शनिवार |

दार्जिलिङकी साङ्गीतिक रानी

नगेन्द्रराज रेग्मी

नेपाली साहित्य र साङ्गीतिक क्षेत्रमा प्रसिद्धि कमाइसकेको पहाडकी रानी भनेर चिनिने दार्जिलिङलाई फेरि एक पटक नेपालले सगौरव सम्झन पुगेको छ । नेपाली गीत–सङ्गीतका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने त्यहाँका सर्जक अगमसिंह गिरी, अम्बर गुरुङ, गोपाल योञ्जन, अरुणा लामा, जितेन्द्र बर्देवा, शरण प्रधान, रनजित गजमेर, दिलमाया खाती, कर्म योञ्जन, कुमार सुब्बा लगायत थुप्रै साङ्गीतिक हस्तीसँगै सहयात्रा गर्ने शान्ति ठटाललाई २०७६ सालको जगदम्बा श्री पुरस्कारबाट सम्मानित गर्ने निर्णयले सङ्गीत क्षेत्र मात्र नभएर समस्त भारतीय नेपाली पनि गौरवान्वित भएका छन् । यसले पुरस्कृत व्यक्तित्वसँगै पुरस्कारको गरिमासमेत बढाएको महसुस गरिएको छ ।
दार्जिलिङका रूपनारायण सिन्हा पथस्थित निवासमा पुगेर केही महिनाअगाडि उहाँसँग भएको भलाकुसारीलाई म यहाँ सम्झने प्रयास गरिरहेको छु । मूल सडकसँगै भिडेको एउटा घरको खुट्किला चढ्दै ग्वारग्वार्ती हामी उकालो लाग्छौँ । मेरो मनमा खुल्दुली छ– उहाँ कस्तो हुनुहोला ? अझ स्वभाव कस्तो होला ? यस्तै तर्कना गर्दा–नगर्दै उहाँको कोठामा पुगिसकिएछ ।
गोरी र केही होचो कदकी एक महिलाको कोठामा पदार्पण हुनासाथ हामी सबैले नमस्कार आदानप्रदान गर्छाैं । ओहो ! ८१ वर्षको उत्तराद्र्धमा टेकेर पनि अनुहारमा कुनै चाउरी छैन, हिँडाइमा सुस्तता होइन बरु अझ फुर्तिलोपन छ, आवाजमा कडापन मात्र होइन, स्पष्ट भाव पनि उत्तिकै झल्किरहेको छ । सामान्य शिष्टाचार पश्चात् म विषय प्रवेश गर्दछुु ।
सम्हालेर राख, सँगालेर राख
फेरि फुल्ने हो कि होइन जोबनको फूल...
अम्बर गुरुङको शब्द रचना र सङ्गीतको यो कालजयी गीतबाट सर्वाधिक चर्चा बटुलिसक्नुभएकी सर्जक सुश्री शान्ति ठटाललाई सोधेँ, ‘दिदी तपाईं र यो गीत एकअर्काका पर्यायवाची शब्द जस्तै बनेका छन्, यो गीतको रचनागर्भ अलिकति बताइदिनुहोस् न ?’
