लोकवेदको पर्याय लोकसाहित्य
रामप्रसाद पन्त
लोकसाहित्य भन्नु नै लोकको साहित्य हो । युगौँदेखि मौखिक वा श्रुतिपरम्परामा आएको वा एक पुस्ताबाट अर्काे पुस्तामा सर्दै गएको साहित्यलाई नै लोकसाहित्य मानिँदै आएको छ । वास्तवमा आधुनिक साहित्यको मूल स्रोत वा आधार भूमि लोकसाहित्य नै हो भन्दा अत्युक्ति नहोला । जनताको अमूल्य सम्पत्तिका रूपमा रहेको लोकसाहित्यको विकास मानव सभ्यताको विकास सँगसँगै भएको हो । कुनै न कुनै रूपबाट लोकजीवनले स्वहृदयका भावनाहरूलाई अभिव्यक्त गर्दै आएको हुन्छ । तर प्रस्तुत गर्ने कला भिन्दाभिन्दै हुन सक्छन् । उदाहरणार्थ– कसैले आफ्ना मनका भावलाई गीतको माध्यमबाट पोख्छन् भने कसैले कथा र नाटकको माध्यमबाट अभिव्यक्त गर्छन् ।
यसरी युगौँदेखि अर्थात् जब लिपिको विकास भएकै थिएन तबदेखि वाणी र अभिनयको माध्यमबाट परम्परागत रूपमा लोकजीवनका भावहरू पोखिँदै आए । सुखदुःखका अभिव्यक्तिहरू आमोदप्रमोद र उल्लासहरू सुन्दर असुन्दर दृश्यहरूलाई आत्मसात् गरेर लोकवाणी र अभिनयको माध्यमबाट अभिव्यक्ति दिने परम्परा नै लोकसाहित्यको परम्परा बन्यो र कालान्तरसम्म चल्यो । जुन परम्परालाई लोकजीवनसँग गाँसेर हामीले व्यवहारमा ल्याएका छौँ र लोकसाहित्यको रसास्वादन गरिरहेका छौँ ।
लोकसाहित्यलाई दुई भागमा विभाजित गर्न सकिन्छ– श्रव्य र दृश्य । श्रव्य साहित्यको सम्बन्ध कविता, कथा, निबन्ध आदिसँग छ भने दृश्य साहित्यको सम्बन्ध नाटकसँग ।
नेपाली लोकसाहित्यमा सर्वसाधारण नेपाली समाजको उन्मुक्त भाव र विचारको अभिव्यक्ति हुन्छ र लोकसाहित्य खास सीमाभित्र मात्र सीमित पनि रहँदैन । यो स्वतन्त्र रूपमा फैलिँदै समान भावभूमिमा अभिव्यञ्जित हुँदै जाने विधा हो । यसै क्रमबाट लोकसाहित्यको अविच्छिन्न परम्परा आधुनिकतासँग जोडिँदै, गाँसिँदै र तन्किँदै आएको छ ।
नेपाली साहित्यको परम्परा लिच्छविकालदेखि नै सम्पन्नतातिर उन्मुख हुँदै आएको कुरा इतिहासले बताउँछ । ...जसको पृष्ठभूमि हजारौँ वर्ष पूर्वदेखि बन्दै आएको हो । वीर, भक्ति, शृङ्गार र नीतिपरम्परा हुँदै आधुनिकतातर्फ लम्किएको नेपाली साहित्यको फूलबारीलाई समृद्ध पार्न हजारौँ मालीले परिश्रम गरे र यस यात्राको पृष्ठभूमि लोकसाहित्य हो भन्ने कुरामा कसैको दुई मत पनि रहेन ।
लोकगीत÷लोकगाथा समग्र काव्यको जननी हो भने लोककथा संसारकै लोकसाहित्यको उद्गम भूमि हो । यसैगरी लोकनाटक अभिनय कलाको पूर्वरूप हो । लोकसाहित्यलाई परिभाषित गर्दै विद्वान्हरूले भनेका छन्– लोकसाहित्य एक किसिमको छाँगो हो, जुन ह्वात्तै निस्कन्छ र छङ्छङ्ती बग्छ । त्यसैले यसमा स्वच्छन्दता, सरलता र सहजता हुन्छ । यिनै विविधतामा लोकसाहित्य, गतिशील रहँदै आएको छ ।
