सिर्जना शिखरमा परशु प्रधान
श्रीओम श्रेष्ठ ‘रोदन’
नभेटुन्जेलसम्म कसैसँग सम्बन्ध हुँदैन । कुनै सरोकार पनि हुँदैन । भेटे पनि अर्थ रहँदैन । सम्पर्कमा आएपछि नै हो सम्बन्धको हिसाब–किताबमा जोड घटाउ हुँदै जाने । तर कतिपय सम्बन्ध यस्ता हुन्छन्, जुन टाढा भएर पनि नजिकैको बनेको हुन्छ । नभेटेरै भेटिसकेकोजस्तो । नचिनेरै चिनिसकेकोजस्तो । सबै अनुभव र अनुभूतिका कुरा हुन्, मनका कुरा हुन्, इमानदारी र आदर्शका कुरा हुन् ।
कतिपय सम्बन्ध भने नजिकै भएर पनि नजिकिएको अनुभूति गर्न सकिँदैन ।
यस्तै भएको थियो मलाई परशु प्रधानसँगको सम्बन्धमा पनि । अक्षरका माध्यमबाट नभेटेरै चिनेको साहित्यकार हुनुहुन्थ्यो । जन्मस्थानको हिसाबले उहाँ भोजपुरको म ललितपुरको । भूगोलले कता न कता टाढा तर भावनाले नजिकिएकाहरूभन्दा नजिक । यस्तै लाग्छ मलाई ।
यस धरामा मेरो अवतरण नहुँदै उहाँका साहित्यिक सिर्जना धेरैले पढिसकेका थिए । म जन्मिनुअघि उहाँको ‘मेरो कोठाको आँखाबाट’ जन्मिसकेको थियो । मेरो आवाज नफुट्दै उहाँका अक्षरका चित्रहरू बनिसकेका थिए । साहित्यिक अक्षर पढ्न जानेदेखि नै उहाँका कथाक्षरको शक्तिले गहिरो प्रभाव पारेको थियो । त्यसैले भनेको नभेटेरै चिनेको कथाकार परशु दाइ । नदेखेरै श्रद्धा गरेको स्रष्टा । उहाँलाई शिरनत गर्दा आफ्नै शिर ठाडो भएजस्तो लाग्छ मलाई । उहाँलाई सम्मान गर्दा आफ्नै घाँटीमा माला लगाएजस्तो लाग्छ मलाई ।
भोजपुरको पानीले धेरैलाई सिर्जनशील बनाएको छ । स्रष्टा बनाएको छ । स्थापित बनाएको छ । साहित्यमा गतिलो स्थान बनाएको छ । परशु प्रधान र शैलेन्द्र साकारले नेपाली कथा र कवितालाई धनी बनाएको छ । पिखुवाखोलाको पानीले एकैघरका धेरैलाई साहित्यमा स्थापित गराएको छ । धेरै लेख्नुभएको छ, परशु प्रधानले । अक्षर नै लेखेर उहाँले कति लिटर मसी र कति टन कागज सक्नुभएको होला ? कहीँ नपाइने हिसाबको किन पछि लाग्नु ? विधाका हिसाबले पनि धेरैमा बाँडिनुभएको छ तर कथाको भने सिङ्गो कथा नै छ उहाँको । बालकथालाई प्रौढ बनाउने पनि उहाँ नै । उपन्यासको आफ्नै ठाउँ बनाउने पनि उहाँ नै । रचनागर्भको उत्खनन पनि उहाँकै । निबन्ध, समीक्षा, समालोचना धेरै छन्, उहाँ अक्षर भएर बग्न सक्ने । भएर पनि परशु प्रधानको नाममाथि कथाले नै अधिपत्य जमाउँछ । नेपालमा कथालाई आधुनिक कथा बनाउने, बलियो बनाउने परशु प्रधान र अरू परशु प्रधानहरू नै हुन् ।
