शनिवार |

सचेत यात्री, कुशल नियात्रा

नियात्राकार घनश्याम राजकणर््िाकारका प्रतिनिधि नियात्रा (२०७६) ले विविध स्वाद दिएका छन् । यसअघि विभिन्न पत्रपत्रिकामा प्रकाशित १४ वटा नियात्राको सङ्ग्रहले नियात्रा लेखनमा केही वैशिष्ट्य पक्ष स्थापना र उजागर गरेको छ । त्यसमाथि प्रा.डा. कृष्णप्रसाद दाहालको सम्पादनले नियात्रालाई पाठ्यसामग्रीभन्दा दृश्यवस्तु बनाएको छ । यसको प्रकाशकचाहिँ शमी प्रकाशन रहेको छ । वर्णित स्थान र घटना शब्दमा भन्दा चित्रमा देखिन्छ । लेखकका अनुभवलाई स्वअनुुभूति गर्न सकिन्छ । पढ्दै जाँदा पाठक झुक्किन सक्छन्, म राजकर्णिकारसँगै यात्रामा छु कि उहाँका नियात्रा पढ्दै छु ? पाठकलाई आफैँसँग हिँडाउन सक्ने अनुभवी नियात्राकार राजकर्णिकारको लेखन कौशलमा नै उहाँको सफलता सन्निहित छ ।
नेपाली नियात्राको आधुनिक कालको दोस्रो चरणका सिद्धहस्त लेखक राजकर्णिकारमा अर्को विशेषता छ– विदेशको वर्णन गर्दै जाने र त्यसमा नेपालमैत्री आग्रह, अनुभव तथा शुभेच्छा मिसाउने । बेलायतका नदी हेर्दै, पुल हेर्दै गयो, अनि नेपालमा पनि यस्तै हुनुपर्ने इच्छा, आकाङ्क्षा आग्रह व्यक्त गर्नुहुन्छ । प्रायः सबै विदेश भ्रमणका नियात्रामा नियात्राकार राजकर्णिकारले विदेश र नेपालको तुलनात्मक चित्र प्रस्तुत गर्नुभएको छ । अर्को शब्दमा भन्ने हो भने उच्च व्यावसायिक घरानाका सदस्य राजकर्णिकारले विश्वका जति ठाउँ देख्नुभएको छ, त्यहाँ नेपाल भेट्नुभएको छ । उहाँका नियात्राले स्पष्ट गर्छन्, राजकर्णिकार विश्वका धेरै ठाउँ टेक्ने तर जतातजै नेपाल देख्ने स्रष्टा मानिनुहुन्छ । तुलनात्मक सन्दर्भले नियात्रा सङ्ग्रह सिँगारिएको छ । नियात्राहरू वर्णनात्मक छन् । तर तीभित्र रहेका लेखकीय आग्रह, तुलना, प्रतीक र अनुभवले सङ्ग्रहलाई ‘वर्णनमाला’ मात्र होइन ‘अनुभूतिको दस्तावेज’ बनाएको छ, जो नियात्राको आधारभूत र सशक्त विशेषता पनि हो । त्यसो त नियात्रा पढ्दै जाँदा वर्णन मात्र नियात्रा हुन सक्दैन भन्ने नियात्राको रचना विधानका मान्यताप्रति राजकर्णिकार अनभिज्ञ हुनुहुन्छ भन्ने लाग्दैन ।
अधिकांश विदेश यात्रामा नियात्रा लेख्ने नियात्राकार राजकर्णिकारले नेपालमा प्रायः सबै नागरिक पुगेका स्थानको वर्णनलाई जीवन्त बनाउने कला देखाउनुभएको छ । लुम्बिनी, पोखरा वा कुशीनगर; यी स्थानलाई सर्वसाधारणका आँखाले भन्दा भिन्न देख्न सक्नु राजकर्णिकारको लेखन दक्षता हो । काठको एउटा मुढोलाई सुन्दर फर्निचर देख्न सक्ने क्षमता छ नियात्राकार राजकर्णिकारमा, जो उहाँका यी र अन्य नियात्रामा भेट्न सकिन्छ । विदेशका सुखद स्थान, घटना पात्र, प्रवृत्ति अवसर र अवस्थालाई उहाँ नेपाल र नेपालीसँग तुलना गरेर लेख्न रुचाउनु हुुन्छ ।