मानव जातिको सबभन्दा प्राचीन साहित्य मन्त्रद्रष्टा ऋषिमुनिहरूद्वारा रचित सङ्ग्रहका रूपमा ऋग्वेदलाई लिइएको छ । ऋग्वेदको काव्यमूल्यलाई लोकसाहित्यकै उपजका रूपमा गणना गरिएको छ । रचनाकार नेपथ्यमा बसेर अज्ञात हुने अनि मौखिक एवं श्रुतिपरम्परामा जीवित रहने विशेषताले गर्दा लोकसाहित्य सामूहिक हुन गएको छ । त्यसैले सामूहिक रचनाकारितामा आधारित वेदजस्तै लोकसाहित्यलाई पनि लोकवेद भनी उच्चारण गर्ने गरिएको छ ।
वास्तवमा लोकसाहित्य सामाजिक सुखदुःखले भरिएको मौखिक एवं अलिखित इतिहास हो । जसमा संस्कृतिको अक्षयकोष छ र जनताको अमूल्य सम्पत्ति सँगालिएको छ । सत्य र यथार्थको धरातलमा रहेर लोकजीवनसँग गतिशील भइरहने हुनाले लोकसाहित्यको महŒव उच्च रहन गएको छ ।
लोकसंस्कृति पनि लोकसाहित्यकै परिष्कृत रूप हो । हाम्रा प्रचलित विधि व्यवहार र रहनसहनहरू माझिँदै खारिँदै आए र लोककल्याणकारी आचरण र भावनाहरू संस्कृतिका रूपमा परिवर्तित भए । परिस्थितिअनुसार संस्कारको बनोटमा पनि परिवर्तन हुँदै गयो र संस्कृतिको नयाँ स्वरूप विकसित भयो । त्यसैले हामीलाई यो कुरा मान्न कर लाग्छ कि जनजीवनलाई प्रभाव पार्ने सम्पूर्ण तŒवको उद्गम स्रोत लोकसाहित्य नै हो । लोकसाहित्यले नसमेट्ने कुनै विषयवस्तु नै छैन, लोकसाहित्यभित्र नपर्ने त्यस्तो मानवीय संस्कार र पद्धति पनि कुनै छैन ।
‘कलम भए कवि, कवि रहे कविता
धनी मरे श्रद्धाञ्जली, गरीब मरे रमिता ।’
एउटा बसको पृष्ठ भागमा लेखिएका लाइन हुन् यी । यसलाई हामी कविता भन्ने कि नभन्ने ? दुई हरफमा लेखिएको यो मनोभावना कुनै कवि वा महाकविले लेखेको अंश हो कि सम्बन्धित बसको ड्राइभर, खलाँसी वा मालिकले लेखेको हो ? मलाई थाहा छैन । जोसुकैले लेखेको भए पनि हामीले बुझ्नुपर्छ– यो मार्मिक कविता हो, हृदय छुने कविता हो । यो कविता सत्यको नजिक छ र यथार्थपरक पनि छ । जुन सत्यको नजिक हुन्छ, त्यही लोकसाहित्य हुन्छ ।
हो, वास्तवमा काव्यिक प्रतिभा प्रत्येक मानिससँग हुन्छ । तर उसको त्यो प्रतिभा स्फुरण हुन अवसरको पर्खाइ वा वातावरणको अनुकूलताले साथ दिनुपर्छ । यद्यपि ती सर्वसाधारण प्रतिभामा भाषिक क्षमता, कल्पना शक्ति, काव्यानुभूति, सौन्दर्यानुभूति र शिल्पकारिता नहुनसक्छ, तथापि भावना र संवेदनाको माध्यमबाट ती प्रतिभाहरू गाउँगाउँबाट उदाउन सक्छन्, ठाउँठाउँबाट मुस्कुराउन सक्छन् र समाजका प्रेरक तŒव बन्न सक्छन् ।
कविता त दुःखबाट जन्मने हो । त्यस्तै कविताले हृदय छुन्छ र त्यही कलजयी पनि हुन्छ । दुःख भोग गरिने ठाउँ गाउँघर नै त हो । त्यहीँ भाषा जन्मिन्छ, त्यहीँ संस्कृति जन्मिन्छ र त्यहीँबाट साहित्यको अभ्युदय हुन्छ । रनवन घन्किने हृदयस्पर्शी गीतहरू नै कविताका अंश हुन् र तिनै लोकसाहित्य हुन् ।
