शनिवार |

पर्यटकीय गाउँ सिक्लेस

विश्वबन्धु भण्डारी

तपाईं सिक्लेस पुग्नुभएको छ ? यदि पुग्नुभएको छैन भने त्यहाँ पुगिसकेपछि निकै चिसो महसुस गर्नुहुनेछ । सिक्लेसमा घरपतिले तपाईंलाई भित्र अगेनाको छेउमा बस्न आग्रह गर्ने छन् । ढोकाबाट छिर्नासाथ भित्ताका तासीहरूमा लहरै तामाका रोचा, खड्कुलो, ताउला, गाग्री, चरेस र ढलोटका अनगन्ती थाल, कचौरा समेतको चाङ देख्नुहुनेछ । तपाईंलाई लाग्ला यो त भाँडा पसल पो रहेछ । भ्रममा नपर्नुस् । त्यो कुनै भाँडा पसल भने होइन । त्यहाँका प्रत्येक घरमा यसरी नै तामा, चरेस, ढलोटका भाँडाहरू सजाएर राख्ने उनीहरूको परम्परा हो । कुन घर कस्तो हैसियतको रहेछ भन्ने कुरा तासीमा सजाइएका भाँडाकुँडाले पुष्टि गर्छ । लेकाली काठ, उतिसका फलेक, कतै ढुङ्गाको त कतै जस्तापाताको छानो । हिउँ
बर्सेको बेला हावाले जताबाट हिउँ वर्षाएको छ, त्यतैको पाखो मात्र (दुई पाखे घरको छाना) हिउँले ढाकेर सेताम्मे हुँदाको दृश्य पनि त्यहाँ हेर्न लायक नै हुने नै भयो ।
पैँतालिस वर्षअघिको कुरा हो । पोखराबाट प्रस्थान गरेको पाँच घण्टामा सिक्लेसमुनि बेँसी मादी नदीको किनार साउँदा बेँसीमा पुगियो । साउँदाबाट तीन घण्टाको ठाडो उकालो चढेपछि बेलुकी झमक्क साँझ प¥यो । अनि खाना खाएर बिस्तारामा विश्राम गरियो । निकै थाकेको निद्राले लठ्याउनु स्वभाविकै थियो । बिहानै उठ्दा पारिपट्टि ठूलो गाउँ देखियो । त्यो त लमजुङको ताङ्तिङ गाउँ पो रहेछ । आँखा यसो उत्तरतर्फ घुमाउन नपाउँदै बडेमाको ऐनाझैँ पहरो देखियो । त्यहीँ रहेछ नेपालको प्रसिद्ध हिमालमध्ये अन्नपूर्ण हिमाल । मैले सानैमा घरमा आमाबुबाले नयाँ अन्नको न्वागी खाँदा अन्नपूर्ण हिमालतर्फ फर्केर खानुपर्छ, तब मात्र अन्नको सह रहन्छ भनेको सुनेको थिएँ । अन्नको खानी, अन्नको सह अन्नपूर्ण हिमाललाई सामुन्नेमै देख्न पाउँदा एक प्रकारको हर्षविभोर पनि भएँ ।
पुस महिना थियो । जाडो र सिरेटोको त कुरै नगरौँ । पोखरादेखि सँगै हिँडेका अन्नपूर्ण निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद आचार्य पनि हुनुहुन्छ । उहाँ गाउँ फर्काेदय विद्यालय ढोर फिर्दी तनहुँका विद्यालय जीवनका मेरा नेपाली विषयका गुरुसमेत हुनुहुन्थ्यो । बिहानको खाना खाएपश्चात् गाउँमाथि हाल अन्नपूर्ण इको पार्क रहेको स्थानमा विद्यालय थियो । १० बज्दा नबज्दै तल सिक्लेस गाउँमा उतापार्चे र खिलाङदेखि विद्यार्थीको ताँती लाग्यो । विद्यालय प्राङ्गणमा करिब पाँच सय जना छात्रछात्रा उपस्थित हुन आइपुगे ।
