शनिवार |

आरोहण, आरोही र कीर्तिमान

राजु सिलवाल

पहिलो पटक सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेपछि नेपालमा बर्सेनि हिमाल आरोहण व्यावसायिक रूपमा नै सञ्चालन हुन थाल्यो । नेपालमा ४१४ वटा हिमाल आरोहणका लागि खुला छन् । २०७२ सालको भूकम्पका बेलाबाहेक अन्य कुनै पनि वर्ष हिमाल आरोहण अभियान रोकिएको छैन । सन् २००८ मा चीनमा गृष्मकालीन ओलम्पिक आयोजना हुँदा चीनले आफ्नो भूभागमा पर्ने उत्तरी मोहडाबाट सगरमाथा आरोहणमा रोक लगाएको थियो । नेपालतर्फ पर्ने दक्षिणी मोहडाबाट भने आरोहण जारी रह्यो तर यसपालिको वसन्त मौसममा भने कोभिड–१९ महामारीका कारण नेपालका सबै हिमालको आरोहण अभियान रद्द गरियो । सयौँ आरोही तथा आरोहणसँग सम्बद्ध कामदार बेरोजगार भए । पर्यटनसँग सम्बन्धित कैयौँ कम्पनी बन्द भए । मुलुकको अर्थतन्त्रमा पनि असर त पर्ने नै भयो । अब यो व्यवसायलाई कसरी सुचारु गर्ने भनी सम्बन्धित व्यवसायी चिन्तित छन् तर नेपाल सरकारले आगामी कात्तिक १ गतेदेखि हिमाल आरोहण र पदयात्राका लागि अनुमति दिने निर्णय गरेपछि आरोहीका साथै यस क्षेत्रमा काम गर्ने सबैमा खुसीको सञ्चार भएको छ तर हिमाल तथा पदयात्रासम्बन्धी गतिविधि सञ्चालन गर्दा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने सर्त सरकारले राखेको छ ।
विश्वमा कोरोनाको प्रकोप घटेको छैन । वसन्तको मौसममा हिमाल आरोहण र पदायात्रासम्बन्धी गतिविधि शून्य रहेपछि अब शरद ऋतुको सुखद पर्खाइमा छन्, यस क्षेत्रमा काम गर्नेहरू । कोरोनाको प्रकोप त घट्नै प¥यो । साथै पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन नेपाल सरकारबाट विशेष अभियान पनि सुरु गरिनुपर्नेमा व्यवसायीको आग्रह छ । शरद ऋतुमा आरोहणका लागि नेपाल आउन विदेशी आरोहण कम्पनीहरू इच्छुक रहेको खबर आउन थालेका छन् । नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले मनास्लु, आमादब्लम, मेरापिक, आइल्यान्ड पिक जस्ता हिमाल आरोहणका लागि विभिन्न मुलुकबाट चासो देखाइएको जानकारी दिनुभयो । नेपालका विभिन्न पदमार्ग जस्तै खुम्बु क्षेत्र, अन्नपूर्ण क्षेत्र, मुस्ताङ, डोल्पो जस्ता क्षेत्र सुरक्षित नै छन् । अन्तर्राष्ट्रिय उडान सुचारु भए पर्यटकको पीसीआर जाँच गरी ती क्षेत्रमा पदयात्राका लागि लैजान सकिने उहाँको सुझाव छ । कीर्तिमानी आरोही कामीरिता शेर्पालाई पनि विदेशी आरोहीको दिनहुँजसो फोन आउने गर्छ । उहाँका अनुसार नेपालमा आरोहण खुला भएपछि सुरक्षाका लागि कस्तो व्यवस्थापन होला भन्ने उनीहरूको जिज्ञासा छ । सगरमाथा आरोही सङ्घकी अध्यक्ष माया शेर्पा भने आगामी सिजनका पुराना केही बुकिङ रद्द नगरिएको अवस्थामा सरकारले हिमाल आरोहण तथा पदयात्रा खुला गरेपछि यो क्षेत्र केही चलायमान हुने अपेक्षा गर्नुहुन्छ ।
यस पटकको शरद ऋतुमा हिमाल आरोहण गर्न बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहितको टोली नेपाल आइसकेको छ । आरोहणका लागि आउने यो पहिलो टोली हो । लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने लक्ष्य लिएको यो टोली अहिले मनास्लु हिमाल आरोहणका लागि प्रस्थान गरिसकेको छ । टोलीलाई सरकारको विशेष निर्णयले आरोहण अनुमति प्रदान गरिएको हो । टोलीमा नेपालका केही कीर्तिमानी ‘हाइ अल्टिच्युड’ पथप्रदर्शकको सहभागिता छ । यस्ता पथप्रदर्शकमा विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा पनि हुनुहुन्छ । साना उचाइका निश्चित हिमाल आरोहणका लागि अनुमति पत्र दिने अधिकार प्राप्त निकाय नेपाल पर्वतारोहण सङ्घद्वारा पनि हिमाल आरोहण अनुमति पत्र दिन सुरु गरिएको छ ।
कोरोना सङ्क्रमण पैmलिएपछि हिमाल आरोहण तथा पदयात्रामा संलग्न हजारौँ कामदार बेरोजगार भए । यही विषयलाई ध्यानमा राखी हिमालमा काम गर्नेलाई काम दिनका लागि नेपाल सरकारको पहलमा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ–संस्थाको सक्रियतामा यही अक्टुबर महिनामा हिमाल सफाइ अभियान सञ्चालन गरिने भएको छ । यसैगरी चोयु हिमालको मार्ग खोलिने भएको छ । यसका लागि बजेट विनियोजन भइसकेको छ ।