सरल लेखाइमा शाब्दिक चित्रमय प्रस्तुतिले सङ्ग्रह पढ्दा रोचकता उत्पन्न हुन्छ । वेस्टमिन्स्टर पुलको अनुभूति पढिँदैन, देखिन्छ । यस्तो लाग्छ, पाठक आफैँ त्यहाँ पुगेको छ । आर्थिक सम्पन्नताका कारणले पनि हुनसक्छ उहाँको लेखन, सम्पर्क, भेटघाट, होटेल, बसोबास तथा भ्रमण गरिएका स्थान उच्चस्तरका हुन्छन् तर बनारसको भद्रगोल र स्वयम्भूका बाँदरका
‘भाले’ नामजस्ता मसिना पक्षलाई पनि नियात्रामा केलाइएको छ । यसले स्पष्ट गर्छ, नियात्राकार राजकर्णिकार हरेक साना घटनामाथि पनि नियात्रा लेख्न सक्नुहुन्छ । हरेक यात्रामा उहाँ नियात्रा लेखन कर्मप्रति सचेत र तत्पर देखिनुहुन्छ ।
हल्कासँग विषय प्रवेश गर्ने अनि क्रमशः त्यसका विविध पक्ष खोतलेर लेखिएका नियात्रामा राजकर्णिकारको बौद्धिकता देखिन्छ । सङ्ग्रहभित्रको लुम्बिनी नियात्रा केवल ‘नियात्रा’ होइन । यसले उहाँको बौद्धिकता, इतिहासको जानकारी र गम्भीर अध्ययनको पुष्टि गर्छ । वास्तुकलाविद् टाँगेले लुम्बिनीको खोज, अनुसन्धान तथा विकासमा दिनुभएको योगदान र ओशो रजनिशले वुद्धलाई ‘अतुलनीय प्रज्ञापुरुष’ भनी व्यक्त गर्नुभएका धारणलाई नियात्रामा उल्लेख गरिएको छ । यसमा साहित्यिक मात्र होइन सांस्कृतिक, सामाजिक, राजनीतिक तथा अन्तर्राष्ट्रिय महŒव, सन्देश तथा चेत छ ।
वर्णनसँगैको सुन्दर अनुभूति र विचारले १४ वटै नियात्रा सशक्त छन् । शीर्षकभित्रका उपशीर्षकले बोधगम्य बनाएको छ । यी नियात्रालाई नेपाली नियात्रा लेखनको आधुनिककालका (२०२६ पछिका) सुन्दर नियात्रा भन्नुमा अत्युक्ति नहोला । यी नियात्राले उहाँलाई सशक्तभन्दा सुन्दर नियात्राकारका रूपमा स्थापित गरेको छ ।
पाँचवटा नियात्रा सङ्ग्रह प्रकाशित गरिसक्नुभएका नियात्राकार राजकर्णिकारका प्रस्तुत १४ प्रतिनिधि नियात्रामा नेपालका नगरकोट, पोखरा, कुशीनगर, लुम्बिनी र स्वयम्भू, भारतका केही स्थान, अमेरिका, बेलायत, जापान, पेरिस (फ्रान्स) यात्राका अनुभव र अनुभूति छन् । स्वभावजस्तै सरल लेखनका धनी राजकर्णिकारका नियात्रा पढ्दा उहाँ व्यावसायिक घरानाको सदस्य होइन, एउटा सरल यायावर प्राणी हो भन्ने लाग्छ । उहाँ सचेत यात्री र कुशल ‘नियात्री’ हो भन्ने यी नियात्राले पुष्टि गरेका छन् ।

त्रिभुवनचन्द्र वाग्ले