२०२८ सालबाट परीक्षणका रूपमा लागू भएको राष्ट्रिय शिक्षा योजना मुलुकका दुई जिल्लामध्ये कास्की र चितवन थिए । शिक्षकको हैसियतले पहिलो पटक पङ्क्तिकार विद्यालयमा प्रवेश गर्दा प्रधानाध्यापकको कार्यकक्षभित्रै विज्ञान सामग्री यति धेरै थिए कि अहिलेको मूल्यमा भए त्यो लाखौँको हुन्थ्यो होला । करिब डेढ वर्षको पङ्क्तिकारकै कार्यकालमै पनि सिसा एवं काँचका ती विज्ञान सामग्री ३० प्रतिशतभन्दा बढी फुटेर, भाँच्चिएर नष्ट भए होला । २०२८ सालबाट क्रमशः २०३२ सालसम्म मुलुकका ७५ वटै जिल्लामा राष्ट्रिय शिक्षा योजना लागू भयो । २००७ सालबाट हाम्रो मुलुकको ग्रामीण क्षेत्रसम्मै शिक्षाको ज्योति प्रवेश गर्न सुरु गरेको हो । शिक्षाको ज्योति घर–झुपडीका बालबालिकामा तीव्र रूपमा पुग्न सफल पनि हुँदै गयो तर मुलुकमा आर्थिक क्रान्तिस्वरूप न औद्योगिक विकास भएको छ, न त हाम्रो शिक्षाले तलैदेखि प्राविधिक सीप दिन सकेको छ । त्यसैले होला अहिले पनि लाखौँ युवा भारतलगायत त्रिभुवन विमानस्थल भएर खाडी र अन्य मुलुकमा श्रम बेच्ने नाउमा जहाज चढ्ने लर्को रोकिएको छैन । पढेका सर्टिफिकटधारीहरू युरोप र अमेरिका, अर्ध शिक्षितहरू खाडीको ४५ डिग्रीभन्दा माथिको तापक्रममा जिउ डढाएर पसिना बगाइरहेका छन् । कोभिड–१९ को महामारीले घर आएकाहरूको रोजगारको चिन्ता र उता रोजगारी टुटेपछि घर फर्कन नपाएका उतै बिचल्लीमा छन् ।
फेरि सिक्लेसतिरै फर्कौं । झन्डै चार सय घरधुरी पूर्व फर्केको एउटै पखेरामा छन् । यो गुरुङ बस्तीका कतिपय घरको धुरी एकापसमा जोडिएका छन् । कतै आँगन जोडिएका छन् । तत्कालीन पार्चे गाउँ पञ्चायतको वडा नं. ८ र ९ खिलाङमा, ४ नं. वडा पार्चेमा, बाँकी १,२,३,५,६ र ७ सिक्लेसमा थियो । राज्य पुनर्संरचनाले मादीगङ्गा गाउँपालिकामा सिक्लेस पनि समेटिएको छ । सिक्लेस अहिले मादीगङ्गाको वडा नं. १ मा परेको छ । मादीपारिको खिलाङ पनि लमजुङ जिल्लाबाट कटौती भई कास्कीमै गाभिएर मादीगङ्गा गाउँपालिकामा आएको छ । गाउँमाथिको अन्नपूर्ण विद्यालय स्थानान्तरण भई साउँदाको माध्यमिक विद्यालयमा गाभिएको छ । सिक्लेस गाउँमा गैह्री थर, धप्राङ थर, सभा थर, क्वाया थर, लामा थर छन् । गाउँलेको सभा भेला हुने बीचको थरको नाम सभा थर नामकरण भएको र बीचमा पर्ने सभाथरबाट चार सय
घरधुरीमध्ये कुनै पनि एउटा घरमा पुग्न सात मिनेटभन्दा बढी समय लाग्दैन । यसर्थ सिक्लेसको बस्ती निकै घना र बाक्लो छ ।