‘यो गीत सन् १९६४ मा कम्पोज भएको हो । दार्जिलिङको चिया बगान टिग्लिङ भन्ने ठाउँमा हामी लोक मनोरञ्जन शाखाबाट कार्यक्रम गर्न गएका थियौँ । त्यहीँ अम्बर गुरुङले यो गीतको ‘ट्युन’ कम्पोज गर्नुभएछ । यो गीतको ‘ट्युन’ पहिले अलि अर्कै खालको थियो । कता–कता पश्चिमेली धुन जस्तो अथवा पूर्ण त्यस्तो नभए पनि त्यसैमा आधारित जस्तो थियो । मलाई भने अलि गहन खालको ‘ट्युन’ मन पर्ने भएकाले मेरो विचार बुझेर उहाँले अहिलेको यो धुन निकालेर मलाई दिनुभयो । अनि मैले सुनेँ, मलाई त्यो असाध्यै मन प¥यो । त्यसपछि मैले सर्वप्रथम दार्जिलिङको गोर्खा दुःख निवारक सङ्घको मञ्चमा गाएँ । त्यही दिनदेखि यो गीतको खुब चर्चा हुन थाल्यो । त्यसपछि सन् १९६५ मा तत्कालीन राजा महेन्द्रको जन्मोत्सवको अवसर पारेर अरुणा लामा, शरण प्रधान, म लगायत काठमाडौँमा आमन्त्रित भयौँ । यो गीत मैले त्यो समारोहमा गाएपछि त अब के थियो चर्चा नै चर्चा । त्यही समयमै यो गीत रेडियो नेपालबाट पनि गाएँ । सायद यो गीतको पृष्ठभूमि यही नै होला ।’
‘सम्हालेर राख...नामक गीत यदि तपाईंले नगाउनुभएको भए के शान्ति ठटाल, शान्ति ठटालका रूपमा परिचित हुन सम्भव थियो होला ?’
निकै बेरको मौनतापछि उहाँ केही जोसिएर बोल्नुभयो,
‘दार्जिलिङमा यो गीत गाउनुभन्दा अघिदेखि नै म परिचित सर्जक हुँ । अरुणा लामा, दिलमाया खातीभन्दा केही पहिलादेखि नै मैले गाउन थालेकी हुँ । दार्जिलिङबाट प्रथम रेकर्ड गर्ने महिला गायक मै हुँ सायद । मलाई यो थाहा थिएन, पछि सबैले भनेपछि हो रहेछ भन्ने पत्ता लाग्यो । मभन्दा अगाडि नेपालबाट गीत रेकर्ड गर्ने महिला तारादेवी हुन् भने कलकत्ताबाट उर्मिला श्रेष्ठ । अझ अघि जाने हो भने मेलवादेवीलाई बिर्सन मिल्दैन ।’ उहाँले इतिहास नै कोट्याउनुभयो ।
सन् १९३८ को अप्रिलमा दार्जिलिङको चोक बजारमा पिता चन्द्रसिंह ठटाल र माता मनुसिंह ठटालको कोखबाट शान्ति ठटालको जन्म भएको हो । लरेटो कलेज दार्जिलिङबाटै स्नातक सम्मको शिक्षा आर्जन गर्नुभएकी ठटालले सन् १९५६ मा चारवटा गीत रेकर्ड गराइसक्नुभएको थियो । झन्डै दुई सय गीतमा उहाँले स्वर र सङ्गीत दिइसक्नुभएको छ । शशी ठटालको शब्दमा ‘साहित्य आकाशमा उदाइ भानु ...’ नामक गीतबाट उहाँले प्रथम साङ्गीतिक उपस्थिति जनाउनुभएको थियो ।
‘प्रथम महिला सङ्गीतकार हुने सौभाग्य मिल्नाको कारण पनि जानौँ न यहाँको ?’
‘मैले कलकत्तामा गएर साढे तीन वर्ष सङ्गीतको शिक्षा लिएँ । म त्यहाँ कुनै डिग्री लिन गएकी होइन, मात्र सङ्गीतको ज्ञान प्राप्त गर्ने उद्देश्य थियो । त्यहाँबाट आएपछि मेरो गलामा एकप्रकारको भारीपना आयो । गायन नै मेरो मुख्य विषय थियो । यो समस्या आएपछि मैले गीत गाउन छाडेँ नै त नभनौँ तर धेरै कम्ती गर्नैप¥यो । डाक्टरले स्वरमा जोखिम निम्तिन सक्ने सङ्केत मात्र होइन, सचेतसमेत गराए । आफू यही क्षेत्रमा रम्ने व्यक्ति भएको हुँदा त्यसपछि मैले सङ्गीत दिन थालेँ र गीत लेखनतर्फ केन्द्रित हुन पुगेकी हुँ ।’
‘मेरो दुःखी मन, सपना नखोज...’ उहाँले गाएको यो अर्काे गीत पनि निकै चर्चित बन्यो । यो गीतलाई बौद्धिक समुदायले खुब मन परायो । पारिजातलाई पनि यो गीत खुबै मन परेको कुरा उहाँबाट थाहा भयो । यसको रचना बैरागी काइँलाले गर्नुभएको थियो भने सङ्गीत अम्बर गुरुङको रहेको थियो ।
‘यहाँका अरू पनि साङ्गीतिक यात्राका कुरा सुनौ न ?’
