तरिकाले समात्न सके असम्भव यहाँ केही छैन भन्ने लाग्यो धरमपुरेलीलाई । कसैको अनुदान नलिई धरमपुरेलीको मुष्टिदानबाट कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम २०४९ चैत २१ गते नवरङ्ग साहित्य प्रतिष्ठानको अगुवाइमा भएको थियो । कार्यक्रममा ३९ जना कवि–कवयित्रीले आ–आफ्ना कविता वाचन गरेका थिए । तीन सय जति श्रोताले विभिन्न रस र स्वादका कविता श्रवण गरे । यो कार्यक्रममा आउनुहुने पाहुनालाई बिदाइ गरेपछि मलाई भने एक किसिमको मानसिक दबाब सिर्जना भयो । सबै स्रष्टाको एउटै भनाइ थियो, ‘धरमपुर साहित्यिक कार्यक्रमका लागि अनुकूल भए पनि बाटोका कारण अनकण्टार रहेछ, अध्यक्षज्यू बाटो बनाए हामी आफ्नै साधनको व्यवस्था गरेर कार्यक्रमका लागि निरन्तर सहयोग गर्ने थियौँ ।’
धरमपुर यस कार्यक्रमबाट पूर्वाञ्चलमा मात्रै चिनिएन सिक्किम, दार्जिलिङसम्म चिनारी बोकेर गयो । मेरो भने अहोरात्र निद हरायो । धरमपुरको पूर्वपश्चिम राजमार्गसँग जोडिएको हाम्रो गाउँ साँच्चै अनकण्टार थियो । अथितिहरूका अगाडि हामी नामर्द, नालायक पो छौँ कि जस्तै लाग्यो । लगत्तै धरमपुर मङ्गलबारे सडक, धरमपुर पाँचगाछी सडक बनाउने निधो गरियो । चैत २९, २०४९ देखि गाविसको नेतृत्वमा जनश्रमदानबाट सडक निर्माणको काम थाल्यौँ र दुई महिनापछि १६.५ किमि ४० फुटे बाटो राज्यको लगानी बिना बनाएरै छाड्यौँ ।
अनकन्टार भनिने गाउँमा त्यसपछि नेपाल र भारतका धेरै वरिष्ठ साहित्यकारलाई स्वागत गर्न सफल रह्यो धरमपुर । काठमाडौँका सुविधासम्पन्न ठाउँबाट नवरङ्गको निमन्त्रणालाई स्वीकार गर्दै राष्ट्रियस्तरका कविकलाकारले धरमपुरको माटोमा टेकिदिँदा वास्तवमा धरमपुरेलीले आफूलाई निकै भाग्यमानी महसुस गरेका छन् । पहिलो कार्यक्रममा तीन सयजना सहभागी हँुदा राम्रो मानिएको थियो भने दोस्रो कार्यक्रममा चार हजार जनाभन्दा बढीको सहभागिताले अथितिलाई चकित बनाएको थियो । तेस्रो कार्यक्रममा करिब पच्चीस हजारभन्दा बढी दर्शक जम्मा गरेर नवरङ्ग साहित्य प्रतिष्ठानले आफूलाई छोटो समयमा नयाँ इतिहास स्थापित गरेको थियो । साहित्यिक र सम्मान कार्यक्रममा यस्तो उपस्थिति बिरलै रहला ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे ७८ वर्षको उमेरमा २०५४ साल माघ ४ गते धरमपुरको साहित्यिक कदर, मान, सम्मान कार्यक्रममा उपस्थित हुनुभएको थियो भने साथमा हुनुहुन्थ्यो अर्का वरिष्ठ साहित्यकार मदनमणि दीक्षित । दमकमा उहाँहरूको स्वागत सम्मानसाथै देउराली होटेलमा राखेर उहाँहरूको सबै बन्दोबस्तीको जिम्मा मित्र डम्बरप्रसादले मलाई दिनुभएको थियो । कार्यक्रममा लाने लैजाने मेरो दायित्वमा कमी