२०३२ सालतिर हिँडेरै सिक्लेस पुग्नुपथ्र्याे । अहिले पोखरादेखि सिक्लेससम्म ४० किमी ग्रामीण कच्ची सडकले सिक्लेसवासीलाई यातायातको सुविधा दिलाएको छ । २०३२÷३३ सालमा सिक्लेस हेल्थपोस्ट निर्माण हुँदा पोखरादेखि डन्डी, सिमेन्ट, गिटी, बालुवा आदि निर्माण सामग्री भरियाले पिठ्युँमा बोकेर पु¥याएका हुन् । त्यतिबेला त्यतातिर घोडा, खच्चरबाट मालसामान ढुवानी गर्ने चलन पनि आइसकेको थिएन । तत्कालीन समयका सोही विद्यालयका मेरा विद्यार्थी, हाल प्रदेश सभा सदस्य मनबहादुर गुरुङका अनुसार अहिले गाउँमा १५÷१६ वटा होमस्टे र आठ÷दसवटा होटेल सञ्चालनमा छन् । कोभिड–१९ को महामारी अगाडि विदेशी, स्वदेशी पर्यटकको ओइरो खाली हुन्थेन । नाम चलेको एवं पर्यटकीय महìव बोकेको सिक्लेसलाई सुधीर शर्माको प्रयोगशाला पुस्तकमा पनि उल्लेख गरिएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीसँग वार्ता गर्न हेलिकप्टरसहित तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई सिक्लेस पठाएका थिए । यही प्रसङ्गमा पुस्तकमा उल्लेख छ, ‘माओवादीको विरोध बढ्दै गएपछि प्रधानमन्त्री कोइरालाले गृहमन्त्री सिटौलालाई २०६३ साल असार २ मा कास्कीको सिक्लेस पठाए । जहाँ प्रचण्डले कार्यकर्तालाई प्रशिक्षण दिइरहेका थिए । त्यहीँ प्रारम्भिक छलफलपछि पत्नी सीता र सहयोद्धा बाबुरामलाई लिएर प्रचण्ड सिटौलासँगै हेलिकप्टरमा काठमाडौँ आए ।’ सिक्लेस त्यो गाउँ हुनपुग्यो जहाँ नेपालमा दसवर्षे सशस्त्र द्वन्द्वका भूमिगत नायक प्रचण्डलाई पहिलोपटक वार्ताका लागि सरकारसँग आमनेसामने गर्न पठायो । त्यसैको पूर्वतयारीले २०६३ मङ्सिर ६ गते बालुवाटरमा सरकार र विद्रोहीबीच बृहत् शान्ति सम्झौतामा पु¥याउन मुलुकलाई सफलता मिलेको थियो । यस अर्थमा पनि सिक्लेसको महìव बढेरै गएको छ ।
हाल इको पार्क भएको ठाउँमा अन्नपूर्ण निम्न माध्यमिक विद्यालय थियो । विद्यालयबाट माथि पाखापाखै डेढ घण्टा जति हिँड्दा पनि त्यसको चुचुरा कता हो कता पत्ता लागेन । स–साना पोथ्रे रुखको जङ्गल, त्यो भीमकाय पर्वत अन्नपूर्ण हिमालसँग पौँठेजोरी खेल्न खोज्ने भएकाले सहज रूपमा छिचोल्न सकिने कुरै भएन । गाउँबाट सीधै उत्तरतर्फ मादी नदीको धार ताकेर करिब तीन घण्टामा भीरको गोरेटो समातेर पुग्न सकिन्छ । त्यस क्षेत्रको मादी पारिपट्टिका सिक्लेस र ताङ्तिङेका भेडीगोठ भएको ठाउँमा पुग्ने अवसर मिलेको थियो । पहरैभरि भीरमौरीका चाका देखियो । दुई जना साथी मिलेर ढुङ्गाले हानेको त ढुङ्गाको झटारो गएकै बाटो मौरी आएर हामीलाई हमला ग¥यो । अत्तालिँदै मादीको रहमा डुबेपछि बल्ल मौरीले छाड्यो । पाखैभरि भैँसी र भेडी बाख्रा रहेछन्, मौरीको बथान भने त्यता जाइलाग्यो ।