शनिवार |

आमा / कथा

विमलेन्द्र मिश्र

जाडो बढ्दै थियो । विवेकको आमालाई रोगले झन् च्याप्दै लग्यो । आमाको शरीर दिन प्रतिदिन गल्दै गयो । विवेकले आमालाई डाक्टरकहाँ जचाउन लग्यो । डाक्टरले रगतको जाँच गराउने सल्लाह दिए । रगत जाँचियो । रगतमा सोडियम (नुुन) भन्ने तìव निकै कम भएको थियो । डाक्टरले विवेकको आमालाई अस्पताल भर्ना गराए । शरीरको नशाबाट सेलेन पानी र औषधि, मुुखबाट अक्सिजन दिन थालियो । त्यसैगरी भिटामिनको क्याप्सुुलबाट भिटामिन खाली गरी त्यसमा नुुन हाली खुुवाइयो ।
उपचारको क्रम चल्दै थियो । आमाको छातीमा निमोनिया देखिन थाल्यो । शरीरमा रगतको कमी देखियो । एकपछि अर्को समस्या देखिन थाले । रगत दिनुपर्ने भयो । देशभर रगतको कमी थियो । आमा भने रोगसँग ओछ्यानमा छट्पटाई रहिन् । उता छोराहरू भने रगतको खोजीमा भौँतारिरहे ।
बल्लतल्ल रगत पाइयो । दुुई पोका रगत शरीरमा चढाइयो तर विवेकको आमाको होश भने बिस्तारै हराउँदै गयो । डाक्टरले अस्पतालको साधारण वार्डबाट आईसीयूमा सार्ने सल्लाह दिए । त्यहाँ राख्दा भेन्टिलेटरमा पनि राख्नुपर्ने हुुनसक्छ । त्यसमा तपाईंहरूको मञ्जुुरी चाहिन्छ । कागजमा सही गर्नुपर्छ । डाक्टरले अस्पतालको नियम बताए । बुुढो जीर्ण शरीरलाई भेन्टिलेटरमा राख्दा धेरै कष्ट हुुन्छ भन्ने थाहा हुँदाहुुँदै पनि उनले आमालाई निको होला भनेर मञ्जुुरीनामाको कागजमा सही गरिदिए ।
उपचारको क्रम अगाडि बढ्दै गयो । हजारौँ रुपियाँको औषधि दिनका दिन किनियो । शरीरले औषधि औषधिका रूपमा लिन सकेन । अन्ततः अस्पताल भर्ना गरिएको बाइसौँ दिनमा आमाले यो लोकबाट बिदा लिनुभयो । परलोक प्रस्थान गर्नुभयो । विवेक टुहुरो भयो । आमाको पार्थिव शरीरलाई घाटतिर लगियो । घाटमा मुर्दाहरू जलिरहेका थिए । शव पोलिएको धुवाँ आकाशमा रङ्मगाई रहेको थियो । कोही मृतक आफन्तलाई सम्झी सम्झी ह्वाँह्वाँ रोइरहेका थिए । चिता जलिरहेको थियो । दृश्य उराठलाग्दो थियो । विवेकको आमाको शव पनि चितामा चढाइयो । दागबत्ती दिइयो । शरीर दन्दनी बल्न थाल्यो । विवेक यो सबै हेरी टोलाई रह्यो । आमाको भौतिक शरीर खरानी भयो । पञ्च तìवमा मिसिन गयो । पृथ्वी, जल, आकाश, अग्नि र वायु कहाँकहाँ कसरी गयो उसलाई पत्तै भएन ।
आफन्तहरू समवेदना दिन आएका थिए । सबैतिरबाट श्रद्घाञ्जलिको ओइरो लाग्यो । कसैले आमाको बयान गरे । आमाको नजिक हुनेले आमाको कथा सुनाए । विवेक भने आमाको न्यानो काख सम्झन्थ्यो । आमाले टाउको मुसारेको सम्झन्थ्यो । आमाले खुवाएको सम्झन्थ्यो । उसको वरिपरि आमा नभएको ठामै थिएन । धोएको लुगामा आमा, भान्छाको डाडुपनिउँमा आमा, चोटाकोठा, घाममा, जुनमा, जताततै आमै आमा ।