कीर्तिमानीको ताज
बन्दाबन्दीकै बेला ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’ले नेपाली पर्वतारोही कामीरिता शेर्पालाई दुईवटा विश्व कीर्तिमानको प्रमाणपत्र प्रदान ग¥यो । यी कीर्तिमान सन् २०१९ मा विश्वको सर्वोच्च शिखर सगरमाथा २४औँ पटक सफल आरोहण र विश्वका आठ हजार मिटरभन्दा अग्ला विभिन्न हिमाल ३६ पटक आरोहण गरेबापत प्रदान गरिएको हो । ५० वर्षीय कामीरिताले सगरमाथा २४, चोयु हिमाल आठ, मनास्लु दुई, ल्होत्से र केटु हिमाल एक–एक पटक आरोहण गर्नुभएको छ तर उहाँले यो खुसी कपनस्थित आफ्नो डेरामा परिवारका सदस्यबाहेक अन्यसँग साट्न पाउनुभएन । यसअघि उहाँले सन् २०१८ मा २३औँ पटक सगरमाथा आरोहण गर्दा पनि विश्व कीर्तिमानीको प्रमाणपत्र पाउनुभएको थियो ।

कान्छा आरोही
ताप्लेजुङका आरोही मिङ्मा ग्याबु शेर्पाले ६१ दिनको फरकमा सगरमाथा तथा केटु हिमाल आरोहण गरेर छोटो समयमा ती दुई हिमाल आरोहणको कीर्तिमान गिनिज बुकमा लेखाइसक्नुभएको छ । कोरोनाको महामारी फैलिरहेको बखत पर्यटन मजदुरलाई राहत वितरण गर्न उहाँ यतिबेला सक्रिय हुनुहुन्छ । मिङ्मालाई फेरि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने सबैभन्दा कान्छा आरोहीका रूपमा विश्व कीर्तिमानको प्रमाणपत्र गिनिज बुकले प्रदान गरेको छ । उहाँले ३० वर्ष १६६ दिनको उमेरमा ती सबै हिमालको आरोहण सम्पन्न गर्नुभएको थियो । उहाँलाई यो अभियान सम्पन्न गर्न नौ वर्ष १५९ दिन लागेको थियो । सन् २०१० मा सगरमाथा चढ्नुभएका मिङ्माले सन् २०१९ मा अन्तिम हिमालका रूपमा तिब्ब्तको सिसापाङमा हिमालको आरोहण गर्नुभएको थियो ।