‘प्रताप सुब्बाले परालको आगोमा सङ्गीत भर्ने अवसर दिनुभयो । यो काम सक्नासाथ ईश्वर बल्लभद्वारा लेखिएको गद्य सङ्गीत एउटा नीलो सूर्यास्तमा पनि मैले नै ‘ट्युन’ भर्ने काम गरेकी हुँ । यसमा मेरा सहयोगीमा मणिकमल क्षेत्री, गौतम लेप्चा आदि थिए । यो अत्यन्त सफल कार्यक्रम रह्यो । यो दार्जिलिङमा दुईचोटि प्रस्तुत भयो । त्यसपछि काठमाडौँमा आएर पलेँटीमा पनि कार्यक्रम प्रस्तुत गरेँ । फेरि प्रताप सुब्बाले बाँच्न चाहनेहरू नामक नेपाली चलचित्रमा पनि सङ्गीत भर्ने अवसर दिए । मैले गीति नाटक, नृत्य नाटिकामा पनि सङ्गीत दिएकी छु । रेडियो फिचरमा पनि थुप्रै काम गरेँ । गान्तोक, खर्साङ रेडियोमा काम गरेँ । भवानी भिक्षुको त्यो फेरि फर्कला कृतिमा आधारित नाटकमा पनि सङ्गीत दिएँ ।
‘गीत लेख्न, गाउन र सङ्गीत भर्न कुन सहज ?’
‘कुनै पनि सहज होइन । गाउनका लागि स्वर राम्रो हुनैप¥यो । त्यसपछि त्यो गीतलाई सङ्गीतको माध्यमबाट न्याय दिन सक्नुप¥यो । के सोचेर, कसले, कसरी, शब्द चयन गरेको छ ? त्यसको गहिराइसम्म पुगेर गीतकारको मनमा पस्न र बस्न पनि सक्नुप¥यो । म यी सम्पूर्ण कुरा सूक्ष्म रूपले नियाल्छु, अनि मात्र सिर्जना गर्न बस्छु । त्यसैले सहज कुनैमा पनि छैन । निरन्तरको अभ्यास र साधनाबाट यी कुरा सम्भव हुन्छन् । अनि मात्र सङ्गीत सललल... खोला जस्तो बगेर श्रोताको मन मनमा ढुक्ढुक् गर्न सक्छ । हाम्रा विभिन्न खालका बाधा–व्यवधानले सङ्गीतमा निरन्तरता दिन सकिँदैन । अनि त्यो गीतले मागे जस्तो सङ्गीत भर्न सकिएन भने, गायकले हृदय खोलेर गाउन सकेन भने, गीतकारले सतही वा नारा मात्र लेख्यो भने गीत–गीत हुन्न । त्यसैले सबै कठिन, सबै गाह्रो (हाँसो) ।’
‘तपार्इंलाई के भनेर चिनौँ त ?’
‘मलाई मुख्यतः गायिका नै भनिदिएको मन पर्छ, त्यसो त दुई सयभन्दा बढी गीतमा सङ्गीत पनि भरेकी छु । त्यसपछि सङ्गीतकार पनि भनिदिनुहुन्छ भने त्यो पनि ठीकै छ ।’
‘नेपालले तपाईंलाई मान, सम्मान दियो, दिएन ? कुनै गुनासो छ कि छैन ?’
