शनिवार |

नाममा के छैन र !

सुकृत नेपाल

‘ह्वाट इज केप्ट इन नेम’ अर्थात् नाममा के राखेको छ र ! भन्थे नाटककार विलियम सेक्सपियर । तर नाम कमाउन मान्छे जे पनि गर्न तयार हुन्छ । जस्तोसुकै जटिलतालाई पनि सामना गर्न तयार हुन्छ ।
आफ्नो नाम गिनिज बुकमा लेखाउन कसलाई मन हुँदैन
र ? विश्वमा कीर्तिमान रचेर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउनेको सङ्ख्यामा अहिले पनि कमी आएको छैन ।
केही वर्षअघि काठमाडौँमा रोहित तिमल्सिनाले ११६ जना व्यक्तिलाई खुलमखुला चुम्बन गरेर संसारलाई नै चकित तुल्याइदिनुभएको थियो । यति धेरै व्यक्तिलाई उहाँले एक मिनेटमै चुम्बन गर्नुभएको थियो । आखिर केका लागि थियो त रोहितको यो चुम्बन शृङ्खला ? रोहित भन्नुहुुन्छ, यो मेरो कीर्तिमानीका लागि नै हो । ‘म कीर्तिमान राख्न चाहन्थेँ’, उहाँले भन्नुभयो । यसपछि उहाँको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा पनि लेखियो । यसअघि पनि आफ्नो नाम गिनिज बुकमा लेखिसकिएको जानकारी उहाँले दिनुभयो । ‘मैले १४ दशमलव ३२ सेकेन्डसम्म हत्केलामा २१ वटा टेनिस बल अड्याएको थिएँ’, उहाँले भन्नुभयो । रोहितले यति मात्र नभएर ३३ घण्टासम्म हात मिलाएर पनि रेकर्ड राख्नुभएको छ । यी सबै कुरा गर्नुका पछाडि केवल देशको नाम र पहिचानका लागि मात्र भएको उहाँ बताउनुहुन्छ । यसमा पैसा छैन तर नाम छ । ११६ जनालाई चुम्बन गरेको त्यो दृश्य सम्झँदा अहिले पनि रोहितलाई अनौठो लाग्छ । फरक काम गरेर रेकर्ड बनाउने इच्छाले नै सायद उहाँलाई यतातिर डो¥यायो होला ।
‘गिनिज बुक’मा नाम लेखाउने रोहित एक्ला नेपाली भने होइनन् । धेरै नेपालीले आफ्नो नाम गिनिज बुकमा लेखाएर कीर्तिमान राखिसकेका छन् ।
सबभन्दा धेरै वस्तुको स्मरण गरेर प्रतिष्ठा अमात्य विष्टले पनि आफ्नो नाम गिनिज बुकमा लेखाउनुभएको छ । एकपटक झलक्क देखिएको वस्तुको नाम एक÷एक गरी सम्झिएपछि उहाँको नाम गिनिज बुकमा लेखिएको हो । उहाँ नेपालको पहिलो महिला पनि हुनुहुन्छ, जसले गिनिज बुकमा नाम राख्छु भनेर ‘गिनिज वल्र्ड रेकर्ड’लाई पत्राचार गर्नुभएको थियो । एउटा विश्वविद्यालयजस्तै हो, जसले हामीलाई प्रमाणपत्र दिन्छ । रेकर्ड राखेपछि प्रमाणपत्र र नामबाहेक यसमा अरू केही छैन, उहाँको भनाइ छ ।
यस्तै बुद्ध नेपालमा जन्मेका हुन् । यो सत्यलाई फैलाउन सञ्चारकर्मी रवि लामिछानेले सबभन्दा लामो समयसम्म टेलिभिजन अन्तर्वार्ता लिएर आफ्नो नाम ‘गिनिज बुक’मा लेखाउनुभयो ।
‘विश्वले चिन्नेछ नेपाल’ भन्ने नारासहित सञ्चालित टेलिभिजन ‘टक सो’ले रेकर्ड राखेको हो । उहाँले न्युज २४ टेलिभिजनमा ६२ घण्टा कार्यक्रम चलाएर रेकर्ड बनाउनुभएको हो । सञ्चारकर्मी लामिछाने भन्नुहुन्छ, ‘आफ्नो रेकर्ड राखियो, प्रमाणपत्र पाइयो त्यति हो । यसमा पैसा आउने कमाइ हुनेभन्दा पनि उल्टै पैसा खर्च हुन्छ । यो भनेको आत्मसन्तुष्टिका लागि मात्र हो । गिनिज वल्र्ड रेकर्डमा नाम लेखाइन्छ, त्यो नै ठूलो उपलब्धि हो ।’