अब उनको आमा बिहान कौसीमा चरालाई चारा छर्न आउनु हुन्न । फूलमा पानी हाल्न आउनु हुन्न । पूजाकोठामा चन्दन घोट्नु हुन्न । बिहान घन्ट बजाउनु हुन्न । साँझमा आरतीको दीप जलाउनु हुन्न । सबैतिर शून्यता छाई रह्यो ।
समय बित्दै गयो तर उसले आमालाई सम्झिरह्यो । चाडबाड सबै उसलाई खल्लो लाग्न थाल्यो । चाडबाडमा उसको आमा कल्पनामा आउनुहुन्थ्यो । आमाको स्मृति ताजा हुँदा मनको वेदना आँखाबाट आँसु भई झथ्र्याे । विवेक बारम्बार आमा बितेको क्षण सम्झिन्थ्यो ।
आज भर्खरै उसको मिल्ने साथी कर्णको पनि आमा बितेको थाहा पायो । हुन त कर्णसँग भेटघाट नभएको पनि धेरै वर्ष भइसकेको थियो । ऊ धेरै टाढाको अर्कै सहरमा बस्थ्यो । विवेकले कर्णको हालखबर थाहा पाउन कोसिस ग¥यो । उसले कतैबाट पनि पत्तो पाउन सकेन ।
फेसबुकमा पो फेला पार्न सकिन्छ कि भनेर फेसबुकमा खोज्न थाल्यो । फेसबुकमा त देखियो तर बितेको केही वर्षदेखि उसले फेसबुक भने चलाएको देखिएन । ऊ पनि यो संसारमा छ कि छैन, विवेकलाई शङ्का लाग्यो । कर्णले केही वर्ष अगाडि राखेको फोटो विवेकले देख्यो । धेरै वर्ष अघि देखेको कर्ण त्यो फोटोमा थिएन । फोटोको कर्ण उमेर ढल्किएको थियो । ऊ फोटोमा श्रीमतीसँग मुस्कुराएको थियो । उसको सन्तान पनि जन्मिएको देखियो । साथीको घरजम भएको फोटा हेरेर विवेक मुस्कुरायो ।
कर्णको फेसबुक हेर्दै जाँदा विवेकले केही वर्ष अघि कर्णले यस्तो लेखेको देख्यो, “मेरो आमा बित्नु भयो । उहाँको विछोडमा म छटपटाइरहेछु । म अहिले परिवारसँग भएर पनि एक्लो छु । आमाको पुरानो लुगा सुम्सुम्याउछु, सुँङ्छु, छातीमा लगाउँछु । आमाले एउटा सन्दुक हाम्रो अगाडि कहिले खोल्नु भएन । सन्दुक खोलेको थाहा पाएर हामी पुग्यौँ भने उहाँ कि त सन्दुक बन्द गर्नु हुन्थो कि त हामीलाई धपाउनु हुन्थ्यो । आमा बितेको केही समयपछि धक मानीमानी आमाको त्यो सन्दुक खोलेँ । मैले त्यहाँ बुवाका फोटाहरू, आफ्ना फोटाहरू, मेरो र भाइका फोटाहरू र एउटा कर्ण लेखिएको बन्द खाम फेला पारेँ । मेरो मनमा खुल्दुली बढ्यो । सजिलै खाम खोल्न सकिनँ । खाममा के होला अनुमान लगाउन थालेँ । अन्त्यमा मन भारी बनाउँदै मैले खाम खोलेँ खाम भित्र चिठी थियो । चिठीमा यस्तो लेखिएको थियो ।
छोरा कर्ण !
