शनिवार |

थुम्काथुम्कीको सौन्दर्य

नारायण तुम्बापो


सयौँ थुम्काथुम्कीले नै पहाडको सौन्दर्य खुल्छ । सौन्दर्य मात्र होइन मन नै लोभ्याउने दृश्य पनि थुम्काथुम्कीबाट आवलोकन गर्न पाइन्छ । कतिपय थुम्काबाट त दुर्लभ झुल्केनी घाम हेर्न पाइन्छ । सूर्योदय देखाउने थुम्को पर्यटकीय हिसाबले दुर्लभ मानिन्छ । यस्तो प्राकृतिक ‘भ्यु टावर’ पूर्वमा थुप्रै छन् । इलामको श्रीअन्तु, सन्दकपुर त्यस्तै थुम्काहरू हुन् । यी थुम्काहरूमा सयौँ देशीविदेशी पर्यटक मरिहत्ते गर्दै पुग्ने गरेका छन् । जहाँबाट अनेकौँ आनन्ददायी दृश्य अवलोकन गर्न सकिन्छ । तर पर्यटकको मुख्य रहर हुन्छ– घामको झुल्को हेर्ने । हुन पनि सबै थुम्कोबाट सूर्योदयको रमाइलो दृश्य कहाँ देखिन्छ र ! विशेषगरी यो दृश्य पूर्वी नेपालका थुम्कोबाट धेरै देखिन्छ । त्यसैले घामको पहिलो झुल्को दृश्यावलोकन गर्न पूर्व जानुपर्छ भनेर पर्यटकले धेरै जोड दिन्छन् । यसले गर्दा पूर्वका पर्वतीय थुम्कोले महìव पनि धेरै राख्छ ।
सूर्योदयको दृश्यावलोकन गर्दा हुने रोमाञ्चकताको बयान गर्नै नसकिने पर्यटक सुनाउँछन् । अहिलेसम्म पूर्वी इलामका केही पहाडी चुचुरो मात्रै सूर्योदय हेर्नका लागि प्रसिद्ध छन् । तर पहिचान भएर पनि प्रवद्र्धनको अभावमा लुकेका थुम्को धेरै छन् । यस्तै लुकेका थुम्का पाँचथरमा पनि छन् । लोहाकिल, नामतोक, जरीबुटे डाँडा, तीन थुम्की, कन्याटार डाँडा र मिक्लाजुङ पाँचथरका लुकेका थुम्को हुन् । यी थुम्कोबाट पनि मज्जाले घामको झुल्को देख्न सकिन्छ । यस हिसाबले पाँचथर थुम्काहरूको ‘हब’ नै हो । यद्यपि यस क्षेत्रमा पर्यटकको नजर पुगेकै छैन । जैविक विविधताले पनि सम्पन्न यी थुम्काबारे यहाँ चर्चा गरिएको छ ।

लोहाकिल
पाँचथरको सदरमुकाम फिदिमको शिर हो– लोहाकिल । तीन हजार सात मिटर उचाइमा अवस्थित यो थुम्को फिदिम नगरपालिका–१४ मा पर्छ । यहाँ पुग्न मेचीमार्गको इलाम–फिदिम सडक खण्डको पौवा भञ्ज्याङदेखि पूर्व जानुपर्छ । यो इलाम नगरपालिकाको सीमा क्षेत्र पनि हो । सिजनमा विभिन्न प्रजातिका गुराँसको लालकिल्ला बन्ने लोहाकिलबाट बाह्रै महिना सूर्योदयको सौन्दर्य हेर्न पाइन्छ । मौसम चाहिँ कुहिरो र तुवाँलोविहीन हुनैपर्छ । यहीँबाट कुम्भकर्ण, कञ्चनजङ्घा, मकालु, सगरमाथा लगायत हिमाल पनि देखिन्छ । पौवाभञ्ज्याङदेखि होमस्टे–गाउँ सुकेपोखरीसम्म गाडीमा गए तीन किलोमिटर मात्रै हिँडेर लोहाकिल पुगिन्छ । विभिन्न जडीबुटी, रेडपाण्डा यस क्षेत्रमा पाइन्छ । लोहाकिल चुचुरोबाट इलामको सौन्दर्य अनि झापाका सुन्दर फाँटहरू देखिन्छ । सूर्योदय हेर्न आउँदा सुकेपोखरीको होमस्टेमा बास बसे सिस्नो, मकैको ढिँडो, आलु, किवी र सिल्टिम्मुर तथा टिम्मुरलगायतको अचार खान पाइन्छ ।

नामतोक
नामतोक थुम्को सेरोफेरो लिम्बू जातिको बहुल क्षेत्र हो । लिम्बू भाषामा ‘नामतोक’को अर्थ घाम ठोकिन्छ भन्ने हुन्छ । हुन पनि ‘नामतोक’मा पहिलो घामको झुल्को ठ्याक्कै ठोकिन्छ नै । यो डाँडो पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ मा पर्छ । यसको दक्षिणी सीमामा इलाम फाकफोक गाउँपालिकाको वडा नम्बर १ पर्छ । दुई हजार एक सय मिटरमा उचाइमा अवस्थित नामतोक डाँडा भेडेटार–रवि–राँके सडकबाट पुगिन्छ । यहाँबाट पनि झुल्केनी घामको सुन्दर दृश्य देखिन्छ । नामतोकको टुप्पोबाट कुम्भकर्ण, कञ्चनजङ्घा, पाथीभरा, भारतको सिक्किम, दार्जिलिङ पनि देखिन्छ । दक्षिणतर्फ इलाम–कन्याम, झापाको काँकडभिट्टा, विर्तामोड, दमक र मोरङको उर्लाबारी बजारको दृश्यावलोकन ‘नामतोक’ले गराउँछ । पाँच खाले उन्यु, लोक्ता, सल्ला, गुराँस, चिराइतो, बुढो ओखती लगायत नामतोकका पर्यावरण हुन् । यहाँको वनमा मृग, दुम्सी, लोखर्के जन्तु पनि छन् । नामतोक टापु नजिकै दशमी बजार छ ।