साहित्यकार के हो ? साहित्य के हो ? साहित्य किन लेखिन्छ ? साहित्य कस्तो हुनुपर्छ र यसले मानव मात्रमा के प्रभाव पार्छ ? यस्ता प्रश्नहरू बारम्बार आइरहन्छन् । हामीले बुझ्नुपर्ने विषय यही हो कि साहित्यले प्रत्यक्षतः केही दिँदैन र कसैको भोक पनि मेट्दैन । कसैको व्यक्तिगत समस्या समाधान पनि गर्दैन र कसैको केही बिगार्दा पनि बिगार्दैन । साहित्य समाजलाई प्रत्यक्ष प्रभाव पार्ने विधा होइन तर मानव समाजलाई अप्रत्यक्ष रूपमा संस्कारित पार्ने÷पारिरहने विधा हो, जसले राष्ट्रको पहिचान गराउँछ र त्यस देशका जनताको संस्कृति र सभ्यताको परिचय दिन्छ । र सम्बन्धित देशका जनताको सर्वाङ्गीण विकासको प्रतिविम्ब हो साहित्य र त्यसको जग हो लोकसाहित्य ।
साहित्य भनेको मानवीय अनुभूति, प्रभाव, संवेग र विचारहरूको सौन्दर्यपूर्ण अभिव्यक्ति हो । तर भावनात्मक अभिव्यक्तिमा बौद्धिकताले दबाब दिन थाल्यो भने काव्यात्मक सौन्दर्य, चैतन्य र संवेदनशीलतामा ह्रास आउँछ । यसकारण साहित्यमा साहित्यकारको नितान्त वैयक्तिक भावना र संवेदनाले मात्र स्थान पाउनु हुन्न । एकाकी रूपमा साहित्य गतिशील हुन थालेन भने लोकसाहित्यको अन्तर्भावना मरेर जान्छ । वास्तवमा सच्चा साहित्य सर्वसाधारणको मनमा जीवित रहेको पीडा–व्यथा र सुख–दुःखबाट उत्पन्न हुन्छ । माथिल्लो वर्गबाट लेखिएको साहित्यले मनको गहिराइ छुन सक्तैन । जनस्तरबाट लेखिएको साहित्य नै यथार्थमा सत्य हुन्छ र त्यही लोकसाहित्य हुन्छ । त्यस्तै साहित्य लेखिनुपर्छ भन्ने सर्वसाधारणको माग पनि छ तर हिजोआज साहित्यकारमा साहित्यिक संवेदना मर्दै गएको अनुभूति हुँदै छ । आज हामी चिन्तन, मनन गर्ने र संवेदनशील भएर काममा लाग्नेभन्दा दृश्य–चित्रहरू हेरेर वाह्यानुभूति र अनुभवमा अल्झिने क्रममा बाँचिरहेका छौँ । आजको युग भनेको टेलीयुग हो । आज हामी साहित्यिक किताब पल्टाएर हेर्ने पक्षमा छैनौँ । रामायण महाभारतहरू पनि हामी दृश्यपटमा हेर्छौं अर्थात् आजको वैज्ञानिक युगले साहित्यलाई पर्दामा उतारिदिएको छ । साहित्यपठन–संस्कृतिलाई टेलिभिजनले ओझेलमा पारिदिएको छ । विद्युतीय संस्कृतिका अगाडि छापा संस्कृति कमजोर बन्दै गएको छ । त्यसैले लोकसाहित्यको मर्म मर्दै गइरहेको छ ।
यस अवस्थामा बसमा उद्धरण गरिएको उल्लिखित कविता पनि टेलियुग प्रतिकूल हुनसक्छ वा आधुनिक, उत्तरआधुनिक युग छुन नसकेको मानिन सक्छ । हो, टेलीयुगमा बाँचेका आजका साहित्यकारहरू ढल्कीढल्कीकन, पल्टीपल्टीकन कम्प्युटर वा ल्यापटपको की–बोर्डमाथि औँला चलाउँछन् र साहित्य सिर्जना गर्छन् । छहराको पानीजस्तो प्रवाह छुटेको साहित्यले ल्यापटपमा स्थान नपाउन सक्छ । त्यो प्रवाहको थुप्रो ल्यापटपमा नअटाउन सक्छ । यथार्थमा त्यो वास्तविक जीवनदेखि अलि टाढा पनि हुनसक्छ । वस्तुस्थिति अवलोकन नगरीकन, प्रत्यक्ष अनुभूति आर्जन नगरीकन लेखिएको साहित्य हार्दिक नभएर बढी बौद्धिक हुनसक्छ तर बस वा ट्रकमा लेखिएको यस्तो साहित्यले कलात्मक भाषा र शैली प्रस्तुत गर्न नसके पनि लोकसाहित्यको मार्मिक अनुभूति चाहिँ दिनसक्छ ।