परशु प्रधानलाई कथाकार भनेरमात्र पुुग्दैन । कञ्जुस्याइँ गरेकोजस्तो हुन्छ । सिद्धहस्त आख्यानपुरुष नै भन्नुपर्छ । उहाँका कथामा कथामात्र हुँदैनन् । जीवन त हुन्छ नै । त्यसभित्र ढुकढुकिने ढुकढुकी पनि हुन्छ । गाउँ होस् वा सहर, गरिब होस् या धनी सबैलाई चित्रका रूपमा उतार्न सक्ने कथाकला पनि हुन्छ । नारी पुरुष जसको कथा भए पनि पढेपछि हृदयभित्र गएर सुरक्षित बस्न सक्ने शक्ति हुन्छ । कथाका पात्रका जीवन, शैली, घटना मात्र नभएर विषयअनुसार पात्र, पात्रअनुसारको परिवेश, घटनाक्रम जोड्न सक्ने अद्भुत क्षमता छ । यही क्षमताले गर्दा नै पाठकको मनमनमा बस्न सक्नुभएको छ– परशु प्रधान । पात्रका मनका पीडा, चाहना, गुम्फनलाई सजीव रूपमा उतार्ने सिद्धहस्त कलाकार बन्नुभएको छ ।
कथालाई पाठकसँग नजिकको बनाउन सक्ने विशिष्ट कला छ उहाँमा । कथा पढ्दै जाँदा आफैँ पात्र भएजस्तो अनुभूति गराउन सक्ने अथवा पात्र नजिकै आएर भेटेजस्तो, कानैमा आएर कुरा गरिरहेजस्तो सामथ्र्य राख्न सक्ने कथाकार हुनुहुन्छ ।
सिर्जनाको यात्रा सुरु गरेपछि आजसम्म थकाइ नै नमार्ने निरन्तरको स्रष्टायात्री पनि हुनुहुन्छ– परशु प्रधान । जीवनका उकाली–ओराली जस्तैमा पनि विचलित हुनुभएको छैन । लेख्ने कामलाई जीवनकै धर्म ठान्नुभएको छ । दुःख हुँदा, सुख हुँदा, पद हुँदा, पावर हुँदा, प्रतिष्ठा हुँदा कहिले पनि कलम नरोक्ने परशु प्रधानजस्तै कति पो होलान् नेपाली साहित्यमा ?
न कलमलाई थकाइ मार्न दिने न आफूले आराम गर्ने । सायद परशु प्रधान हुनुको अर्थ भने पनि विशेषता भने पनि यही होला । छ दशकको सिर्जना, त्यो पनि सधैँ ऊर्जावान् । यो निरन्तरता सामान्य हुँदै होइन । मानिसको जीवनको साठी वर्षभन्दा बढी सिर्जनामा समर्पित हुनु पनि सामान्य हुन्छ र कहीँ ।
पुराणमा पढिएका ऋषिको तपस्याजस्तै तपस्या हो परशु प्रधानको । जीवनमाा कति विकट यात्रा, कति निकट यात्रा, कति सहज यात्रा भए होलान् ? जे–जस्तो यात्रामा पनि विश्रामको साथ नलिने अविश्रान्त स्रष्टा हुनुहुन्छ ।
नदीमा बगिरहने पानीजस्तै निरन्तर बगिरहनुभएको छ सिर्जना नदीमा । यो साधनाले उहाँलाई भोजपुरको भोजपुर बजारबाट बानेश्वरसम्ममात्र पु¥याएको छैन । नेपालीको हिमाल, पहाड, तराईका घर–घरमा पु¥याएको छ । विद्यालय, विश्वविद्यालय, पुस्तकालयमा पु¥याएको छ । अक्षर पुग्न सक्ने ठाउँमा नपुगेको कुनै ठाउँ नै छैन होला । देशको मात्र के कुरा नेपाली पुगेका सयौँ देशमा पनि पुग्नुभएकै छ । अक्षरै भएर मनमा पनि पुग्नुभएको छ । देशमा रहेर, विदेशमा रहेर मनमनमा पुग्नुको तुलना कुन पुरस्कारले गर्न सक्ला र ? सम्भावनाभन्दा धेरै टाढाको कुरा हो यो ।