छिटो चढ्ने महिला पनि नेपाली
बन्दाबन्दीकै बेला गोरखाकी फुन्जो झाङ्मु लामालाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’का अधिकारीले फोन गरी सगरमाथा सबैभन्दा छिटो चढ्ने महिलाको कीर्तिमान राख्न सफल भएकोमा बधाई दिए । प्रमाणपत्र भने अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि पठाइने जानकारी पनि दिइयो । सामाजिक सन्जाल फेसबुकमा फुन्जोलाई बधाई दिनेको ओइरो लाग्यो । उहाँले ३९ घण्टा छ मिनेटमा सगरमाथाको आरोहण गर्नुभएको थियो । सन् २०१८ को मे १५ तारिखका दिन सगरमाथाको आधार शिविरबाट दिउँसो ३ बजेर २० मिनेट जाँदा आरोहण सुरु गर्नुभएकी फुन्जो मे १७ तारिख बिहान ६ बजेर २६ मिनेटमा शिखरमा पुग्नुभएको थियो । फुन्जो नेपालकै पहिलो महिला ‘स्कि’ च्याम्पियन तथा पहिलो महिला ‘लङलाइन रेस्कुअर’ अर्थात् हिमाली उद्धारकर्ता पनि हुनुहुन्छ ।
कोरोनाको सङ्क्रमण फैलिएर सन्त्रास बढिरहेका बेला नेपालका आरोही विश्व कीर्तिमानीका रूपमा चिनिनु गौरवको विषय हो । उहाँहरूको यो सफलताले देशको शिर उँचो भएको छ । नेपालको पर्यटन व्यवसाय शून्य अवस्थामा पुगेको बेला यस्ता कीर्तिमानले मुलुकको छवि बढाउन मद्दत गर्छन् ।

विश्व कीर्तिमानीको बिदाइ
‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’मा आफ्नो नाम लेखाउन सफल आरोही आङरिता शेर्पाको भने असोज ५ गते दुखद अवसान भएको छ । कृत्रिम अक्सिजनको प्रयोगबिना १० पटक सगरमाथाको सफल आरोहण गर्नुभएका आङरिता करिब दुई दशकदेखि कलेजोको रोगबाट पीडित हुनुहुन्थ्यो । ‘हिउँचितुवा’को नामबाट परिचित आङरिताले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालको आरोहण कृत्रिम अक्सिजनको प्रयोगबिना नै गर्नुभएको थियो । उहाँले एकै वर्ष सगरमाथाको दुई पटक सफल आरोहण पनि गर्नुभएको थियो । उहाँको आर्थिक स्थिति कमजोर भएका कारण नेपाल पर्वतारोहण सङ्घले मासिक १५ हजार रुपियाँ सहयोग गर्दै आएको थियो । बसोबास तथा रोजगारका लागि भारत तथा अमेरिकाबाट आग्रह आउँदा पनि उहाँले स्वदेशलाई नै माया गरेर बसिरहनुभयो ।

आरोहीको सङ्गीत मोह
कोरोनाको प्रकोप बढ्दै गएर लामो समय हिमालसम्बन्धी गतिविधि ठप्प भएपछि आरोहीको गतिविधिमा पनि परिवर्तन हुने नै भयो । २४ पटक सगरमाथाको शिखर चुम्ने कामीरिता शेर्पाको दिनचर्या कोरोनाको कहरले फेरिदिएको छ । वसन्त ऋतुमा आरोहणको काममा र यसपछि विभिन्न देशको भ्रमणमा व्यस्त हुने कामीरिता यतिखेर तारबाजा टुङ्ना बजाउँदै समय बिताइरहनुभएको छ । हिमाल आरोहणबाहेक शेर्पा संस्कृतिको सम्बद्र्धन कार्यमा पनि सक्रिय रहँदै आउनुभएका कामीरिताले अनलाइनमार्फत इच्छुकहरूलाई पनि यो बाज बजाउन सिकाउनुभयो । उहाँ आफैँ पनि टुङ्ना वादनका अनुभवीसँग यसबारे थप ज्ञान हासिल गरिरहनुभएको छ ।