आज यो कुरा थाहा पाउँदा तिमी आश्चर्यमा पर्ने छौ । वास्तवमा तिमी मेरो कोखबाट जन्मिएको होइनौ । मेरो जेठो छोरा मृत जन्मियो । त्यही बेलुका तिम्रो बुवाले मृत बालक गाड्न खोलाको किनारामा जाँदा तिमीलाई एउटा टोकरीमा त्यहाँ रुँदै गरेको फेला पार्नु भयो र मेरो काखमा सालनालसहित तिमीलाई सुम्पनु भयो । छोरा तिमी मेरो मुटुको टुक्रा जस्तै भयौ । मेरा दस धारा दूध तिमीलाई पिलाएँ । गरुँङ्गो मेरो छाती हलुङ्गो भयो । छोरा त्यसपछि तिम्रो भाइ जन्मियो । तिमीलाई तिम्रो भाइलाई जत्तिकै माया गरेँ । यो कुरा नभनेको भए पनि हुन्थ्यो तर मनले मान्दै मानेन । यो कुरा थाहा पाएपछि, तिमी कत्ति पनि विचलित नहुनु । संसार विचित्रको छ । छोरा वास्तवमा मैले जन्म नदिए पनि तिमी मेरै छोरा हौ । मनमा कुरा नखेलाउनु । तिमीले आफूलाई महाभारतको कर्ण सम्झिनु । मैले तिमी बच्चा हुँदामा नै तिम्रो स्वभावमा कर्णको झलक पाउँथेँ । त्यसैले त तिम्रो नाम पनि हामीले कर्ण राख्यौँ । यो कुरा थाहा दिएकोमा मलाई माफ गरिदिनु । ल त बिदा ! बिदा !! बिदा !!”
कर्णको फेसबुकको कुराले विवेक छक्क प¥यो । कर्णको आमासँग पनि विवेकको धेरैचोटि भेट भएको थियो । उसलाई पनि साह्रै माया गर्थिन् । आफ्नै आमाले झैं खुवाउँथिन् । यो कुराले कर्णलाई कस्तो असर पु¥यायो होला, ऊ अनुमान लगाउन सकिरहेको थिएन ।
यो संसार पनि विचित्रको छ । विवेकका मनमा अनेक थरि कुरा खेल्न थाल्यो । आमा पनि कस्ता कस्ता । मेरो पनि आमा, कर्णलाई जन्मदिने पनि आमा, कर्णलाई दूध चुसाउने पनि आमा । अहो कति निठूर आमा पनि । आमा शब्दमा निठुरता सुहाउँदैनथ्यो । आफ्नै कलेजोको टुक्रालाई फाल्न सक्ने पनि आमा । कुमारी आमा पनि त हुन्छन् यो समाजमा । उनीहरूको विवशता पनि त पहाड जस्तै हुनसक्छ । हाम्रो समाजमा आमाहरू बेमानको पाप भोग्न पनि त बाध्य छन् ।
विवेक रहेको अलि पर एउटा कुकुर्नी पल्टिएर आफ्ना छाउराहरूलाई दूध चुसाउँदै थिई । आकाशबाट पानी पर्न थाल्यो । छाउराहरूलाई सुरक्षित ठाउँतिर उसले लगी । यो दृश्यले उसको मनमा अनेकौँ भावहरू उत्पन्न गरायो । यो पो त आमा । मनमा आमाप्रतिको स्नेह गाढा हुँदै गयो । विवेक पुराना कुरा सम्झँदै आकाशतर्फ हेरेर टोलाउन थाल्यो । बादलका टुक्रामा उसले आफ्नी आमालाई देख्न थाल्यो । बादलका टुक्राहरू कहिले जोडिन्थे, कहिले टुक्रिन्थे । बादलमा ऊ कपाल बाटेकी आमा, जुरो बनाएकी आमा, हातमा डाडुपनिउँ लिएकी आमा देख्न थाल्यो । ऊ आकाशतर्फ हेरेको हे¥यै भयो । मनमनै बादलका टुुक्रामा परेका आकृतिलाई भन्न थाल्यो आमा ! आमा !