जरीबुटे डाँडा
पाँचथरकै दक्षिणी भूभागमा रवि बजार छ । यसको उत्तरतर्फ दुई हजार तीन सय छैसठ्ठी मिटरको उचाइमा जरीबुटे अवस्थित छ । यो डाँडोबाट पनि झुल्केनी घामको सौन्दर्य अवलोकन गर्न सकिन्छ । यहाँबाट पूर्वका आठ जिल्लाका हिमाल, पहाड, तराईका भूभाग पनि देखिन्छ । जरीबुटेको अर्को आकर्षण बेहुली ढुङ्गा पनि हो । यो ढुङ्गा हेर्नुमा पनि विछट्टै मज्जा मिल्छ । मिक्लाजुङ गाउँपालिका–४ मा पर्ने जरीबुटेमा ३० फिट अग्लो बुद्ध मूर्तिसहितको बुद्धपार्क बन्दैछ ।

तीन थुम्की
तीन थुम्की डाँडाबाट पनि सूर्योदयको सौन्दर्य हेर्न सकिन्छ । दुई हजार दुई सय पच्चीस मिटर उचाइमा अवस्थित तीन थुम्की मिक्लाजुङ गाउँपालिका–५ मा पर्छ । तीन थुम्कीमा अँध्यारो, तुवाँलो र कुहिरोको पर्दा हटेको मौका छोपेर बिहानै पुग्नुपर्छ । यहाँबाट उत्तरी हिमाली चिसो हावाको शीतल स्पर्शको साथमा सूर्योदय हेर्न पाउँदा आनन्दको मापन नै गर्न सकिँदैन । यहाँबाट झापाको विर्तामोड, दमक, धनकुटाको सदरमुकाम, हिले र तेह्रथुमको वसन्तपुर, म्याङ्लुङ देखिन्छ । तीन थुम्की क्षेत्रमा दाजुभाइ जस्तै लाग्ने गरी तीनवटा डाँडा लहरै मिलेर बसेका छन् । त्यसैले यसको नाम तीन थुम्की रहेको हो । तीन थुम्की जैविक विविधाताले पनि युक्त छ । यहाँको वनमा गोब्रे सल्ला, उत्तिस, चाँप, केसरी, मजिटो, चिराइतोलगायत बोटविरुवा पाइन्छन् । कालिज, खरायो, मृग जस्ता जीव पनि छन् । यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि स्थानीयद्वारा भ्यु टावर, सिँढीमार्ग निर्माणका काम पनि भइरहेका छन् । भेडेटार–रवि–राँके मार्गले भेट्ने तीन थुम्की नजिक चिसोपानी पञ्चमी बजार छ ।

कन्याटार डाँडा
भेडेटार–रवि–राँके सडकको लिम्बा खण्ड क्षेत्रमा कन्याटार डाँडा छ । यो थुम्को मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर ६ को सदरमुकाम कन्याटार बजारको माथि पर्छ । यो थुम्को दुई हजार मिटर उचाइमा अवस्थित छ । इलाम चुलाचुली गाउँपालिकासँगको सीमा क्षेत्र पनि हो कन्याटार डाँडा । यसै क्षेत्रमा रमिते महादेव गुफा छ । कन्याटार डाँडाको खास पर्यटकीय महìव चाहिँ सूर्योदयले नै राख्छ । असोज, कात्तिक, मङ्सिरमा यहाँबाट देखिने सूर्योदयको दृश्यले जोकोहीलाई मुग्ध बनाउँछ । यहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, पाथीभरा देखिन्छ । गुराँस, कटुस, केसरी, सुनाखरी जातका बोटविरुवा यहाँ पाइन्छन् । बुढो ओखती, चिराइतो, पाखानवेद लगायतका जडीबुटी पनि पाइन्छन् । वन्यजन्तुमा मृग, स्याल, बाँदर, लोखर्के, घोरल र पन्छीमा ढुकुर, कालिज, न्याउली, कोइली, उल्लु, काग, चिल भेटिन्छन् ।

मिक्लाजुङ
‘मिक्लाजुङ’ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ को दुई हजार सात सय मिटर उचाइमा अवस्थित छ । भूगोल र स्थानीय पहिचान जनाउने उपयुक्त शब्द मिक्लाजुङ पाइएपछि गाउँपालिकाको नाम नै यही राखिएको छ । दुई जिल्लाको साझा शिखरको रूपमा रहेको मिक्लाजुङको दक्षिण मोरङ र उत्तर पाँचथर पर्छ । यहाँबाट पूर्वका सत्र जिल्लाका विभिन्न भू–भागसमेत देख्न सकिन्छ । जैविक विविधताको राजधानी पनि हो मिक्लाजुङ डाँडा ।