अन्नतराम केसी जो एक योगसाधक तथा उत्प्रेरक वक्ता हुनुहुन्छ । उहाँले पनि सबैभन्दा लामो प्रवचन दिएर विश्व कीर्तिमान कायम गर्नुभयो । केसीले लगातार ९० घण्टा २ मिनेट प्रवचन दिएर रेकर्ड कायम गर्नुभएको थियो । केसीले यो कीर्तिमानी आफ्ना लागि मात्र नभएर पूरा देशका लागि भएको बताउनुभयो । यसमा हामीले पाउने भनेकै मानसम्मान मात्र हो । त्यो नै हाम्रा लागि ठूलो कुरा हो, केसीले बताउनुभयो । ‘पैसाका लागि नाम लेखाएको होइन तर सरकारले यस्तो कामलाई बेवास्ता गरेको देख्दा दुःख लाग्छ’, उहाँले भन्नुभयो ।
काठमाडौँ कलङ्कीका एलिसा र रुबिसा श्रेष्ठले भने निरन्तर ४१ घण्टा ५ मिनेट ‘कपल डान्स’ गरेर विश्व कीर्तिमान राख्न सफल हनुभयो । बाल्यकालबाटै नृत्यमा दुवैको धेरै रुचि थियो । देशका लागि केही न केही गर्नुपर्छ भन्ने हेतुले यस्तो कीर्तिमानी काम गरेको दिदिबहिनीले बत(ाउनुभयो । यसमा पैसा मात्र ठूलो कुरा होइन । यसले हामीलाई विश्वभर नै चिनाउँछ । प्रमाणपत्र र आफ्नो नाम ठूलो हो । सरकारले के ग¥यो के गरेन भन्नुभन्दा पनि आफैँले गर्ने हो ।
नेपाली कीर्तिमानीको कथा यतिमै सकिँदैन । आवाज निकालेर ११३ घण्टासम्म निरन्तर पुस्तक पढेर दीपक शर्मा बजगाईंले गिनिज बुकमा नाम लेखाउनुभयो । लामो समयसम्म टेबलटेनिसको ब्याटमा बल नियन्त्रण गर्ने रेकर्ड पनि बजगाईंकै नाममा छ । उहाँले चार घण्टा ३९ मिनेट ७२ सेकेन्डसम्म बल नियन्त्रण गर्नुभएको थियो । एक मिनेटमा ३४ पोटी लसुन खाने रेकर्ड पनि उहाँकै नाममा छ ।
विश्व क्रिकेटमा नेपालको स्थान त्यति राम्रो नभए पनि एकजना नेपाली क्रिकेटरले भने अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान कायम राख्नुभएको छ । उहाँ हुनुहुन्छ– महबुब आलम । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा मोजाम्बिकसँगको भिडन्तमा १० विकेट लिएपछि उहाँको नाम पनि गिनिज बुकमा लेखिएको छ । यस्तै ७६ वर्ष ११ महिनाको उमेरमा सगरमाथा चढेर मीनबहादुर शेरचनले पनि आफ्नो नाम गिनिज बुकमा लेखाउनुभएको थियो ।
यति मात्र होइन, विश्वका सबभन्दा होचा व्यक्ति भनेर चन्द्रबहादुर डाँगीले पनि आफ्नो नाम गिनिज बुकमा लेखाउनुभयो । उहाँ विश्वकै सबभन्दा होचा व्यक्ति हुुनुभयो । उहाँको उचाइ ७४.७० सेन्टिमिटर अर्थात् २१.४ इन्च रहेको थियो । यसअघि पाँच किलो तौल भएका खगेन्द्र थापामगरको नाम पनि गिनिज बुकमा लेखिएको थियो । उहाँ २२ इन्च मात्र अग्लो भएकाले विश्वकै होचो मान्छेका रूपमा दर्ता हुनुभएको थियो ।
वास्तवमा नामको अगाडि पैसा गौण कुरा हो भन्ने लाग्छ गिनिज बुकमा नाम लेखाउनेहरूलाई । यसमा नाम लेखाउनुको आफ्नै शान र गौरव हुन्छ । यसका लागि विश्वभरका
करोडौँ मानिसले अनेक प्रयत्न गरेका हुन्छन् तर थोरै मात्र सफल हुन्छन् ।  

नेपाली केही कीर्तिमानी

प्रतिष्ठा अमात्य विष्ट
रोहित तिमल्सिना
दीपक शर्मा बजगाईं
मेहबुब आलम
आङरिता शेर्पा
आप्पा शेर्पा
मीनबहादुर शेरचन
चन्द्रबहादुर डाँगी
खगेन्द्र थापामगर
डीजे स्वरूप र सिद्धार्थ
लाक्पा थार्के शेर्पा
शम्भु तामाङ
बाबुछिरि शेर्पा
रवि लामिछाने
अन्नतराम केसी
एलिसा श्रेष्ठ÷रुबिसा श्रेष्ठ