‘छैन, छैन भाइ एउटै गुनासो छैन । म नेपालप्रति, रेडियो नेपालप्रति धेरै–धेरै आभारी छु । अरू पनि थुप्रै सङ्घसंस्था छन् । उनीहरूप्रति म धेरै आभारी छु ।
एउटा व्यक्तिगत प्रश्न सोध्छु दिदी नरिसाइदिनुहोला । तपाईंले विवाह चाहिँ किन गर्नुभएन ?
‘मैले गीत सङ्गीतसँग विवाह गरिसकेपछि फेरि अरूसँग किन घरबार गरिरहनु ? सङ्गीतलाई नै मैले सबथोक मानेँ ।’ यति भनिसकेपछि यस सम्बन्धी पुनः अर्काे प्रश्न गर्न मन लागेन ।
पहिलो पटक सार्वजनिक हुँदै उहाँले मञ्चमा गाएको गीत थियो– ‘यस पतझरमा आगमनले ल्यायो वसन्त ।’ त्यस्तै साहित्यकार बालकृष्ण सम दार्जिलिङमा आएको अवसरमा स्वागत गान गाउने अवसर पाएको कुरा पनि सगर्व उहाँले बताउनुभयो । भजन र शास्त्रीय रागमाथि आधारित भएर कठिन गीत पनि श्रोतामाझ सललल.. बगाउन सामथ्र्य उहाँमा देखिन्छ । यसरी उहाँ गायन, सङ्गीत र गीतकार तीनै क्षेत्रमा विभक्त देखिनुहुन्छ ।
शान्ति ठटालले विभिन्न नाटकमा पाश्र्व गीत गाउन, सङ्गीत निर्देशन गर्न पनि भ्याउनुभएको छ । अम्बर गुरुङ, इन्द्र थपलिया जस्ता कलाकार रहेको पश्चिम बङ्गाल सरकारको लोक मनोरञ्जन शाखामा गायिकाका रूपमा केही समय उहाँले काम गर्नुभयो भने दार्जिलिङको हिमालय कला मन्दिरको कलाकार हुँदै सिक्किम सरकारको संस्कृति विभागमा सहायक अधिकृतका रूपमा नियुक्त भई उहाँले उपसचिव पदबाट अवकाश ग्रहण गर्नुभएको थियो ।
अरुणा लामाको स्वरमा ‘उडी जाउँ भने म पन्छी होइन, बस्नु ए लैलै मन छैन’ नामक लोकप्रिय गीतको सङ्गीत मात्र होइन, उहाँकै निर्देशनमा ‘धेरै चुलबुल नगर बैनी’ नामक गीतमा नौमती धुन हाल्न उहाँले नै भ्याउनुभयो । त्यो बाहेक शान्ति ठटालकै सङ्गीत रचनामा देवकोटाको कुञ्जिनी, म्हेन्दु र रवीन्द्रनाथ ठाकुरको चण्डालिका मञ्चन भएको थियो । नेपाली सङ्गीतकी ‘गोल्डेन भ्वाइस’का नामले समेत चिनिने शान्ति ठटाललाई मैले अन्तिममा सोधेको थिएँ– स्वास्थ्यस्थिति कस्तो छ तपाईंको ? ‘बुढ्यौलीले छुन थालेको छ हौ भाइ आजकाल, चिसोमा घुँडा दुखेर कहिलेकाहीँ हिँड्डुल गर्न गाह्रो हुन्छ । त्यो बाहेक खासै कुनै समस्या छैन ।’ हाल उहाँ आफ्नै जन्मस्थलो दार्जिलिङमा सेवा निवृत्त जीवन बिताइरहनुभएको छ । अन्त्यमा जगदम्बाश्री पुरस्कारबाट विभूषित हुनु भएकोमा उहाँलाई हार्दिक बधाईसहित दीर्घ र सक्रिय जीवनको
कामना गर्दछु ।