नहोस् भनेर म निकै सतर्क थिएँ । त्यहाँ कुनै पनि कमी भएमा धरमपुरको इज्जतसँग गाँसिएको सम्झन्थेँ । उहाँहरूको उपस्थितिमा कार्यक्रम अत्यन्तै भव्य भयो । आज पनि धरमपुरेलीको आँखामा झलझली नाचिरहेको छ त्यो दिन । झापाको धरमपुरले २०४९ देखि २०५९ सालसम्मका निर्वाचित जनप्रतिनिधिहरूको साथ सहयोगमा सधैँभरि साथ दिने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन माननीय तारासम याङया, सभापति अर्जुन राई, उपसभापति विष्णुप्रसाद प्रसाई, होमप्रसाद गौतम, बलजीत राईलगायत जनप्रतिनिधिको महत्वपूर्ण योगदान सधैँभरि सम्झन योग्य रहेको बत(ाउँछन् त्यहाँका मानिसहरू । नवरङ्ग साहित्य प्रतिष्ठानले गरेका महत्वपूर्ण कार्यक्रमहरूमा राष्ट्रकवि माधव घिमिरेसहितका वरिष्ठ साहित्यकार, कलाकार हास्यव्यङ्ग्यकारको उपस्थितिलाई पुनः आज एकपटक स्मरण गर्न चाहन्छु । यसरी कदर–पत्र, सम्मान र मानले विभूषित हुनेहरूमा मदनमणि दीक्षित, घटराज भट्टराई, कविवर वैरागी काइँला, देवकुमारी थापा, नरेन्द्र चापागाइं, डा.तुलसीप्रसाद भट्टराई, प्रा.चूडामणि रेग्मी, बालकृष्ण पोखरेल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, वसुन्धरा भुषाललगायत छन् ।
समयले धर्तीमा रही रहने अनुमति दिँदैन । ढिलोचाँडो सबैले आआफ्नो बाटोको यात्रा तय गर्नैपर्छ । यसरी झापा र धरमपुरमा आउने सम्मानित साहित्यकारहरू राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित मदनमणि दीक्षित, प्रा.घटराज भट्टराई, देवकुमारी थापा, डा.नरेन्द्र चापागाार्इं, बालकृष्ण पोखरेल, भानुभक्त पोखरेल, डा.ऋषिकेश उपाध्याय, कृष्णभूषण बल, जिबि लुगुन, दाहाल यज्ञनिधि, वसन्तकुमार शर्मा, हीरा आकाश, डिल्लीराम निर्भिक, एस.एल.शर्मा, मदन ढकाल, गोपिकृष्ण खनाल, रोहिणिविलास लुइँटेल, वासुदेव मुनाल, पीताम्बर भोला, डिकमान विरही, अमृतलाल श्रेष्ठ, रुद्र निरौलालाई गुमाइसकेका छौँ । भौतिक रूपमा यति ठूलो सङ्ख्या हामीबीचमा रहनुभएन भन्दा स्तब्धता छाउँछ हृदयमा । दुःखका साथ भन्नुपर्छ उहाँहरू सबै अब सम्झनाको तरेलीमा मात्रै रहनुभएको छ । उहाँहरू सबैजना नेपाली साहित्यको इतिहासमा एक ऐतिहासिक धरोहरका रूपमा रहेर साझा प्रकाशनका लागि मार्गनिर्देशक, असल मित्र र शुभेच्छुक हुनुहुन्थ्यो ।
आदरणीय राष्ट्रकवि माधवप्रसाद घिमिरे भर्खरै हामीसँग विछोड हुनुभएको छ सदाका लागि । यस घडीमा उहाँसहित ती स्वर्गवासी सम्मानित दिवंगत दिव्य ज्योतिहरूलाई झापा र धरमपुरेली जनताका तर्फबाट, साझा प्रकाशन र मेरो व्यक्तिगत तर्फबाट भावपूर्ण हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु, सबैलाई शान्ति मिलोस् ।