सिर्जनाले पाठकको मनमा वास गर्नु सजिलो हुँदैन । त्यसका लागि आँखाले देखिने सत्य सबैले जानेकै हुन्छन् । पत्रे चट्टानजस्तो बनेर बसेका मान्छेका जीवन भोगाइका क्षणहरूलाई समात्नु र अरूलाई आत्मसात् गराउनु कहाँ सजिलो हुन्छ र ? यो मामलामा परशु प्रधान जादुगरजस्तै हुनुहुन्छ ।
सहज रूपमा नदेखिने मान्छेका दुःख देखाउन सक्नुहुन्छ ।
समस्या बुझाउन सक्नुहुन्छ । चाहनालाई लुकाएरै देखाउन सक्नुहुन्छ ।
अभावलाई महसुस गराउन सक्नुहुन्छ । प्रेमलाई आत्मसात् गराउन सक्नुहुन्छ ।
यौनलाई नभनीकन प्रकट गर्न सक्नुहुन्छ । कुण्ठालाई सौन्दर्यले बुन्न सक्नुहुन्छ ।
अद्भुत कला छ । हृदयको ढुकढुकी सुनाउन सक्ने शैली छ उहाँमा ।
त्यसै पनि नेपाली साहित्यका शिखर स्रष्टा हुनुहुन्छ नै । सँगै नेपाली साहित्यको इतिहास निमार्णकर्ता पनि हुनुहुन्छ । कतिपय अभियानका अभियन्ता पनि हुनुहुन्छ । लेख्नुमात्र ठूलो काम होइन, राम्रो लेख्नु ठूलो कुरा हुन्छ । राम्रो लेख्नुमात्र पनि आफ्नो विशिष्टता होइन । आफ्नो लेखनीबाट नयाँ कुराको परिचय स्थापित गर्नु विशेष हुन्छ । यस मामलामा परशु दाइ थरले मात्र होइन, कामले पनि प्रधान नै हुनुहुन्छ ।
सिर्जनामा शृङ्खलाबद्ध कथाको सुरुवात ‘सीताहरू’बाट गर्नुभयो । आफ्नो रचनाको गोप्यता भङ्ग गर्नुभयो ‘रचनागर्भ’बाट । विराटनगरमा वाणी प्रकाशनमार्फत त्यही कामलाई सफल रूपमा अगाडि बढाउनुभयो । कुनै समय वाणी प्रकाशन लेखक, कविको तीर्थस्थलजस्तो बनिसकेको थियो । निरन्तरको कार्यक्रम, प्रकाशन, पुरस्कारहरूले गर्दा प्रज्ञालाई गिज्याउने बनिसकेकोे थियो । अर्थात् परशु प्रधान साहित्यका, कथाका परशु प्रधानमात्र नभएर नवीन चिन्तक, सााहित्यिक सङ्गठक, कुशल व्यवस्थापक, नवपुस्ताका लागि उत्प्रेरक अथक साधक हुनुहुन्छ ।
सिर्जनामा मात्र होइन, यथार्थमा पनि उहाँ खुराफाती हुनुहुन्न । जे लाग्छ, त्यही बोल्नुहुन्छ । जे देखिन्छ, त्यही भन्नुहुन्छ । अरूले जसरी देखाए पनि फरक देख्नुहुन्न । जे सुन्नुहुन्छ, त्यसमै सत्यको खोजी गर्नुहुन्छ । अरूको कुरामा पङ्खा लगाउनुहुन्न । अरूले भरेको फूलबुट्टामा बहकिनुहुन्न । कृत्रिमताको कुनै रोगन छैन । प्रकृतिजस्तो अविचल र सत्य । बादल आकारको भ्रममा भड्किनुहुन्न । दायाँबायाँको हिसाब नगर्ने भएकैले प्रस्ट बोल्नुहुन्छ ।
देखिएको, सुनिएको र भोगिएकोभन्दा फरक भजन गाएर रमाउन सक्नुभएको छैन । सत्यलाई सत्य भन्न र गलतलाई गलत भन्ने इमानमा चुक्नुभएको छैन । त्यही भएर कुनै भजन मण्डलीमा छमछमी गर्न जानुभएको छैन । नबनेको मूर्तिमा पूजा गरेर आशीर्वाद थाप्न जानुभएको छैन । अरूको तालमा आफ्ना गोडा चाल्नुभएको छैन । यही नै हो आफ्नोपन, यही नै हो परशु प्रधानपन ।